कलिला बालबालिकालाई ‘पत्रु खाना’ खुवाउनु अपराध हाे

घरमै बनेका रोटी, हलुवा, चिउरा–तरकारी जस्ता खानेकुरा र भुटेको मकै, गहुँ खाजाका रूपमा स्कुल कलेज लैजाने भन्ने कुरा अचेल एकादेशको कथाजस्तै भएको छ। यस्ता खाजा स्कुल, कलेजमा लैजानु, खानु बालबालिका–किशोरकिशोरीका लागि लज्जाको विषय हुन्छ। बजारमा किनिएका रंगीबिरंगी खोल भएका गुलियो, नुनिलो खानेकुरा खाए इज्जत बढ्छ, ठूलो भइन्छ भन्ने भ्रम बालबालिकामा मात्र होइन कतिपय अभिभावकमा पनि देखिन्छ।
साथीहरूले रंगीचंगी खानेकुराका प्याकेट बोक्दा आफू घरका खाना लिएर जाँदा लाज हुने डर केटाकेटीलाई हुन्छ। अभिभावकहरू मात्रै के कम, उनीहरू आफ्ना छोराछोरीलाई अरुभन्दा कम भएको देखाउन चाहँदैनन्। छिमेकीका छोराछोरीको हातमा भएको भन्दा महंगो र आकर्षक खानेकुराको प्याकेट किन्न प्रतिस्पर्धा गर्छन्। स्कुल जाने क्रममा होस् वा कतै बजार जाने क्रममा अभिभावकले बच्चाको हातमा चाउचाउ कुरमुरेलगायतका प्याकेट थमाइदिने गर्छन्। स्कुलका क्यान्टिनमा पनि बालबालिकालाई लोभ्याउनेगरी यस्ता खानेकुराका प्याकेट झुण्ड्याइएको हुन्छ।
केही समयअघि कर्णाली प्रदेश पुग्दा म अचम्मित भएँ। साना केटाकेटीहरू नामै नसुनेका साना चाउचाउ खाइरहेका देखिन्थे, जसको मूल्य पाँच रुपैयाँ राखिएको रहेछ। खोलेर हेर्दा अलिकति भुजिया र बदामको मिश्रण रहेछ। कहिले बनेको, कहाँ बनेको भन्ने पनि पत्तो छैन। पुरानो भएर ढुसी परेको पनि मतलब छैन।
अर्को कुरा हिजोआज अधिकांशको घरमा अभिभावक जागिरे वा अन्य रोजगारमा भएका कारण छोराछोरीको खानपानमा त्यति ध्यान दिइँदैन। घरमा खानेकुरा बनाउन समय नहुँदा बजारका खानेकुरा किनेर खुवाउने चलन बढेको छ। चाउचाउ, दालमोठ, चाउमिन र कुरमुरेजस्ता प्याकेट बन्द खानेकुरा किन्न पाए घरमा बनाउने झञ्झट पनि नहुने, छोराछोरी पनि मख्ख पर्ने। बच्चाबच्चीलाई फकाउन वा खाना खान नमाने पनि यस्ता खानेकुरा खुवाउने गरेको पाइन्छ।
शहरी क्षेत्रमा त आधुनिक देखाउन यो चलन चलेको छ। तर यो चलन अचेल यहाँ मात्र सीमित छैन, दुर्गम गाउँका कुनाकुना पुगिसकेको छ। घरमा उत्पादित मकै, गहुँ, कोदोजस्ता पोषिला अन्न बेचेर बच्चालाई बिस्कुट, चाउचाउ खान दिन्छन्, अभिभावक। गाउँघरमा बालबालिका पनि घरका भन्दा बजारका खाजामा अभ्यस्त भइसके।
केही समयअघि कर्णाली प्रदेश पुग्दा म अचम्मित भएँ। साना केटाकेटीहरू नामै नसुनेका साना चाउचाउ खाइरहेका देखिन्थे, जसको मूल्य पाँच रुपैयाँ राखिएको रहेछ। खोलेर हेर्दा अलिकति भुजिया र बदामको मिश्रण रहेछ। कहिले बनेको, कहाँ बनेको भन्ने पनि पत्तो छैन। पुरानो भएर ढुसी परेको पनि मतलब छैन।
बढ्दो आधुनिकता र बढ्दो व्यवस्तताका कारणले हो कि अचेल मानिसहरू आफूले के खाइरहेको छु, आफ्ना बालबच्चालाई के खुवाइराखेको छु भन्ने विचार पुर्याउन छाडेको अस्था छ। हामीले खाइरहेको खाना कतिको स्वस्थकर छ भन्ने कुरामा अधिकांश मानिस सचेत छैनन्। कतिपयले त हानिकारक हो भन्ने जान्दाजान्दै बजारका खानेकुरा ल्याएर आफू खाने र बच्चालाई पनि खुवाउने गर्दै आएका छन्। यो बानी पोषण वा बालबालिकाको वृद्धिविकासका लागि एकदमै हानिकारक हो।
जंक फुड अर्थात् पत्रु खाना। पहिलो कुरा त बजारका खानामा पोषण तत्त्व अत्यन्त कम हुन्छ। अर्को कुरा तिनमा प्रयोग भएका अत्यधिक नुन, चिनी र लामो समय जोगाउन प्रयोग भएका रसायन शरीरका लागि हानिकारक हुन्छ। बजारिया खानाले तत्काल शरीरमा प्रभाव देखाउँदैनन्। यिनले मन्दविषको काम गर्छन्। अजिनाेमोटो, चिल्लोलगायतको मिश्रण हुने भएका कारण हाडजोर्नीहरूमा नकारात्मक असर पर्छ। झन् शरीरको विकास हुन लागेका कलिलो हड्डी कमजोर बनाइदिन्छ।
यस्ता खानेकुरा सेवनले उनीहरूको शरीरमा रगतको कमी, क्याल्सियम कमीलगायत समस्या हुन्छ। क्षणिक रूपमा स्वादिलो भए पनि त्यसले बालबालिकाको मस्तिष्कमा असर गर्छ। पढाइमा मन नगर्ने, भनेको नबुझ्नेजस्ता समस्या निम्तिन्छ। शारीरिक र मानसिक विकासमा अवरोध पुग्ने मात्र नभई जंक फुडको अत्यधिक सेवनले उच्च रक्तचाप, मुटुरोग, मधुमेहजस्ता दीर्घरोग सिर्जना हुन्छ।
नेपालमा गरिएको एक अध्ययन अनुसार चाउचाउमा नुनको मात्रा आवश्यकताभन्दा ३७ प्रतिशतदेखि २०० प्रतिशत बढी हुने रहेछ। बढी नुन भएको खानामा अभ्यस्त हुँदै जाँदा बालबालिकामा मृगौलामा समेत असर पर्छ। वृद्धिविकासका लागि सबै तत्त्व भएको सन्तुलित भोजन आवश्यक पर्ने वेलामा पोषणहीन खानेकुरा खुवाउनु बालबालिकामाथि अन्याय हो।
आर्थिक दृष्टिले पनि ती खानेकुरा महँगा नै हुन्छन्। घरमा परिवारकै लागि स्वस्थकर खाना खाँदा सस्तो पर्न आउँछ। बजारमा प्याकेटबन्द खानेकुरा कुनै पनि दृष्टिले उपयुक्त छैन। अझ कलिला बालबालिकाको हातमा यस्ता खानेकुरा थमाउनु भनेको अपराध गर्नुसरह नै हो। बालबालिकाको उज्ज्वल र स्वस्थ भविष्यको लागि बाहिरको खानेकुरामा बन्देज लगाऔँ। घरको खाजा खानालाई प्रोत्साहन गरौँ।
नेपालमा मात्र होइन नसर्ने रोग दिनप्रतिदिन बढिरहेकोमा विश्व नै चिन्तित छ। नसर्ने रोगका कारकमध्ये पत्रु खानेकुरा सेवन पनि प्रमुख मानिएको छ। स्वस्थ रहनका लागि हाम्रो घरमा पहिलेपहिले आमा–हजुरआमाले बनाउने जाउलो, हलुवा, रोटी, मकै, गहुँ, चिउरा, भटमास, कोदो र फापरजस्ता खानेकुरा धेरै नै उपयुक्त छन्।
अल्छी नगराैँ। थोरै समय निकालौँ। आफू पनि घरमै बनाएको खाना खाजा खाऔँ। बच्चालाई पनि दिऔँ। घरमा आफ्नै हातले बनाएको खानाको महत्त्व बुझौँ।
कुराकानीमा आधारित
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा