Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

क्लिनिक वानमा श्रवणशक्ति नभएका बिरामीका लागि दोभाषेसहितको सेवा

क्लिनिक वानमा श्रवणशक्ति नभएका बिरामीका लागि दोभाषेसहितको सेवा

हेल्थ टिभी अनलाइन \काठमाडौं : क्लिनिक वानमा श्रवणशक्ति नभएका, गुमाएका वा कम श्रवणशक्ति भएका व्यक्तिहरुका लागि दोभाषेसहितको स्वास्थ्य सेवा सुरु भएको छ । क्लिनिक वानले राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघसँग सहकार्य गर्दै उक्त सेवा दिन लागेको हो । क्लिनिक वानमा संघले दोभाषे व्यवस्था गर्ने गरी आज सम्झौता भएको छ । क्लिनिक वानका तर्फबाट प्रबन्ध निर्देशक सन्तोष पौडेल र सिइओ रघु राना र संघको तर्फबाट अध्यक्ष लक्ष्मी देवकोटावीच सेवा दिने विषयमा सम्झौता भएको हो ।

कार्यक्रममा क्लिनिक वानका प्रबन्ध निर्देशक सन्तोष पौडेलले आफूहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत श्रवण क्षमता कम भएका वा नभएका बिरामीका लागि भनेर दोभाषेसहितको स्वास्थ्य सेवा दिन लागेको बताए । उनले श्रवण क्षमता नभएका व्यक्तिलाई आफनो समस्या बताउनका लागि गाह्रो हुने भएकाले उनीहरु कतिपय अवस्थामा सेवा लिनबाट वञ्चित हुने गरेको बताउँदै सोही ग्याप हटाउन क्लिनिक वानले प्रयास गरेको जिकीर गरे ।

यो सेवाबाट सुनाइ सम्बन्धि अपांगता भएका बिरामीहरुले दोभाषेमार्फत चिकित्सकसँग सही परामर्श लिन सक्नेछन् । जसबाट उनीहरुको उपचारमा निकै सहजता आउने र सही उपचार पाउने विश्वास लिएको बताउँछन्  क्लिनिक वानका सिइओ रघु राना । यसका साथै उनीहरुले क्लिनिक वानका सेवाहरुमा ३५ प्रतिशत छुट, प्रयोगशाला परीक्षणमा २५ प्रतिशत छुट, औषधि र खोपमा १० प्रतिशत छुट, संघको सिफारिस पत्र लिएर आएमा क्लिनिक वानको सेवामा १०० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । क्लिनिक वानले यो सेवा ६ वर्षअघिदेखि सुरु गरेको थियो । तर दोभाषे नहुँदा र सम्बन्धित ठाउँमा जानकारी नपुग्दा राम्रोसँग यो सेवा संचालन गर्न गाह्रो भएको थियो । तर, अहिले ती समस्यालाई सम्बोधन गर्दै यो सेवा संघको सहयोगार्थ संचालन गरिएको छ ।

कार्यक्रममा सम्यक डायग्नोस्टिकका अध्यक्ष वरिष्ठ प्याथोलोजिस्ट डा केयुर गौतमले क्लिनिक वानले श्रवण शक्ति नभएका बिरामीलाई लक्षित गरेर सेवा सुरु गरेकोमा धन्यवाद दिंदै यो निकै पुन्यको काम भएको बताए । उनले भने, ‘धेरै जना जो आफनो कुरा भन्न सक्दैनन अब उनीहरुले सहजै दोभाषेमार्फत समस्या बताउन मात्र सक्दैनन् सहजै गुणस्तरीय सेवा समेत पाउने छन् ।’

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार