Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘मधुमेहको उपचारमा सबैको समान पहुँच हुन जरुरी छ’

‘मधुमेहको उपचारमा सबैको समान पहुँच हुन जरुरी छ’

आज नोभेम्बर १४ अर्थात विश्व मधुमेह दिवस । विश्वभर नै मधुमेह रोगकावारेमा छलफल तथा यसलाई कम गर्नका लागि के गर्न सकिन्छ भन्ने निचोड निकाल्नका लागि यो दिवस मनाउने गरिन्छ । नेपालमा पछिल्लो समय मधुमेहको समस्या बढ्दै गएको पाइन्छ । अझ भर्खरका युवा जमातहरुमा यो समस्या विकराल बन्दै गएको मेट्रो काठमाडौं अस्पतालमा कार्यरत वरिष्ठ मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा ज्योति भट्टराई बताउँछिन्। वयस्कमा मधुमेह देखिनु राम्रो संकेत नभएको उनको भनाई छ ।

हामी सबैलाई थाहा छ रगतमा चिनीको मात्रा आवश्यकता भन्दा बढी भयो भने मधुमेह रोग लाग्छ । यो रोग यस्तो रोग हो जसलाई समयमै व्यवस्थापन नगर्दा यसले शरीरका महत्वपूर्ण अंगहरु जस्तै मुटु, मिर्गौला, आँखा, नशामा जटिलता लिएर आउँछ । त्यसैले यसलाई एउटा रोगको रुपमा मात्र नहेरी धेरै रोगको कारक हो भनेर त्यही अनुसार मानसिक रुपमा तयार हुने र उपचारमा बस्न पर्छ । उपचार सही रुपमा भएमा मधुमेह वषौंसम्म पनि नियन्त्रणमा भएर अन्य समस्या नभएका थुप्रै उदाहरण भएको डा ज्योतिको अनुभव छ ।

तर केही विरामी यस्ता हुन्छन् जसले सुरुमा मधुमेह हुँदा औषधि खान आनाकानी गर्ने र खानपानमा पनि ध्यान नदिंदा कतिपयलाई जटिल समस्याहरु भएका पनि छन्। उनले थपिन्। उनले मधुमेह भयो भनेर आत्तिने भन्दा पनि यसलाई मैले सही व्यवस्थापन कसरी गर्ने भन्नेमा ध्यान दिन जरुरी रहेको जनाउँछिन्। अर्को कुरा मधुमेह डाक्टरले औषधि लेखिदिएर र बिरामीले औषधि खाएर मात्र निको हुने रोग हैन् । यसमा बिरामीलाई परिवारको पनि उत्तिकै सहयोग चाहिन्छ । मधुमेहलाई नियन्त्रण गर्न यसमा अन्य थुप्रै सेवाहरु जस्तै डाइटिसियन, कार्डियो डक्टर, फिजियोथेरापिस्ट, नर्स मनोपरामर्श जस्ता कुराको पनि आवश्यक हुन्छ । यी कुराहरु बिरामी र परिवारले बुझ्न जरुरी हुन्छ ।

पछिल्लो समय वयस्कलाई हुने टाइप २ मधुमेह सानै उमेरमा देखिन थालेको देख्दा चिन्ता लाग्ने बताउँछिन डा भट्टराई । उनले भनिन, ‘अहिले हामी भागदौड गरिरहेका छौं। कुन बेला खाने, आराम गर्ने, आफ्ना लागि समय बिताउने, व्यायाम गर्ने जस्ता कुरामा ध्यान दिएकै छैनौं । यसको परिणाम स्वरुप २ \४ वर्षमै हामीमा मधुमेह देखिने समूहमा पर्न जान्छौं । अझ यसको उच्च जोखिममा छौं भन्दा पनि हुन्छ । यसो त हाम्रो जीन नै मधुमेह हुने बढी सम्भावना बोकेको जीन भएको पाइन्छ । त्यसमा हाम्रो आफनै अस्वस्थकर जीवनशैलीले यसलाई अझ बढाउन मद्दत गरेको छ ।

त्यसो त आधुनिकीरण जहाँ बढ्दै जान्छ त्यहाँ मधुमेहका बिरामी पनि बढ्ने गरेको उनको भनाई छ । जहाँ बाटोघाटो पुग्छ त्यहाँ मानिसहरु हिड्न छोड्छन जसले गर्दा व्यायाम कम हुन्छ । शरीरमा खाएको खाना सुगरकाे रुपमा थुप्रिएर बस्छ र पछि त्यही समस्याका रुपमा देखा पर्छ ।

यो वर्षको नारा ‘मधुमेहको उपचारमा सबैको समान पहुँच’ हुनुपर्छ भन्ने रहेको छ । हुन पनि अझै पनि मधुमेहको उपचार र औषधिमा धेरै मानिसको पहुँच पुगेको छैन्। जसले गर्दा रोग भएर पनि उपचारमा आउन नसक्नेहरु धेरै छन्। यसलाई सरकारले गम्भीर रुपमा हेरेर मधुमेहका बिरामीका लागि चाहिने इन्सुलिन लगायतका औषधिहरु नि :शुल्क मात्र हैन पहुँचयोग्य बनाउन जरुरी भइसकेको उनको भनाई छ । अहिले नगरे कहिले गर्ने त ? उनले थपिन्। अस्पतालमा बिरामी दिन प्रतिदिन बढिरहेका छन्। त्यसैले पनि जसरी भेन्टिलेटर, अक्सिजन भनेर  हामी पछि दौडिरहेका छौं त्यसैगरी इन्सुलिन, सुगर जाँच, औषधि लगायतमा पनि पहुँच बढाउन जरुरी छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।