‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
हेल्थ टिभी अनलाइन : दाँत स्वास्थ्यको विशिष्टीकृत उपचार तथा अध्ययनसँग सम्बन्धित पहिलो पीजी कन्भेन्सन वीर अस्पतालमा सम्पन्न भएको छ। कन्जरभेटिभ डेन्टिष्ट्री एण्ड इन्डोडन्टिक्स एशोसिएसन अफ नेपालले आयोजना गरेको कन्भेन्सनमा देशभरबाट करिब एक सय जना विशेषज्ञ तथा दन्त चिकित्सकहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी विशेषज्ञहरूले विभिन्न विषयमा अनुसन्धानमूलक तथा प्राविधिक पेपर प्रस्तुत गरेका थिए। प्रस्तुत गरिएका पेपरमा दाँतको संरक्षण, रुट क्यानल उपचार, जटिल दन्त समस्याको व्यवस्थापन, उपचारमा प्रयोग भइरहेका नयाँ प्रविधि तथा बिरामीमैत्री उपचार पद्धतिलगायतका विषय समेटिएका थिए।
यसैगरी दन्त उपचारमा भित्रिँदै गरेका अत्याधुनिक प्रविधि, नयाँ उपकरण तथा उपचार विधिका विषयमा समेत विशेषज्ञहरूबीच अन्तरक्रिया भएको थियो। प्रविधिको विकाससँगै दन्त उपचारलाई अझ प्रभावकारी, सुरक्षित र दीर्घकालीन बनाउन अपनाउनुपर्ने उपायबारे सहभागीहरूले अनुभव आदानप्रदान गरेका थिए।
कन्भेन्सनमा दाँत स्वास्थ्यको विशिष्टीकृत विधा कन्जरभेटिभ डेन्टिष्ट्री तथा इन्डोडन्टिक्स अन्तर्गत भइरहेका पछिल्ला अभ्यास, उपचार प्रविधि र अनुसन्धानका विषयमा विस्तृत छलफल भएको कन्जरभेटिभ डेन्टिष्ट्री एण्ड इन्डोडन्टिक्स एशोसिएसन अफ नेपालकी अध्यक्ष डा रिमा जोशी प्रधानले जानकारी दिइन् । कन्भेन्सनले दन्त चिकित्सक तथा विशेषज्ञहरूबीच ज्ञान, सीप र अनुभव आदानप्रदान गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको उनले जिकीर गरिन् ।
कार्यक्रममा नेपालभरिका पोस्टग्राजुयट विद्यार्थीहरूको सहभागितामा आयोजित साइन्टिफिक कार्यक्रममा १० वटा साइन्टिफिक पेपर तथा १७ वटा पोस्टर प्रस्तुत गर्दै प्रतिस्पर्धा गरिएको छ। प्रतिस्पर्धामा उत्कृष्ट तीन साइन्टिफिक पेपर उत्कृष्ट तीन पोस्टरलाई साइन्टिफिक समितिका अध्यक्ष डा स्निग्धा शुभमले पुरस्कृत गरेकी थिइन।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथिका रूपमा नेपाल डेन्टल एसोसिएसनका अध्यक्ष डा अजय साहले गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्ता वैज्ञानिक कार्यक्रमले अनुसन्धान संस्कृति प्रवर्द्धन गर्नुका साथै युवा दन्त चिकित्सकहरूको ज्ञान र सीप अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताए।
कार्यक्रम आयोजक समितिकी अध्यक्ष प्राडा सन्ध्या श्रेष्ठ तथा सचिव शिखा बान्तवाले यस्ता कार्यक्रमले पीजी तहका विद्यार्थी तथा युवा अनुसन्धानकर्तालाई वैज्ञानिक रूपमा अझ सक्षम र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कन्जरभेटिभ डेन्टिष्ट्री एण्ड इन्डोडन्टिक्स एशोसिएसन अफ नेपालकी सचिव डा समा प्रधानले यस्ता शैक्षिक तथा वैज्ञानिक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेमा जोड दिइन्।
कार्यक्रममा प्राडा सञ्जय कुमार श्रेष्ठ तथा डा सविना मल्लले अतिथिका रूपमा सहभागी हुँदै अनुसन्धान, शैक्षिक विकास तथा व्यावसायिक अनुभवबारे आफ्ना विचार र ज्ञान सहभागीहरूसँग साझा गरेका थिए।
विशेषगरी पछिल्लो समय दाँत तथा मुख स्वास्थ्यसम्बन्धी समस्याको उपचारमा विशिष्टीकृत सेवाको आवश्यकता बढ्दै गएकाले यस्ता वैज्ञानिक सम्मेलनले चिकित्सकहरूलाई नयाँ अनुसन्धान र उपचार प्रविधिबारे अद्यावधिक हुन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कन्जरभेटिभ डेन्टिष्ट्री तथा इन्डोडन्टिक्स क्षेत्रमा कार्यरत चिकित्सकहरूलाई एउटै मञ्चमा ल्याएर पछिल्लो ज्ञान र प्रविधिबारे छलफल गर्ने उद्देश्यले आयोजना गरिएको कन्भेन्सनले नेपालमा विशिष्टीकृत दन्त उपचारको विकासमा थप योगदान पुर्याउने विश्वास आफूले लिएको डा रिमाले व्यक्त गरिन् ।
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू