कान्ति बाल अस्पतालमा काठमाडौं महानगरपालिकाले मोडुलर अपरेसन थियटर निर्माण गरिदिने

कान्ति बाल अस्पतालमा काठमाडौं महानगरपालिकाले मोडुलर अपरेसन थियटर निर्माण गरिदिने

हेल्थ टिभी अनलाइन : काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पतालमा मोडुलर अपरेसन थियटर निर्माण गरिदिने भएकोछ । सोमबार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र अस्पतालका निर्देशक पंकज रायले निर्माण तथा उपकरण जडान सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।

आधारभूत र आकस्मिक स्वास्थ्य सेवालाई सरल, सहज, पारदर्शी र पहुँच योग्य बनाउन आन्तरिक क्षमतासँगै अन्य सरकारी स्वास्थ्य सेवाको क्षमता बढाउन सहकार्य गरिएको हो । चालु आर्थिक वर्षमा कान्ति बाल अस्पतालसँगको सहकार्यका लागि ५ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । महानगरबासीको सरल पहुँचमा स्वास्थ्य सेवा विस्तारसँगै समय समयमा आउने विश्वव्यापी महामारीका जोखिमको प्रतिकार्य, रोकथाम र पुनःस्थापनाका लागि समन्वयात्मक काम गर्नु सम्झौताको उद्देश्य हो ।

सम्झौताबमोजिम अस्पतालले मोडुलर अपरेशन थियटर बनाउन लागत अनुमान तयार पार्नेछ । सम्झौतामा उल्लेख भएको ५ करोड ५० लाख रुपैयाँभन्दा धेरै लागत आएमा त्यसको दायित्व अस्पतालकै हुनेछ । लागत र डिजाइनका आधारमा खुला बोलपत्र आव्हान गर्ने, मूल्याङ्कन गर्ने, निर्माण पक्ष छनोट गर्ने र निर्माण कार्य गराउने दायित्व अस्पतालको हुनेछ । महानगरपालिकाले प्रगतिका आधारमा बढीमा ३ किस्तामा सम्झौताबमोजिमको रकम उपलब्ध गराउनेछ । यसरी रकम उपलब्ध गराउँदा नेपाल सरकार वा अन्य निकायबाट प्राप्त रकमसँगा दोहोरो नहुने सुनिश्चित गर्नेछ । यसरी उपलब्ध गराएको रकमबाट निर्माण हुने संरचनाको अनुगमन गर्नेछ ।

अस्पतालले आयोजनाको पारदर्शिताका लागि सूचना बोर्ड राख्नु पर्नेछ । निर्माणका लागि अन्य निकायबाट अनुदान वा सहयोग रकम उपलब्ध भएमा त्यसको विवरण महानगरपालिकामा बुझाउनु पर्नेछ । प्रचलित पद्धतिको पालना गरेर वेरुजु नहुने गरी काम गर्नु पर्नेछ । यसबाट कुनै प्रकारको वेरुजु देखिए यसलाई फस्र्योट गर्ने दायित्व अस्पतालकै हुनेछ । यस्तै अन्तिम लेखा परीक्षण गराएर रकम उपयोगलाई चुस्त बनाउनुपर्नेछ । निर्माण तथा उपकरण जडान कार्य २०८२ ज्येष्ठ मसान्तभित्र सम्पन्न गर्नुपर्नेछ ।

हस्ताक्षरपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले, महानगरबासीप्रति महानगरपालिकाले पूरा गर्नु पर्ने स्वास्थ्य सेवाको पहुँच सम्बन्धी दायित्व पूरा गरिएको बताए । यस्तै महानगरका स्वास्थ्य सल्लाहकार डा.जगदीश प्रसाद अग्रवालले बाल रोगको उपचारका लागि महानगरबासीले विशेष सहुलियत प्राप्त गर्ने बताए ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा