घाम भिटामिन ‘डी’को अमूल्य स्रोत

हेल्थ टिभी अनलाइन : सानो उमेरका शिशुलाई भिटामिन ‘डी’को कमी भयो भने उनीहरूको हड्डी कमजोर हुँदै जान्छ। हड्डी बाङ्गो भएर हिँड्नसमेत गाह्रो हुन सक्छ। यस्तो अवस्था अहिले धेरै कम देखिए पनि काठमाडौं उपत्यकाको कहिल्यै घाम नपुग्ने गल्लीहरूमा बस्ने बालबालिकालाई यस्तो समस्या हुनसक्छ।
पहिले–पहिले घाममा राखेर सुत्केरी महिला र शिशुलाई तेल लगाउने चलन थियो तर आधुनिकतामा परेर शिशुलाई घाममा नराख्ने, तेल नलगाउने तथा कोठामा राखेर पाउडर दलिदिने चलन छ। यस्तो व्यवहारका कारण सुत्केरी आमा तथा शिशुको शरीरमा भिटामिन डी पुग्न पाउँदैन र अनेकौँ समस्या सिर्जना हुन्छन्। अहिलेका आमाहरूले घाममा बसेर तेल लगाउने चलन बिर्सिए भने आमा तथा शिशुलाई समस्या पर्नसक्छ।
नेपालमा वर्षैभरि सजिलैसँग पाइने सूर्यको स्रोतलाई वास्ता नगरी, एकछिन घाममा बस्न फुर्सद नभएर जब महिलाहरू भिटामिन डीको कमीका कारण अनेकौं समस्याबाट ग्रसित हुन्छन् तब उनीहरूलाई भिटामिन डीको चक्की दिइन्छ अनि उनीहरू पनि खुसीसाथ पैसा तिरेर चक्की खान्छन् तर सित्तैमा प्राप्त हुने भिटामिन डी प्रयोग गर्दैनन्। सम्भवतः धेरै जनालाई यसको जानकारी पनि नहोला र स्वास्थ्यकर्मीले यो जानकारी पनि दिँदैनन् कि हाम्रो शरीरलाई आवश्यक ८० प्रतिशत भिटामिन डी सूर्यको किरणबाटै प्राप्त गर्न सकिन्छ।
अहिले धेरै औषधि कम्पनीले सकेसम्म बढी मानिसले क्याल्सियम र भिटामिन डी प्रयोग गर्नुपर्छ भन्ने कुरा बाहिर ल्याउँदैछन्, विदेशमा पनि स्वास्थ्यकर्मीले महिलालाई २०–२५ वर्षको उमेरदेखि नै क्याल्सियम तथा भिटामिन डीका चक्की दिन थाल्छन्। जुनसुकै समस्या औषधिले मात्र समाधान गर्ने हाम्रो बानीका कारण हामी प्राकृतिक कुरा उपयोग गर्न बिर्सिँदै र चुक्दै गएका छौंँ।
घाम नलाग्ने देशहरूमा भिटामिन डीको चक्की वा खानामा भिटामिन डी मिसाएर दिनुको औचित्य होला, तर नेपालमा त्यसको औचित्य छैन। भिटामिन डीको चक्कीले केवल औषधि कम्पनी तथा पसलको आम्दानी बढाउँछ। यसले स्वास्थ्यमा पनि सकारात्मक असर गर्दैन ।
भिटामिन डी बोसोमा घुलनशील भएर लामो समय रहने हुनाले एक–दुई दिन घाममा नबस्दैमा खासै समस्या परिहाल्दैन । त्यसैले वर्षाका दिनहरूमा घाममा बस्न पाइन भनेर चिन्ता गर्नुपर्दैन। छालामा सिधै सूर्यको किरण पुग्ने गरी हप्तामा ४–५ दिन, २०–२५ मिनेटका लागि बसे पुग्छ। सबैलाई घाम चाहिन्छ, शारीरिक विकासका लागि मात्र होइन मानसिक रूपमा स्वस्थ रहन पनि घाम आवश्यक छ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल