विश्व एड्स दिवसः नेपालमा एड्सबाट हुने मृत्यु ८५ प्रतिशतले घट्यो

हेल्थ टिभी अनलाइन : नेपालमा एड्सबाट हुने मृत्युदरमा उल्लेखनीय रुपमा कमी आएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा सर्वेश शर्माका अनुसार नेपालमा सन् २०१० को तुलनामा एड्सबाट हुने मृत्यु दरमा ८५ प्रतिशतले कमी आएको हो । सन् २०१० मा १ हजार ७ सय जनाको एड्सका कारण मृत्यु भएकोमा सन् २०२३ मा २६१ जनाको मृत्यु भएको पाइएको छ ।
यसैगरी उनले एचआइभीको नयाँ संक्रमण रोक्न पनि नेपाल धेरै हदसम्म सफल भएको भन्दै नयाँ संक्रमण दर सन् २०१० को तुलनामा ७८ प्रतिशतले कम र सन् २००० को तुलनामा ९१ प्रतिशतले कम भएको बताए । यसैगरी १ देखि १४ वर्ष उमेर समूहका बालबालिकामा हुने संक्रमणमा पनि उल्लेख रुपमा कमी आएको छ । सन् २०१० मा २२२ जना बच्चाहरुमा नयाँ संक्रमण भएकोमा सन् २०२३ मा जम्मा ४८ जना बच्चाहरुमा संक्रमण भएको अनुमान गरिएको छ । यो भनेको ७८ प्रतिशतले घटेको हो ।
विश्व एड्स दिवसको अवसरमा केन्द्रले काठमाडौंमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रमका प्रमुख अतिथी स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एचआइभी संक्रमण नियन्त्रणका क्षेत्रमा नेपालले ठूलो उपलब्धी हासिल गरेको भन्दै अझै पनि यसमा देखिएका चुनौतीहरु पत्ता लगाएर समाधानको बाटोतर्फ जानपर्ने बताए । उनले नयाँ संक्रमण दर ७८ प्रतिशतले र मृत्युदर ८५ प्रतिशतमा झार्न मन्त्रालय मात्र नभएर समूदाय, स्वास्थ्यकर्मी, सरोकारवाला संघसंस्था तथा बिरामीको पनि ठूलो भूमिका रहेको बताए । उनले यो उपलब्धीलाई कायम राख्न सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको समेत जिकीर गरे ।
यसैगरी कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा विकास देवकोटाले एचआइभी संक्रमण नियन्त्रण गर्न समूदायमा आधारित कार्यक्रमहरु बढी प्रभावकारी देखिएको र उनीहरुको सक्रियता अझ बढी चाहिएको बताए । उनले संयुक्त रुपमा गरिएको कार्यक्रममध्ये एचआइभी नियन्त्रण कार्यक्रम नमुना कार्यक्रम रहेको भन्दै समूदायको पनि सहभागितासहितको कार्यक्रम आगामी दिनमा पनि गरिने जनाए । यसैगरी कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधी डा राजेश सम्भाजीराव पाण्डवले नेपालमा एचआइभी संक्रमण रोक्न निकै राम्रो काम भएको भए पनि अझै पनि समाजमा लान्छना तथा भेदभाव रहेको बताएका थिए । त्यसलाई कम गर्न पनि काम गर्नपर्नेमा उनले जोड दिए ।
नेपालमा सन् २०२३ को अन्त्यसम्म नेपालमा ३० हजार ३ सय व्यक्तिहरुमा एचआइभी संत्रमण भएको अनुमान गरिएको छ । सन् २०२३ अर्थात एक वर्षमा ४५७ जनामा नयाँ संक्रमण पुष्टि भएको थियो । कुल संक्रमितमध्ये २४ हजार ७९३ जना एन्टीरेट्रोभाइरल एआरभी उपचार लिइरहेका छन् । नेपालमा सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यलाई हासिल गर्न ९५ : ९५ : ९५ र एचआइभीको जाँच र उपचारको रणनितिमा आधारित भएर एचआइभी तथा एड्स कार्यक्रम संचालन भइरहेको छ ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा