अटिजमका क्षेत्रमा काम गर्ने सेवा प्रदायकहरूको भेला सम्पन्न

हेल्थ टिभी अनलाइन : अटिजमका क्षेत्रमा काम गर्ने नेपालका सेवा प्रदायकहरुको भेला काठमाडौंमा सम्पन्न भएको छ । शनिबार काठमाडौंको नक्साल स्थित नियो हेल्थ क्लिनिकमा अटिजम सम्बन्धी काम गर्ने नेपालका सेवा प्रदायकहरूको भेला सम्पन्न भएको हो ।
अटिजमका क्षेत्रमा काम गर्ने विभिन्न निकायहरू बीच राम्रो सञ्चार, स्रोत साझेदारी र समन्वयलाई सक्षम पार्न एक संघको स्थापनाको महत्त्वलाई मध्यनजर गर्दै भेला गरिएको कार्यक्रम संयोजक तथा नियो हेल्थ क्लिनिकका बाल विशेषज्ञ फिजियोथेरापिष्ट समिद कतिला श्रेष्ठले जानकारी दिए ।
भेलामा नेपालकै पहिलो अटिजम सम्बन्धी संस्था नेपाल अटिजम केयर सोसाईटी , सेन्टर फर अटिजम, नियो हेल्थ क्लिनिक, नियो चाईल्ड केयर सेन्टर, अभानी फाउन्डेसन, होप, ब्लुम पार्क क्लिनिक, एसईआरसी, एसएसडीआरसी , विराटनगरको आरम्भ, आकार फाउन्डेसन, अर्किड ,कान्ति बाल अस्पताल लगायत ३४ वटा संस्थाको सहभागिता रहेको थियो भने देशभरीवाट ६४ संस्थाको नाम आएको थियो। भेलाबाट हाल काठमाडौंबाहिर पनि अटिजम सम्बन्धी केही केन्द्रहरु खुलेको जानकारी आएको थियो ।
यस भेलामा अटिजममा सेवा दिने क्लिनिक, अस्पताल, फाउन्डेसन, विशेष विद्यालयहरू, परामर्श केन्द्रहरूका प्रतिनिधिहरू उपस्थित थिए । अटिजम सेवा प्रदायकहरू बीच एक एकीकृत संघ वा समुह हुनुपर्ने उद्देश्य यस बैठकको थियो ।
छलफलले सेवाहरूको वृद्धि, अटिजमको शिघ्र पहिचान र अभिभावकहरुको शसक्तीकरण गर्न संगठित रुपमा सबै आउनु पर्ने पनि प्रस्टायो। संघ स्थापना गरेर सेवा प्रदायकहरूले अटिजम भएका व्यक्तिहरू र उनीहरूका परिवारहरूले सामना गर्ने चुनौतीहरूलाई व्यापक रूपमा सम्बोधन गर्न सक्ने सहयोगी नेटवर्क सिर्जना गर्ने लक्ष्य राखेको संयोजक समिदले जनाए ।
बैठकले यस क्षेत्रमा सामुहिक काम गर्न, सरकार समक्ष आफ्ना कुराहरु राख्न , एक अर्कालाई सहयोग गर्न, अटिजमकाबारेमा अनुसन्धान गर्न र अटिजममा विश्वका अरु देशहरुमा के भईरहेको छ त्यसलाई नेपालमा अभ्यास गर्न पनि एकजुट भएर एउटा छाता संस्था स्थापना जरुरी रहेको निस्कर्ष निकालेको थियो । यसका साथै अब एक महिनापछि अर्को बैठक बसी सो बैठकले कार्यसमिति तय गर्ने पनि निर्णय भएको पनि जनाइएको छ ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा