गलत उपचार पद्धतिकाे परिणाम, १० वर्ष लाग्यो श्रीमानको क्यान्सर पहिचान गर्न

गलत उपचार पद्धतिकाे परिणाम, १० वर्ष लाग्यो श्रीमानको क्यान्सर पहिचान गर्न

क्यान्सर के हो? क्यान्सरको कारण के हो? यसबाट कसरी जोगिन सकिन्छ भन्ने विषयमा धेरै कम मात्र सचेत छन्। यसका कारण आज पनि क्यान्सर भइसकेपछि मात्र मानिसहरू अस्पताल पुग्छन्। अस्पताल पुगेर पनि डाक्टरले सही परीक्षण गर्न नसक्दा रोग पत्ता लाग्दैन र बिरामीलाई रोगले भित्रभित्रै खोक्रो बनाइसकेको हुन्छ।

यही कुरा लागु भयो मेरा श्रीमान् जगन्नाथ ढकालमा। हामीमा क्यान्सर रोगबारे अनभिज्ञता भएर होइन, अस्पताल पुगेर पनि डाक्टरको परीक्षणले काम नगर्दा वास्तविक रोग थाहा भएन। एउटा रोग तर उपचार अर्कैै भयो। म आफैँ पनि १० वर्षदेखि काठमाडौंमा ‘स्वास्थ्य पत्रकारिता’ गरिरहेको छु। मेरा मामा एमडी डाक्टर हुनुहुन्छ। हाम्रा भाञ्जाभाञ्जी एमडी गरिरहनुभएको छ। र पनि मेरा श्रीमानको रोग पत्ता लाग्न १० वर्ष लाग्यो।
२०\२२ वर्षको उमेरदेखि नै उहाँको दिसामा रगत देखिएको थियो। दिशामा रगत देखिए पनि भित्र कहीँ कतै नदुख्ने, अप्ठेरो अनुभव नहुने। विभिन्न अस्पतालमा जँचाइयो तर सबै ठाँउमा भनियो, यो पायल्स नै हो। सोही अनुसार खाने औषधि, मल्हमको प्रयोग गरियोे। कडाइका साथ खानपान पनि बार्नुभयो। औषधि खाँदा र मल्हम लगाउँदा केही कम भएको जस्तो लागेर हामीलाई पनि पायल्स नै हो भन्ने भयो। हेर्दा उहाँ सामान्य, हृष्टपुष्ट हुनुहुन्थ्यो।

समय बित्दै गयो। रोग पनि पुरानो हुँदै गएछ। चार महिनाअघि मात्र एक्कासी थकान बढे जस्तो, स्वाँस्वाँ हुने भयो अनि अनुहार पनि बिरामीको जस्तै देखिन थाल्यो र हामीले भाञ्जी डा.प्रतिभा पराजुलीको सल्लाहमा रगत परीक्षण गरायाैँ। रगतमा हेमोग्लोबिनको मात्रा घटेर (७.८) रहेकाले तुरुन्तै दुई प्याकेट रगत पनि चढाएयो। यति हुँदा पनि हामीलाई थाहा थिएन उहाँलाई क्यान्सर भइसकेको छ भनेर।

श्रीमान् अहिले पनि आफ्नो व्यवसायमा ‘एक्टिभ’ हुनुहुन्छ। पहिले जस्तो अहिले पनि उस्तै। जोश जाँगरमा कत्ति पनि कमी आएको छैन। अबको एक सातामा अप्रेसनका लागि दिल्ली जानुछ र पनि दैनिक काममा हिँडिरहनु भएको छ। क्यान्सर केही होइन। आत्मबल भए हरेक रोगसँग लड्न सकिन्छ र आत्मबलले क्यान्सरलाई समेत हराउन सक्छ भन्ने उदाहरण भएर उभिनु भएको छ उहाँ।

हेमोग्लोबिनको मात्रा घटाउने क्यान्सर हो भनेर मनमोहन मेमोरियल अस्पताल पुगेपछि मात्र थाहा भयो। भाञ्जी प्रतिभा कार्यरत भएकाले हामी रगत चढाउन मनमोहन पुगेका थियौँ। यसरी पायल्सका कारण रगतमा हेमोग्लोबिन (७.८)सम्म कमी हुदैन भनेर मामा डा.हिरा खड्का, भाञ्जा डा. रोशन पराजुली, भाञ्जी  र अर्का एक सिनियर डाक्टरले सर्जिकल टिमसँग भेटेर थप परामर्श लिने सल्लाह दिएपछि हामीले अस्पतालका सर्जिकल डाक्टरसँग भेट्यौँ। उनीहरूले सामान्य ट्युमर या क्यान्सर पनि हुन सक्ने बताएपछि हामी झस्कियौँ। उनीहरूले तुरुन्तै ‘क्रोनोस्कोपीको टेस्ट’का लागि ‘प्रेस्क्राइब’ गरे।

धेरै अस्पतालमा धेरै डाक्टरसँग भेट्दा कसैले पनि क्यान्सरको शंकासम्म पनि गरेका थिएनन्। पायल्स नै हो भनेर आर्युवेदिक पद्धतिमार्फत उपचार गर्न हामी त्रिभुवन विश्वविद्यालय अन्तगर्तको आयुर्वेदिक अस्पताल कीर्तिपुर पनि गयौँ। मलद्वारबाट मासु निकालेर डाक्टर रामआधार यादवले ‘तुरुन्तै अप्रेसन’ गनुपर्छ भनेर आफ्नो क्लिनकमा बाेलाउनुभयो। तर, त्यहाँको वातावरण चित्त नबुझेर अप्रेसन नगराई फर्किँएका थियौँ।

फेरि मनमोहनमा आइसकेकोपछि प्रसंग। थाइल्याण्डमा व्यावसायिक कामका लागि नगर्य नहुने भएकाले रगत चढाए पनि सामान्य अवस्थामा नै रहेकाले पारिवारिक सल्लाहबमोजिम उताबाट फर्केपछि क्रोनोस्कोपी गर्ने निधो भयो। थाइल्याण्डको एक साताको बसाइँपछि नेपाल आएलगत्तै भोलिपल्ट नै हामी नेपाल मेडिसिटी अस्पताल गयौँ, सर्जरीकल डिपार्टमा। हेमोग्लोबिनको मात्रा घटेर रगत चढाउन परेकोसम्मको सबै ‘हिस्ट्री’ त्यहाँ पनि बतायौँ। ‘पायल्सले यत्रो रूप लिँदासम्म पनि किन अप्रेसन नगरेको’ भनेर डाक्टरले हकार्नुभयो।

उहाँ पनि पायल्स नै हो भन्नेमा निश्चिन्त हुनुन्थ्यो। तुरुन्तै अप्रेसन गर्नुपर्छ तर त्यो भन्दा अगाडि पायल्सको आकार कत्रो छ भन्ने पत्ता लगाउन क्रोनोस्कोपी गर्नुपर्छ भन्नुभयो। हामीले भोलिपल्ट नै परीक्षण गर्यौँ, मेडिसिटीमा नै। मेडिसिटीमा आइपुग्दासम्म हामीले यो क्यान्सर हो भन्ने त कल्पनै गरेका थिएनौँ। किनकि हामी यो भ्रममा थियौँ, यो पायल्स नै हो भनेर। हामीले डाक्टरकै ‘प्रेस्क्रिप्सन’ बमोजिम वर्षौदेखि औषधि लिइरहेका थियौँ।

म आफैँले धेरै पटक क्यान्सर विज्ञहरूसँग कुराकानी गरेकी छु र यस किसिमको क्यान्सर ५० वर्ष नाघेकोलाई बढी हुने सम्भावना छ भनेर धेरैपटक समाचार पनि लेखेकी छु। तर मेरो श्रीमानलाई त ३० वर्षको उमेरमा नै यस्तो किसिमको क्यान्सर लागिसकेछ। जव मेडिसिटीमा क्रोनोस्कोपीको रिपोर्ट आयो तब थाहा भयो, उहाँलाई त कहिले पनि पायल्स नै भएको रहेनछ। अब झन् झन् डर बढ्दै गयो। ‘बायोप्सी टेस्ट’ गर्यौँ। त्यतिञ्जेलसम्म लागेको थियो, यो सामान्य ट्युमर होला। तर, यो त परिवारमा कसैले पनि कल्पना नगरेको, क्यान्सर पो रहेछ।

रेक्टल (मलद्वार)क्यान्सर। यो सुन्नेवित्तिकै परिवारमा सबैको होश नैगुमेको जस्तो भयो, केही दिन साह्रै कठिन भयो यो सहन। शरीरभर क्यान्सरले प्रभुत्व जमाइसक्यो होला शरीरभर फैलिसक्यो होला। उपचार पनि सम्भव छैन होला भन्ने मात्र लागिरह्यो। क्यान्सरको सेललाई शरीरभर स्थान जमाउन, वर्ष, महिना, दिन कुनुपर्दैन, सेकेण्ड नै काफी हुन्छ भन्नेसम्मको ज्ञान हामीमा थियो।

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर राजेन्द्रप्रसाद बरालसँग आठ वर्षअघिदेखि धेरैपटक भेटेर क्यान्सरका सम्बन्धी रेडियो रिपोर्ट बनाएकी थिए। नर्भिक अस्पतालमा दुई जना दाजुसहित म डाक्टर बराललाई भेट्न गएँ। त्यतिवेला श्रीमान् कामको सिलसिलामा दिल्लीमा हुनुन्थ्यो। डाक्टर बराललाई पनि सबै हिस्ट्री बतायौँ। उहाँले निकै चिन्ता जताउनुभयो, यति जाने बुझेको परिवारमा पनि यस्तो घटना निम्तिन्छ भनेर। तर रोगले सानो–ठूलो, जानेको–नजानेको भन्दो रहेनछ।

‘तुलसा कत्ति पनि विचलित नहुनु क्यान्सर निको हुन्छ। त्यो तिमीलाई पनि थाहा छ। मात्र कुन स्टेज हो त्यो महत्त्वपूर्ण छ। तुरुन्तै उपचार थालिहाल्नुपर्छ’, उहाँले भन्नुभयो।

श्रीमान् दिल्लीमा नै भएकाले हामीले उतै परीक्षण गराउने सल्लाह गर्यौ र राजीव गान्धी क्यान्सर अस्पतालमा सबै परीक्षण गरियो। त्यहाँको पिटी–स्क्यान रिपोर्ट नआउञ्जेल हामी सबै छट्पटाइरहेका थियौँ। हाम्रो भाग्य बलियो रहेछ। यति लामो समय देखि लक्षण देखा परे पनि उहाँलाई क्यान्सरले भर्खर मात्र छोएको रहेछ। ‘एडिनो क्यार्सिनोमा’ अर्थात् शुरुको अवस्थाको मात्र क्यान्सर भएको पुष्टि भयो। हामीले खुशीको लामो सास फेर्याैँ। शुरुको अवस्थाको क्यान्सर त आजभोलि सामान्य जस्तै भइसक्यो। वेलैमा उपचार गरे यो पूर्ण रूपमा निको हुन्छ।

हो, अब उहाँको शरीरबाट केही समयपछि क्यान्सर पूर्णरूपमा रित्तिनेछ। उपचारले क्यान्सरलाई घटाउँदैछ। उपचार त एक ठाँउमा छ, त्योभन्दा ठूलो, महत्त्वपूर्ण र बलियो त आत्मबल छ मेरो श्रीमानसँग। बरु हामी धेरै तर्सियौँ, शुरुका दिनदेखि उहाँ कति पनि विचलित हुनुभएन।
आत्मबल एकदमै धेरै भएकाले आधा उपचार सकिँदासम्म पनि क्यान्सर भएको जस्तो अनुभव आजसम्म पनि गर्नुभएको छैन उहाँले। राजीव गान्धी क्यान्सर अस्पतालका डाक्टर भन्ने गर्छन्, ‘ऊ कहिल्यै पनि चिन्तित देखिएको छैन। कहिल्यै पनि डराएन। उसको आत्मबल देखेर वरिवरिका अरु बिरामी छक्क पर्छन्। क्यान्सर ऊ देखि तर्सिँदै छ जस्तो भनेर हाँसो पनि गर्छन्।’

मेरो श्रीमानकाे पहिलो चरणको उपचार सकिएको छ। अप्रेसन अघिको रेडियसन र किमो सकियो र पनि उहाँको स्वास्थ्यमा कुनै पनि फरकपना हामीले भेट्टाएको छैनौँ। श्रीमान् पनि पेशाले सञ्चारकर्मी तर, तीन वर्ष जति भयो हामी कुकुरपालन व्यवसायमा आबद्ध छौँ। यही व्यवसायका कारण उहाँ नेपाल भन्दा बढी देशबाहिर भ्रमणमा हिँडिरहनुहुन्छ।

श्रीमान् अहिले पनि आफ्नो व्यवसायमा ‘एक्टिभ’ हुनुहुन्छ। पहिले जस्तो अहिले पनि उस्तै। जोश जाँगरमा कत्ति पनि कमी आएको छैन। अबको एक सातामा अप्रेसनका लागि दिल्ली जानुछ र पनि दैनिक काममा हिँडिरहनु भएको छ। क्यान्सर केही होइन। आत्मबल भए हरेक रोगसँग लड्न सकिन्छ र आत्मबलले क्यान्सरलाई समेत हराउन सक्छ भन्ने उदाहरण भएर उभिनु भएको छ उहाँ।

भनिन्छ, मद्यपान, धूमपान, खानपिन र अव्यवस्थित जीवनशैली क्यान्सरको कारक हो। तर यो कारण सबैमा लागु हुदैन। मेरो श्रीमानमा भएको मलद्वारको क्यान्सरको कारण पनि के हो पत्ता लागेको छैन।

थप समाचार

के हो बेडसोर अर्थात चाप घाउ ?

के हो बेडसोर अर्थात चाप घाउ ?

सलाम छ ती स्वास्थ्यकर्मीलाई..

सलाम छ ती स्वास्थ्यकर्मीलाई..