भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा

हेल्थ टिभी अनलाइन : बाँकेको नेपालगंजमा रहेको भेरी अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने योजना अनुसार शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले प्रत्यारोपण सेवा विस्तार गर्दै आइरहेको छ । सोही क्रममा मंगलबार भेरी अस्पतालमा दुई जना बिरामीमा मिर्गौला प्रत्यारोपण गरेर सेवा सुरु गरिएको छ ।
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधिक सहयोगमा केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा उक्त प्रत्यारोपण कार्य सम्पन्न भएको हो । केन्द्रका शल्यचिकित्सक डा. दिपेश श्रेष्ठ, डा. हरि बराल, एनेस्थेसियोलोजिष्ट डा. सोभित थापा, डा. शिवसुन्दर राजचल, नेफ्रोलोजिष्ट डा. विक्रम बीर बज्राचार्य, लगायतको टोली प्रत्यारोपणमा संलग्न थिए ।
प्रत्यारोपण केन्द्रबाट डा. गौरव पन्थ, ट्रान्सप्लान्ट कोर्डिनेटर सरु कोजु, ओटी नर्स सयिबा नागा, केलिना के.सी, आइ सी यु नर्स अपर्ना सेन, दीपा के.सी, अनु बज्राचार्य लगायत पनि संलग्न थिए । यसैगरी भेरी अस्पतालका यूरोलोजी विशेषज्ञ, डा दिपेश गुप्ता, एनेस्थेसिया डा पारस पाण्डे, नेफ्रोलोजीतर्फ डा शौरभ हमाल, यूरोलोजीका डा अञ्जित फुयाँल, डायलासिस इन्चार्ज डा पारस श्रेष्ठलगायतको टोलीले मिर्गौला प्रत्यारोपण कार्यमा सघाएका थिए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले मिर्गौला प्रत्यारोपण सुरु हुनु अस्पतालको उपलब्धी हुनाका साथै त्यससम्बन्धी बिरामीका लागि उपचारको आशा जगाउने काम भएको बताए ।
भेरी अस्पतालमा हालका लागि महिनाको एक जनाको मिर्गौला प्रत्यारोपण सेवा संचालन गर्ने योजना रहेको र त्यसको लागि अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता बृद्धि गरी आत्मनिर्भर वनाउनको लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा थप तालिममा पठाउने योजना वनाएको भेरी अस्पतालका प्रमुख डा.निराजन सुवेदीले बताए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, कर्णाली प्रदेश अस्पताल सुर्खेतमा र भेरी अस्पताल नेपालगञ्जमा पनि मिर्गौला प्रत्यारोपण सेवा शुरु भएकोमा खुशी व्यक्त गर्दै डा पुकार चन्द्र श्रेष्ठले क्रमश बाँकी ३ वटा प्रदेश कोशी प्रदेश, मधेश प्रदेश तथा सुदुर पश्चिम प्रदेशमा पनि प्रत्यारोपण सेवा शुरु गर्ने प्रयास भई रहेको जानकारी दिए । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले हालसम्म १४०१ जनाको मिर्गौला र ३३ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights