काठमाडौंमा वायु प्रदूषण : स्वास्थ्य मन्त्रालयद्धारा सतर्कता अपनाउन आग्रह

हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै विश्वको वायु गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स एक्यूआई सूचकांक अनुसार केही दिनदेखि नेपाल अत्यधिक प्रदूषित देश र काठमाडौं प्रदूषित शहरको सूचीमा परेकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको हो ।
एक्यूआई मापनअनुसार शून्यदेखि ५० सम्म ‘स्वस्थकर’, ५१ देखि एक सय सम्म ‘सामान्य’, एक सय एक देखि एक सय ५० सम्म ‘सम्भावित जोखिम’, एक सय ५१ देखि दुई सयसम्म ‘अस्वस्थकर’, दुई सय एकदेखि तीन सयसम्म ‘अत्यधिक अस्वस्थकर’ र तीन सय एकभन्दा माथि ‘खतरनाक’ मानिन्छ । हाल काठमाडौंमा वायु प्रदूषणको स्तर ‘अत्यधिक अस्वस्थकर‘ सूचीमा पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले हालको वायु प्रदूषणका कारण दम, फोक्सोसम्बन्धी रोग, आँखाको समस्या, नाक र घाँटीमा एलर्जी, छालामा समस्या, हृदय रोग तथा दीर्घकालीन स्वास्थ्य समस्या देखिनसक्ने भएकाले संवेदनशील समूहमा पर्ने बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा दीर्घरोगीलाई विशेष सतर्कता अपनाउन सुझाव दिएका छन् ।
स्वास्थ्य मन्त्रालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, यात्रा गर्दा अनिवार्य रूपमा मास्क लगाउन र अत्यधिक प्रदूषण भएका क्षेत्रमा नजान सर्वसाधारणमा अनुरोध गरेको छ । उता राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पजि वायु प्रदूषण नियन्त्रण गर्न सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्न, स्वास्थ्यमा विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights