Health TV Online
Health TV Online
Health TV Online

विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई

विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई

हेल्थ टिभी अनलाइन : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), दक्षिण –पूर्वी एशिया क्षेत्रीय कार्यालयले नेपाल नेत्रज्योति संघलाई, डब्लुएचओ ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ (सार्वजनिक स्वास्थ्य विधामा) प्रदान गर्ने भएको छ । नेपालमा रोकथाम गर्न सकिने अन्धोपन न्युनीकरण तथा सर्वसुलभ , समतामूलक र विपन्न, पहुँचबाट बाहिर रहेका समुदाय केन्द्रित नेत्र स्वास्थ्य सेवाको विस्तारमा अतुलनीय योगदान पुयाएवापत डब्लुएचओले पहिलो पटक संघलाई सो विधाको अवार्डबाट सम्मानित गर्न लागेको हो ।

डब्लुएचओ, दक्षिण पूर्वी एशिया क्षेत्रीय कमिटीको आगामी असोजमा हुने ७९ औं बैठकमा सो अवार्ड प्रदान गरिने डब्लुएचओ दक्षिण पूर्वी एशिया क्षेत्रीय कार्यालयद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिका अनुसार सार्वजनिक स्वास्थ्य विधामा नेपाल नेत्रज्याति संघ सहित थाइल्याण्डका डा नित्ताया फानुफाक र भारतका डा के सुरेशकुमार पनि अवार्डका लगि छनौट भएका छन् ।

नेपाल नेत्रज्योति संघले विगत करिब पाँच दशकदेखि नेपालमा रोकथाम गर्न सकिने अन्धोपन न्यूनिकरणका लागि निरन्तर कार्य गर्दै आएको छ । देशभर फैलिएको आँखा अस्पताल तथा आँखा उपचार केन्द्रको सञ्जाल, समुदायस्तरमा सञ्चालित आँखा उपचार तथा शल्यक्रिया शिविर, पहुँचभन्दा बाहिर रहेका समुदायसम्म आँखा स्वास्थ्य सेवा पु¥याउने कार्यक्रम तथा प्राथमिक स्वास्थ्य सेवासँग आँखा स्वास्थ्यलाई एकीकृत गर्ने प्रयासमार्फत संघले मानिसको दृष्टि पुनस्र्थापना गर्न योगदान पुर्याउँदै आएको छ ।

संघका अध्यक्ष प्राडा चेतराज पन्तका अनुसार संघले हालसम्म पाँच करोड दुईलाख ४८९ जनालाई आँखा उपचार सेवा प्रदान गरिसकेको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया समेत गरिसकेको छ । संघको हाल २८ आँखा अस्पताल, ४४ जिल्ला शाखाका २२६ आँखा उपचार केन्द्र मार्फत् नेपाली सहित अन्य विभिन्न विदेशी नागरिकलाई आँखा सेवा प्रदान गरिरहेको छ ।

संघका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले भने ‘नेपाल नेत्रज्योति संघले समुदायको सहभागिता, साझेदारी र स्थानीय आवश्यकतामा आधारित सेवामार्फत सबैका लागि गुणस्तरीय आँखा स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ काम गर्दै आएको छ । संघको देशव्यापी सेवा प्रणालीले विशेषगरी आर्थिक तथा भौगोलिक रूपमा पछाडि परेका समुदायलाई लक्षित गर्दै निःशुल्क तथा सहुलियतपूर्ण आँखा उपचार र शल्यक्रिया सेवाको पहुँच विस्तारलाई प्राथमिकताका साथ काम गरिरहेका छौँ । ‘ डब्लुएचओ अनुसार नेपालमा अन्धोपनको अवस्था सन् १९८१ मा ०.८४ प्रतिशत रहेकामा सन् २०२०\२१ सम्ममा घटेर ०.२८ प्रतिशत मा पुगेको छ ।

डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयद्वारा जारी विज्ञप्तिका अनुसार यस वर्ष सार्वजनिक स्वास्थ्य क्षेत्रका लागि १०२ मनोनयन परेका थिए । सार्वजनिक स्वास्थ्यमा प्रभाव, नवीनता, विस्तारयोग्यता, दिगोपन र समतामूलक पहुँचलगायतका आधारमा वरिष्ठ डब्लुएचओ विज्ञ सम्मिलित छनोट समितिले मूल्याङ्कन गरी अवार्डका प्राप्तकर्ताहरू छनोट गरिएको हो ।

यो अवार्डले नेपालमा रोकथाम गर्न सकिने अन्धोपन न्यूनीकरण तथा सबैका लागि गुणस्तरीय र पहुँचयोग्य आँखा स्वास्थ्य सेवा सुनिश्चित गर्न नेपाल नेत्रज्योति संघले गर्दै आएको निरन्तर प्रयासको अन्तर्राष्ट्रिय स्तरमा भएको महत्वपूर्ण सम्मानका रूपमा अर्थ राख्ने जनाइएको छ । संघका महासचिव भरतबहादुर चन्दका अनुसार संघले यस अवार्डलाई संघसँग आबद्ध चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, स्वयंसेवक, जिल्ला शाखा, आँखा अस्पताल तथा आँखा उपचार केन्द्र, नेपाल सरकार, प्रदेश सरकार, स्थानिय सरकार, विकास साझेदार, दातृ संस्था, स्थानीय समुदाय तथा सम्पूर्ण शुभेच्छुकहरूको सामूहिक योगदानको सम्मानका रूपमा लिएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार