बालबालिकाको अस्वाभाविक चकचकेपन : ‘अटेन्सन डिफिसिटहाइपर एक्टिभ डिस्अर्डर’

बालबालिकाको अस्वाभाविक चकचकेपन : ‘अटेन्सन डिफिसिटहाइपर एक्टिभ डिस्अर्डर’

काठमाडौं : अभिभावकहरूले आफ्ना बालबालिका धेरै चकचके भएको, पढाइमा ध्यान नदिने, भनेको नमान्ने गरेको भन्दै चिन्ता गरिरहँदा विज्ञहरूले चाहिँ त्यसमा अभिभावकले नै बालबालिकालाई दिइरहेको वातावरण उचित नभएको हुनसक्ने बताएका छन्।

हालसालै एउटा विद्यालयले एकजना बालकलाई धेरै चकचके भएको भन्दै आफ्नो विद्यालयमा पढाउन नसक्ने बताएको थियो।

अभिभावक महासङ्घ, अभिभावक र विद्यालय प्रशासनले उक्त विषय सल्टाए पनि बालबालिकाको चकचकेपनाले धेरै अभिभावकलाई चिन्तित बनाएको देखिन्छ।

बालबालिकासम्बन्धी डाक्टर र मनोविश्लेषकहरू भन्छन्, ‘यो समस्या बालबालिकाको होइन। अभिभावक र शिक्षकको हो।’

तर बालबालिका चकचके वा जिद्दी भए भन्दैमा त्यसको उपचार नै नखोजी विद्यालयबाट निकाल्नु गैरजिम्मेवार हुनु हो भन्ने धारणा बालमनोविज्ञ डाक्टर गङ्गा पाठकको छ।

समस्याको समाधान के?

उनका अनुसार यसरी विद्यालयले विद्यार्थी निष्कासित नै गरेको समाचार पहिलो पटक सुनिए पनि बालबालिकामा चकचकेपनाको समस्या भने धेरै हुने गरेको उनले बताइन्।

‘चकचकपनाको डिग्री अफ डिफिकल्टी’ हेरेर कति स्वाभाविक हो वा अस्वभाविक हो भन्ने थाहा हुन्छ’, उनले भनिन्, ‘सामान्य चकचक हो भने त्यसलाई बालबालिकाको बालापन सम्झनुपर्छ। ऊ जिज्ञाशु छ भन्ने सोच्नुपर्छ। यो स्वाभाविक हो।’

तर कुनैकुनै बालिकाबालिका एकदमै धेरै अस्थिर हुने, कसैले भनेको नटेर्ने, अरूको ध्यान आकर्षित गर्न खोजिरहने खालको भए त्यसलाई अस्वाभाविक मान्नुपर्ने उनी बताउँछिन्।

अस्वाभाविक चकचकेपनको समाधान कसरी गर्ने?

डाक्टर पाठक भन्छिन्, ‘त्यो अस्वाभाविक चकचकेपनलाई हामी ‘अटेन्सन डिफिसिट हाइपर्एक्टिभ डिस्अर्डर’ भन्छौँ। त्यो एक किसिमको रोग हो जुन उपचारबाट निको हुन्छ।’

बालबालिकाले शिक्षकले भनेको नमानेको, पढाइमा ध्यान नदिएको, हल्ला गरेको भन्ने जस्ता गुनासो विद्यालय र अभिभावकबाट आएपछि त्यस्ता बालबालिकालाई तीनदेखि छ महिनासम्म उपचार गराएर पुरानै विद्यालयमा पठाएको अनुभव उनले सुनाइन्।

बालबालिकासम्बन्धी विशेषज्ञ डा. मन्दिरा श्रेष्ठ पनि बालबालिका अस्वाभाविक रूपमा चकचके भएको वा एकदमै कम सक्रिय भएको ख्याल गरेर त्यस्ता बालबालिकालाई समस्या छ कि भनेर देखाउनुपर्ने बताउँछिन्।

‘विद्यालय वा घरमा अडिन गाह्रो हुने खालका बालबालिका छन् भने उनीहरूमा केही रोग पो छ कि भनेर विचार पुर्‍याउनुपर्छ’, डाक्टर श्रेष्ठले भनिन्, ‘जस्तै कतिपय बालबालिकालाई अटिजम भएको हुनसक्छ। अथवा कतिपय बालबालिकालाई अभिभावकले जे भन्यो त्यही पुर्‍याइदिँदा पनि उनीहरू जिद्दी हुने, अरूले भनेको नमान्ने खालको समस्या उत्पन्न भएको हुनसक्छ।’

अभिभावकले बालबालिकाको कस्ता विषयमा ध्यान दिने?

डा. पाठक भन्छिन्, ‘उनीहरूले खाने जङ्क फुडदेखि फोन, ट्याबहरूमा खेल्ने भिडिओ गेमसम्मको असर बालबालिकाको मनोविज्ञानमा परेको हुन्छ।’

बालबालिकालाई पहिला जस्तो शारीरिक रूपमा सक्रिय हुने खेलमा प्रोत्साहन नगर्नु, प्रकृतिसँग निकट बनाउन नखोज्नु र मानिसहरूसँग घुलमिल हुन नसिकाउनुले पनि समस्या उत्पन्न गर्ने उनले बताइन्।

‘अनि आजकाल अभिभावकहरू बालबालिकालाई उनीहरूले मागेका जस्ता कुराहरू पनि पुर्‍याइदिन्छन्। त्यो ठिक होइन,ू उनले भनिन्, ‘अत्यावश्यकीय कुरामा उनीहरूलाई अभावमा राख्नुहुँदैन, तर उनीहरूले मागेको नदिए रुन्छन् भन्दैमा सबै कुरा दिनु पनि हुँदैन।’

आजकल चकचके बच्चालाई मात्रै नभई उनीहरूका अभिभावकलाई पनि त्यसबारे परामर्श दिनुपर्ने भएको उनले बताइन्।

त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक गर्ने पाठकले आफ्नो कार्यालयमा दैनिक दुई तीनजना अभिभावक आफ्नो सन्तान चकचके भयो भन्ने गुनासा लिएर आउने गरेको बताउँछिन्।

गत चैत्र महिनामा नयाँ शैक्षिक सत्र सुरु हुनुअघि पनि थुप्रै त्यस्ता अभिभावक आफ्नो बालबालिका चकचके भएको भन्दै कतिपय विद्यालयले भर्ना नलिएको गुनासो आफूकहाँ आएको उनले बताइन्।

त्यसैले उनको सुझाव छ– अभिभावक र विद्यालयका शिक्षकले बालबालिका धेरै चकचके भए उनीहरूलाई पिट्ने वा विद्यालयबाट निकाल्ने होइन उनीहरूको त्यो रोग पो हो कि भन्नेमा ध्यान पुर्‍याउनुपर्छ।

बीबीसी नेपालीबाट