ज्वरो आएको र रुघाखोकी लागेकै बेला कोरोना खोप लगाउन मिल्छ की मिल्दैन् ?

हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो दुई साता यता प्रत्येक घरमा कोही न कोही परिवारका सदस्यलाई रुघाखोकी ज्वरो आएको पाइन्छ । यहीबेला सरकारले फ्रन्टलाइनरलाई कोरोना विरुद्धको बुस्टर डोज पनि धमाधम दिइरहेको छ । अब ती घर घरमा रुघाखोकी र ज्वरो आएकाले कोरोना विरुद्धको खोप लगाउने की नलगाउने भन्ने द्धिविधामा भएको पाइन्छ । यही विषयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेर बहादुर पुनलाई हेल्थ टिभी अनलाइनले यही विषयमा प्रश्न सोधेको छ । यस्तो छ उनको जवाफ :
के रुघाखोकी लागेका र ज्वरो आएकाले कोरोना विरुद्धको खोप लगाउन मिल्छ ?
हेर्नुस, यो अप्ठेरो प्रश्न हो । यतिबेला घरघरमा रुघाखोकी लागेका व्यक्तिहरु छन्। हामीकहाँ खोप लगाउन आउने पनि धेरै जना रुघाखोकी लागेको व्यक्तिहरु नै छन् । अब उनीहरुलाई खोप लगाउनुस् भन्ने की नलगाउनुस् भन्ने निकै गाह्रो छ ।
उच्च ज्वरो आएको बेला कोरोना विरुद्धको मात्र हैन् अन्य खोपहरु पनि नलगाउन सल्लाह दिइन्छ । खोप लगाउनै परेमा ज्वरो कम गर्ने औषधि दिएर कम भएपछि मात्र खोप दिइन्छ । तर सामान्य ज्वरो आएको र रुघाखोकी लागेको बेलामा कोरोना विरुद्धको खोप लगाउँदा के हुन्छ भन्नेवारेमा अहिलेसम्म कतै अध्ययन नै भएको छैन्। त्यसैले खोप लगाउँदा यही नै असर देखिन्छ भन्ने चाहिं कतै लेखिएको छैन्। यो अबचाहिं अध्ययन गर्नुपर्ने विषय बनेको छ ।
तर व्यवहारिक रुपमा कुरा गर्ने हो भने एक जना रुघाखोकी लागेको र ज्वरो आएको व्यक्ति जसको सम्पूर्ण लक्षण कोरोनासँग मिलेको छ उ खोप लगाउने स्थानमा जाँदा त्यहाँ रहेका धेरै व्यक्तिलाई कोरोना भाइरस सर्नसक्छ । यो कुरा भने स्वयंले ख्याल गर्ने कुरा हो ।
त्यसैले सामान्य रुपमा भन्ने हो भने कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका व्यक्तिले ती लक्षणहरु कम भएपछि मात्र खोप लगाएको राम्रो । अर्को कुरा तपाइँलाई यदि कोरोना पोजेटिभ छ र तपाइँले परीक्षण गर्नुभएको छैन् भने उक्त खोपले कति काम गर्छ भन्ने पनि अध्ययन भएकै छैन्। सरकारले पनि कोरोना पोजेटिभ भएको एक महिनापछि मात्र कोरोना विरुद्धको खोप लगाउने प्रोटोकल बनाएको छ । सो प्रोटोकल फलो गर्दा पनि कोरोना पुष्टि भएको एक महिनापछि मात्र खोप लगाउन पर्ने हुन्छ । अहिलेको रुघाखोकी धेरै जसो कोरोना नै पुष्टि भइरहेको छ । कोरोना भएका व्यक्तिमा यसै पनि इम्युनिटी बनिरहेको हुन्छ त्यही बेला खोपको आवश्यकता खासै पर्दैन्।
त्यसैले मेरो आग्रह यदि तपाइँमा कुनै कोरोनासँग मिल्ने लक्षण छन् भने परीक्षण गरेर कोरोना भए नभएको पत्ता लगाएर कोरोना नेगेटिभ छ भने मात्र कोरोना विरुद्धको खोप लगाएको राम्रो ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल