यसकारण गर्न पाउँदैन चुरोट कम्पनीले कार्यक्रम प्रायोजन, गरेमा के छ सजायँ ?

हेल्थ टिभी अनलाइन : यतिबेला सुर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनी सूर्य नेपालले कानून विपरित पोखरामा फागुन ३ देखि ७ गतेसम्म हुन लागेको साहित्यक सम्मेलन ‘नेपाल लिट्रेचर फेस्टिभल २०२४’ प्रायोजन गरेको सबैतिर आलोचना भइरहेको छ । मुख्य प्रायोजक नै सूर्य टोबाको भएको ब्यानर तथा पोस्टरहरु जताततै आउन थालेपछि सरोकारवालाहरुले विरोध गरेका हुन् । अब यहाँ चर्चा गरौं किन पाउँदैन त चुरोट कम्पनीले कार्यक्रम प्रायोजन गर्न ? हेरौं कानूनमा के छ ?
सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ को दफा १० मा विज्ञापन तथा प्रायोजन गर्न नपाइने भनेर स्पष्ट रुपमा उल्लेख छ । जहाँ भनिएको छ, ‘उत्पादक लगायत कसैले पनि पत्रपत्रिका तथा रेडियो, टेलिभिजन, एफएम, इन्टरनेट, ईमेल जस्ता विद्युतीय सञ्चार माध्यम,अन्तरक्रिया कार्यक्रम, होर्डिङ्ग बोर्ड, भित्तेलेखन, लोगो, सङ्केत, लेख, दृश्य, आवाज, चिन्ह, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट सूर्तिजन्य पदार्थको विज्ञापन वा प्रवर्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाउने छैन ।’ यहाँ अन्तरक्रिया कार्यक्रममा पनि सुर्ती कम्पनीका स्पष्ट उल्लेख भएका, लोगो र चिह्न वा संकेत समेत प्रयोग गर्न रोक लगाइएको स्पष्ट रुपमा उल्लेख छ ।
यसैगरी प्रायोजन भन्ने शब्दलाई सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ ले अझ प्रष्ट पारेको छ । जहाँ भनिएको छ, प्रायोजन भन्नाले सूर्तिजन्य पदार्थको उत्पादन, आयात, बिक्रीवितरण तथा सेवन कार्यलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपले प्रबद्र्धन एवं विज्ञापन हुने गरी कुनै गतिबिधि, क्रियाकलाप वा कार्यक्रम संचालन गर्नु वा व्यक्तिगत रुपबाट त्यस्तो गतिबिधिलाई सकारात्मक योगदान पुर्याउने कार्य सम्झनु पर्छ, भन्ने उल्लेख छ । यसैगरी जनस्वास्थ्यका लागि हानिकारक वस्तु उत्पादकलाई संस्थागत सामाजिक उत्तरदायित्वका नाममा काम गर्न समेत रोक लगाइएको छ।
यदि यो कानूनको अटेर गरेर आफनो कम्पनीको विज्ञापन तथा प्रायोजन गर्न खोजेमा ऐनको दफा १७ को उपदफा ग बमोजिम उक्त कम्पनी विरुद्ध मुदा दायर गर्न सकिने र एक लाखसम्म जरिवाना हुने व्यवस्था समेत ऐनमा उल्लेख छ ।परराष्ट्र मन्त्रालयका कानून उपसचिव पुस्करराज नेपाल भन्छन्, ‘कानूनभन्दा माथि कोही छैन् यदि कसैले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन विपरित काम गर्छ भने उ सजायँको भागिदार हुनैपर्छै ।’ यो सरासर कानून विपरितको काम भएकाले आयोजक संस्थाले यस्तो सहयोग स्विकार्न नहुने पनि उनले जिकीर गरे ।
स्मरण रहोस, सूर्तिजन्य पदार्थको सेवनका कारण हुन क्यान्सर लगायतका रोगबाट नेपालमा हरेक वर्ष ३७ हजार पाँच सय व्यक्तिको अल्पआयुमै मृत्यु हुन्छ । जुन नेपालमा हुने कुल मृत्युको झण्डै १९.४% हो ।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने