Health TV Online
Health TV Online
Health TV Online

एचपीभी खोप अब एक डोज दिए पुग्ने

एचपीभी खोप अब एक डोज दिए पुग्ने

हेल्थ टिभी अनलाइन : पाठेघरको मुखको क्यान्सर गराउने एचपीभी भाइरस विरुद्ध दिइने एचपीभी खोप अब एक डोज मात्र दिएपुग्ने भएको छ । विज्ञहरुले अहिलेको नयाँ अध्ययनले किशोरीलाई एक डोज दिए यो भाइरस विरुद्ध काम गर्ने देखाएकाले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार एक डोज मात्र दिन लागेको बताएका हुन् ।

मंगलबार एचपीभी खोप र यसको अभियानबारे जानकारी दिन राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र स्वास्थ्य पत्रकार मञ्चद्धारा आयोजित संचारकर्मी अभिमुखीकरण कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन्। कार्यक्रममा बोल्दै महाशाखाका निर्देशक डा विवेक कुमार लालले एचपीभी खोपका लागि सरकारले दुई डोजकै लागि बजेट तय गरिसकेको भए पनि अहिलको नयाँ अध्ययन अनुसार एक डोज नै प्रयाप्त हुने पुष्टि भएकाले अब एक डोज मात्र दिन लागेको जानकारी दिए । उनले भने, ‘हामीले बजेट नभएर वा अन्य कुनै कारणले एक डोज मात्र दिन लागेका होइनौं, यसमा शंका गर्नै पर्दैन । अझ हामीले त दुई डोज खोपकै लागि पैसा पठाइसकेका छौं अब एक डोज मात्र लगाएपुग्ने भएपछि सो पैसा कसरी फिर्ता ल्याउने की के गर्ने भन्ने अन्यौलमा छौं ।’ डा लालले नेपाल सरकारले खोपको गुणस्तरमा अहिलेसम्म कुनै सम्झौता नगरेको र अब पनि नगर्नेमा विश्वस्त हुन आग्रह समेत गरे । उनले आगामी माघ २२ गते अर्थात विश्व क्यान्सर दिवसको दिनदेखि फागुन ६ गतेसम्म देशभर अभियान सञ्चालन हुने पनि जानकारी दिए ।

कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा सरिता घिमिरेले एचपीभी खोपले १० देखि १४ वर्षका किशोरीलाई भविष्यमा हुनसक्ने पाठेघरको मुखको क्यान्सरबाट जोगाउने हुँदा आफना छोरीहरुलाई अनिवार्य यो खोप दिन आग्रह गरिन् । उनले यौन जीवनमा प्रवेश गर्नुअघि नै यो खोप दिन आवश्यक रहेकाले १० देखि १४ वर्ष उपयुक्त समय भएकाले यो अवधीमा खोप दिन भनिएको पनि बताइन् । डा घिमिरेले एचपीभी खोपबारे बजारमा विभिन्न खालका अफवाहहरु फैलिएको भए पनि खोप सुरिक्षत रहेकोमा ढुृक्क हुन आग्रह गरिन्।

डा घिमिरेले दुई डोज दिइरहेको खोप अहिले एक डोज दिए पुग्ने भन्ने अध्ययनले पुष्टि गरेपछि धेरै देशहरु सिंगल डोजमा गएको र त्यसले दुई डोजले जति एन्टीबडी बनाउनपर्ने हो त्यति नै बनाएको पाइएको पनि जिकीर गरिन् । उनले पहिले एचपीभी खोप लगाइसकेका किशोरीले अभियानमा खोप लगाउन नपर्ने पनि जानकारी दिइन ।

महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सरबाट हुने मृत्यु पहिलो नम्बरमा पर्छ भने क्यान्सर हुनेमध्ये ६० प्रतिशतको मृत्यु हुने तथ्यांकले देखाएको छ । यो यस्तो क्यान्सर हो जुन पहिले नै खोप दिएर यसबाट बच्न सकिन्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा

छुटेका बालबालिकालाई खोप लगाइँदै

छुटेका बालबालिकालाई खोप लगाइँदै