पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै
हेल्थ टिभी अनलाइन : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका र चितवनमा संकलन गरिएका पहिचान हुन नसकेका २२९ शव जमिनमुनि व्यवस्थापन गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले एक विज्ञप्ति जारी गर्दै बाढीपछि जिल्लामा हालसम्म २३३ वटा शव संकलन भएको र तीमध्ये चारवटा शवको पहिचान भइसकेको तथा २२९ वटा शवको पहिचान हुन बाँकी रहेको जनाएको छ । ती शव तथा शवका अवशेष सड्न गल्न थालेपछि दुर्गन्ध फैलिएको प्रशासनले जनाएको छ। यसबाट संक्रमण तथा महामारीको जोखिम बढ्न सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूको सुझावपछि शव व्यवस्थापन गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।
जिल्ला सुरक्षा समिति चितवनको भदौ १३ गतेको निर्णयअनुसार ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन पहिलो संशोधन निर्देशिका, २०८३’ बमोजिम पहिचान हुन नसकेका तथा बेवारिसे शव जमिनमुनि गाडेर व्यवस्थापन गरिनेछ।
शव व्यवस्थापन गर्नुअघि सबै शवको डीएनए नमुना संकलन गरिनेछ। साथै, प्रत्येक शवलाई संकेत नम्बर प्रदान गरी आवश्यक विवरणसहित अभिलेख राखिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। भरतपुर महानगरपालिका–१ देवघाटस्थित खुला स्थानमा शवहरू व्यवस्थापन गरिने पनि जनाइएको छ।
प्रशासनले बाध्यात्मक परिस्थितिका कारण यस्तो निर्णय गर्नुपरेको भन्दै शोकमा रहेका पीडित परिवारप्रति क्षमायाचना गरेको छ।
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै