चिसाे याममा हड्डी र जाेर्नीकाे दुखाइ, नगर्नुस् हेलचेक्र्याइँ

चिसो याममा ढाड दुख्ने, घुँडा दुख्ने, जोर्नीहरू अररो हुने समस्याले बढी सताउँछ। जाडो जति जति बढ्छ, हाडजोर्नीका बिरामीको दुखाइ पनि बढ्दै जान्छ। यसका साथै चिसोमा धेरैको दैनन्दिन पनि फेरिन्छ। नियमित व्यायाम गर्ने, मर्निङ वाक गर्ने क्रम कम हुन्छ वा रोकिन्छ। जोर्नीहरूमा पहिल्यै समस्या भएकालाई यो समयमा बढी सताउँछ अर्थात् समस्या बल्झिन थाल्छ।
त्यसैले चिसोमा यस्ता समस्या लिएर अस्पताल आउने बिरामीको संख्या बढ्छ। अर्को कुरा चिसोकै कारण बिरामी अति दुखाइ नभएसम्म अस्पताल नजाने प्रवृत्तिका हुन्छन्। चिसो छ भोलि जाउँला भनेर बस्ने बिरामी धेरै हुन्छन्। दुखाइ सहन नसकेर वा हिँडडुल गर्न नसक्ने भएपछि मात्र अस्पताल जाने गरेको पाइन्छ।
जोर्नीको दुखाइको समस्या एउटा त बढ्दाे उमेरका कारणले पनि हुन्छ। त्यसलाई हामी सामान्य मान्छौँ। तर आजभोलि हामीकहाँ अहिले कम उमेरमै हड्डी खिइएर आउनेको संख्या पनि उत्तिकै छ। यो सबै हाम्रो व्यायाम नगर्ने बानी, जंक फुडको अत्यधिक प्रयोग, दुई पाइला पनि नहिँडेर गाडी चढ्ने लगायतका बानीका कारण भएको हो। जबसम्म हामी यसलाई सुधार गर्दैनौँ, तबसम्म जोर्नी दुखाइ कम हुन सक्दैन।
योसँगै चिसोका कारण हाम्रो हड्डी अररो भएर बसेको हुन्छ। यो समयमा हामीले झन धेरै चलायमान हुन जरुरी हुन्छ। चिसोमा बढी निष्क्रिय हुने, सिरकभित्रै बसिरहने बानीले पनि दुखाइ बढी गराउँछ। जति धेरै ‘एक्सरसाइज’ गर्यो , हिंडडुल गर्यो त्यति नै शरीरमा रगत सञ्चालन पनि राम्ररी हुन्छ। दुखाइ कम हुन्छ।
बुझ्नुपर्ने कुरा केहो भने चिसोले रोग ल्याएर दुख्ने होइन। पहिल्यैदेखि भएको समस्यालाई चिसोले अझै बढाइदिने हो। त्यसैले हाडजोर्नी दुखाइ, बाथ रोग भएका, हड्डी खिइएका बिरामीले यो समयमै अरु भन्दा बढी सावधानी अपनाउनुपर्छ।
यस्ता बिरामीले सकेसम्म चिसोबाट जोगिनुपर्छ। बाक्लो न्यानो लुगा लगाउने, चिसोपानी नखेलाउने, नुहाउँदा वा लुगा धुँदा तातोपानीकै प्रयोग गर्ने, धेरै चिसो र हुस्सु लागेको बेला घरभित्रै बस्ने गर्नुपर्छ। यसका साथै चिकित्सकले भने बमोजिम व्यायाम नियमित रूपमा गर्नुपर्छ। आज जाडो छ भनेर अल्छी गर्दा समस्या बढ्दै जान्छ।
दुखाइ भएर अस्पताल आएपछि फिजियोथेरापी लगायतका अन्य थेरापी एवं मसाजद्वारा दुखाइ कम गराउन सकिन्छ। तर सकेसम्म समस्या बढ्नै नदिन प्रयास गर्नुपर्छ। यति कुरामा ध्यान दिएमा चिसोका कारण बढ्ने दुखाइबाट केही हदसम्म भए पनि जोगिन सकिन्छ ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा