लिट्रेचर फेस्टिबलमा सुर्ती उत्पादक कम्पनीको संलग्नताप्रति स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण
कानून विपरित गरेमा कारवाही गर्ने चेतावनी

हेल्थ टिभी अनलाइन : पोखरामा हुन लागेको लिट्रेचर फेस्टिबलमा सुर्तीजन्य पदार्थ उत्पादक कम्पनीको संलग्नताप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ध्यानाकर्षण भएको छ । मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो। मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तिमा भनिएको छ , केही मेला, महोत्सब जात्राका नाममा सुर्तीजन्य पदार्थ उत्पादकको संलग्नता भएको प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। कानून विपरितको कामकारवाही नगर्नु नगराउनुहुनको साथै सो विपरितको कामकारवाही भएमा कानून बमोजिम कारवाही हुने जानकारी गराईन्छ।
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ को दफा १० मा विज्ञापन तथा प्रायोजन गर्न नपाइने सम्बन्धी व्यवस्था छ । सुर्ती उद्योगको सहयोग समेत लिन नहुने तथा सार्वजनिक पदमा बस्ने व्यक्तिले त्यस्ता कार्यक्रममा सहभागी हुन नपाउने पनि कानुनमा व्यवस्था छ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यदि कहि कतै उक्त ऐन, नियमावली तथा निर्देशिकामा भएका व्यवस्थाको पालना नगरेको पाइएमा मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा विहान ८ देखि बेलुका ८ बजेसम्म फोन वा ह्वाट्स एप वा भाइवर नम्बर ९८५१३३०५९२ मा सम्पर्क गर्न समेत भनिएको छ ।
पोखरामा फागुन १५ देखि सुरु हुन लागेको नेपाल लिट्रेचर फेस्टिबलको इभिनिङ म्युजिकल सेसनको स्पोन्सरको रुपमा नेपालको ठूलो चुरोट उत्पादक कम्पनी सूर्य नेपाल भएको समाचार विभिन्न मिडियामा सार्वजनिक भएपछि मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएको हो ।
नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण लाग्ने रोगबाट वर्षेनी ३७ हजार बढी व्यक्तिको मृत्यु हुने गरेको तथ्यांक छ । त्यसैले यो मृत्युलाई रोक्न तथा नागरिकलाई दीर्घ रोगबाट बचाउनका लागि सरकारले सुर्तीजन्य पदार्थ विरुद्धको कानून बनाइसकेको छ । जुन कानूनले सुर्तीजन्य पदार्थको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बढावा गर्ने गरी कुनै पनि गतिविधि गर्न नपाइने व्यवस्था गरेको छ ।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै