राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको पत्रकारिता पुरस्कार पत्रकार ढुङ्गेललाई
हेल्थ टिभी अनलाइन : राधा क्यान्सर सचेतना फाउन्डेशनले स्थापना गरेको ‘राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार’ यो वर्ष गोरखापत्रमा कार्यरत स्वास्थ्य पत्रकार सरोज ढुङ्गेललाई प्रदान गरिएको छ ।
नवलपुरको कावासोती नगरपालिका–२ मा शनिबार आयोजित विशेष कार्यक्रममा उनलाई नगद २० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले पुरस्कार वितरण गर्दै पछिल्लो समय नेपाल मात्र नभई विश्वमै क्यान्सरजस्ता नसर्ने रोग भयावह बन्दै गएको बताए । उनले नसर्ने रोगका कारण मृत्यु दर बढ्दो क्रममा रहेको उल्लेख गर्दै दैनिक करिब १० जनाको मृत्यु हुने गरेको जानकारी दिए । समयमै पहिचान गरी उपचार गर्न सके क्यान्सर पूर्ण रूपमा निको हुन सक्ने भएकाले प्रारम्भिक जाँच र सचेतनामा जोड दिन उनले आग्रह समेत गरे ।
पुरस्कार ग्रहण गर्दै पत्रकार ढुङ्गेलले उक्त सम्मानले स्वास्थ्य क्षेत्र, विशेषगरी क्यान्सरजस्ता नसर्ने रोगका विषयमा कलम चलाउन थप प्रेरणा मिलेको प्रतिक्रिया दिए । कार्यक्रममा संस्थाका अध्यक्ष प्रकाश बस्यालले क्यान्सरको जोखिम बढ्दै गएकाले यसका विषयमा सचेतना अझ बढी आवश्यक रहेको बताए । पत्रकार राधा बस्यालको २०७७ कात्तिक १४ गते स्तन क्यान्सरका कारण निधन भएको थियो । एक दशकभन्दा लामो समयदेखि नवलपुरमा पत्रकारिता गर्दै आएकी राधाले वैवाहिक जीवनपछि व्यक्तिगत रूपमा घरेलु हिंसा र क्यान्सरसँग संघर्ष गर्नुपरेको उनका बुबा शुभराज शर्मा बस्यालले बताए ।
आफूलाई क्यान्सर भएको थाहा पाएपछि राधाले महिला हिंसा र स्तन क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले राधा क्यान्सर सचेतना फाउन्डेशन स्थापना गरी गाउँ–गाउँमा तथा रेडियो मध्यविन्दु एफएममार्फत अभियान सञ्चालन गर्दैै आएकी थिइन । उनको निधनपछि फाउन्डेशनलाई उनका भाइ पत्रकार प्रकाश बस्यालले निरन्तरता दिँदै आएका छन् ।
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य