Health TV Online
Health TV Online

सार्वजनिक स्थलमा ‘नो स्मोकिङ प्लिज’

सुर्तीजन्य पदार्थकाे सेवन र विक्रीमा कडाई गर्दै ललितपुर महानगर

सार्वजनिक स्थलमा ‘नो स्मोकिङ प्लिज’

 

हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुर महानगरपालिले आफ्नो महानगरमा सुर्तीजन्य पदार्थ नियन्त्रण गर्दै यसको विक्री वितरण र सेवनमा कडाई गर्न थालेको छ । महानगरले त्यसका लागि ललितपुर नगर प्रहरीलाई जिम्मेवारी समेत दिएको छ । जसले गर्दा उनीहरु मुख्य मुख्य सार्वजनिक स्थलमा २४ घण्टा नै खटिएका छन् । यसरी खटिएका नगर प्रहरीले कसैले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन गरेको देखेमा उनीहरुलाई सो सेवन नगर्न र यो क्षेत्र सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र रहेकोले ‘नो स्मोकिङ प्लिज’ भन्दै सम्झाउने गरेका छन् ।

ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले आफूहरुले अहिले ५ मुख्य सार्वजनिक स्थानमा कडाईका साथ सुर्तीजन्य पदार्थको विक्री वितरण र सेवनलाई रोकेको बताए । उनले भने, ‘ललितपुरमा धेरै सम्पदा क्षेत्रहरु छन् ती क्षेत्रमा हामीले सुर्तीजन्य पदार्थ पूर्ण रुपमा निषेध गरेका छौं । यसैगरी मानिसहरुको बढी नै भिडभाड हुने बसपार्क, पार्क, मठमन्दिर लगायतका क्षेत्रमा पनि सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि नो स्मोकिङको सूचना टाँस्ने मात्र हैन त्यहाँ नगर प्रहरी नै खटाएका छौं । जसले गर्दा अहिले त यी स्थानमा सुर्तीजन्य पदार्थको विक्रीवितरण र सेवन निकै कम भएको छ ।’ उनले ललितपुरलाई हेल्दी सिटी बनाउने आफनो लक्ष्य अनुरुप सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने कानूनको कार्यान्वयनमा जोड दिएको जिकीर गरे ।

ललितपुर नगर प्रहरी प्रमुख सिताराम हाछेथुले आफू स्वयम नै सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि खटिएको भन्दै पहिलेको तुलनामा अहिले यसको सेवन गर्नेको संख्या कम हुँदै गएको बताए । उनले पाटन दरबार स्क्वायर सम्पदा क्षेत्रमा २४ घण्टा नै नगर प्रहरी खटिने गरेको बताए । यसैगरी मुख्य गरी धेरै मानिसहरु जमघट हुने स्थानमा गएर धुम्रपान निषेधित सूचना टाँस्ने, बेला बेलामा माइकिङ गर्ने तथा यदि कसैले सेवन गरेको पाइएमा उनीहरुलाई सम्झाएर पठाउने गरेको बताए । ठाउँ ठाउँमा नो स्मोकिङको बोर्ड राखिएकाले धेरैलाई अब त जानकारी पनि भइसक्यो यहाँ खान हुन्न भन्ने उनले थपे । त्यसो त ललितपुर महानगरले पार्कहरुमा पनि ठूला ठूला बोर्डहरु राखेको छ । जसमा ‘नो स्मोकिङ’ भनेर लेखिएको छ । बोर्ड देखपछि धेरै जना आफै सजग हुन थालेको उनको भनाई छ ।

हाछेथुले पहिले र अहिले निकै फरक पाएको बताए । पहिले पहिले जहाँ पायो त्यही सुर्ती मोलेको, चुरोट सल्काएको देखिनथ्यो तर अहिले त कसैले खानै परे पनि यताउता हेरेर कसैले देखेको त छैन् भनेर मात्र चुरोट सल्काउने हिम्मत गर्छन । वा कुनातिर गएर खान्छन् । यो शायद हाम्रो बारम्बारको निगरानीले होला, उनले भने । उनले आफूहरुले सिधै कारवाही गर्ने भन्दा पनि धेरै जसो सम्झाएर यसको सेवन गर्न हुँदैन र सार्वजनिक स्थलमा त झनै सेवन गर्ने पाइँदैन भनेर ‘नो स्मोकिङ प्लिज’ भनेर पठाउने गरेको जनाए । यो आफैले मनन गर्नुपर्ने विषय भएकाले हामी सकेसम्म उहाँहरुलाई नै मनन गराउन खोजिरहेका छौं, उनले थपे ।

ललितपुरमा सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि हाछेथु आफै फिल्डमा उत्रिने गरेका छन् । उनी कहिले सार्वजनिक बसहरुमा ‘नो स्मोकिङ’ को स्टिकर टाँसिरहेका देखिन्छन् त कहिले विद्यालयका गेटमा गएर स्टिकर टाँसिरहेका हुन्छन् । उनी भन्छन, ‘मेरो आमा बुवालाई चुरोटका कारण क्यान्सर भयो र मैले उहाँहरुलाई गुमाउन पुगे । त्यसैले पनि यसको नियन्त्रणमा म अझ बढी सक्रिय भएर लाग्छु । म चाहन्न की म जस्तै अरुहरुले पनि चुरोटकै कारण लाग्ने रोगबाट आफनो आमा बुवा गुमाउन परोस्।’ अर्को कुरा देशमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन छ जसले यसको नियन्त्रण गर्न स्पस्ट उल्लेख गरेको छ । त्यसैले पनि हामी सबैले यो कानून मान्नैपर्छ । कानून थाहा छैन भनेर माफी हुँदैन् ।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन -२०६८ अनुसार सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन तथा विक्री वितरण गर्न पाइँदैन् । यसका साथै मठमन्दिर, स्कूल, स्वास्थ्य संस्था लगायतको सय मिटर वरपर यसको सेवन र विक्री वितरणलाई पनि यो कानूनले रोक लगाएको छ ।

नेपालमा सुर्तीजन्य पदार्थ नियनत्रण सम्बन्धी कानून आएको १२ वर्ष बितिसक्दा पनि यो कानूनको कार्यान्वयन पक्ष भने अत्यन्त फितलो हुँदा देशमा सुर्तीजन्य पदार्थ  नियन्त्रण हुन सकेको छैन् । यहीवीच ललितपुर महानगरले नगर प्रहरी परिचालन गरेर यसको नियन्त्रणमा गरेको कदमको सराहना गर्न सकिन्छ ।

नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण हुने क्यान्सर लगायतका रोगबाट वर्षेनी २७ हजार बढी मानिसको मृत्यु हुने गरेको तथ्यांक छ ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना