अस्पतालको गेटमै चुरोट पसल !

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ आएको पनि १२ वर्ष भइसकेको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन, २०६८ नामक उक्त ऐनले सार्वजनिक स्थल जस्तै– अस्पताल विद्यालय, बसपार्क, बाल उद्यान, धर्मशाला, शिशु स्याहार केन्द्र लगायतका स्थानमा सुर्तीजन्य पदार्थ बिक्री वितरण र सेवनमा रोक लगाएको छ। तर यो कानूनको कार्यान्वयन पक्ष अत्यन्त फितलो देखिन्छ । जसका कारण अस्पताल, शिक्षण संस्थाको गेटमै सुर्तीजन्य पदार्थ निस्फिक्री किनवेच भइरहेको देखिन्छ । अस्पतालको गेटैमा धमाधम चुरोट बेच्ने मात्र होइन बिरामी भेट्न आउने आगन्तुदेखि पैदल यात्रुले त्यहीँ किन्छन् र चुरोट सल्काउँदै धुँवा उडाउँदै हिँड्छन्।
राष्ट्रिय स्वास्थ्य सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक तथा टोबाको कन्ट्रोल कार्यक्रमका फोकल पर्सन डा भक्तबहादुर केसीले ऐन अनुसार कुनै पनि स्वास्थ्य संस्था तथा शिक्षण संस्थाको सय मिटर वरपर सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइए पनि सो कानून कार्यान्वयन हुन नसकेको स्विकार गरे । उनले कानून आइसकेको अवस्थामा सम्बन्धित निकायको प्रमुख व्यवस्थापक तोकिएकाले व्यवस्थापकले कारवाही गर्नुपर्ने बताए । व्यवस्थापकले एकपटकलाई सम्झाउने र दोस्रोपटकमा जरिवाना तथा सो स्थानबाट निकाला सम्म गर्न पाउने नियम भए पनि त्यसो गर्न नसकेको जिकीर गरे । उनले सुर्तीजन्य पदार्थ सामूहिक प्रयासबाट मात्र नियन्त्रण हुनसक्नेमा जोड दिए ।
विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार नेपालमा बर्सेनि सुर्तीजन्य पदार्थ सेवनका कारण हुने क्यान्सर लगायतका रोगबाट २७ हजार १३७ जनाले ज्यान गुमाउने गरेको तथ्यांक छ। जुन मृत्युलाई सुर्तीजन्य पदार्थको विक्री वितरण र सेवनमा कम गराएर घटाउन सकिन्छ ।
अहिले काठमाडौं महानगरमा सुर्तीजन्य पदार्थको विक्री वितरणमा केही कडाई गरेका कारण पहिले जस्तो नाङ्लो वा डोकोमा चुरोट बेचेको कमै देखिन्छ । तर बेच्न चाहिं छोडेका छैनन् । सुर्तीजन्य पदार्थ विक्री गर्ने तरिका मात्रै फेरिएको छ । हामी वीर अस्पतालको छेवैको राष्ट्रिय ट्रमा सेन्टर पुग्दा एक जना महिला अस्पतालको गेटमा झोलामा सुर्ती चुरोट, गुट्खा बेचिरहेकी थिइन । हामीले फोटो खिचेको देखेर केही हच्किएकी उनले भनिन, अहिले नाङ्लोमा बेच्न पाइँदैन त्यसैले झोलामा राखेर बेचेकी हुँ । उनले दैनिक ५सय देखि ७ सय सम्मको चुरोट बेच्ने बताइन । त्यसो त उनले बाहिर देखाउने व्यापार भनेको मिनरल वाटर हो । तर सबैभन्दा धेरै बिक्री चाहिं गुट्खा र चुरोट नै हो ।
यी बाहेक वीर अस्पतालको हालत पनि त्यही छ । अस्पतालको गेटको छेउमा मजाले चुरोट किन्न पाइन्छ । कान्ति बाल अस्पताल तथा शुक्रराज ट्रपिकल अस्पतालका सय मिटर वरपरका पसलहरुमा खुलेयाम सुर्तीजन्य पदार्थ बिक्री भइरहेका देखिन्छन्।
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ को परिच्छेद ३ को दफा ११ को उपदफा ३ अनुसार सार्वजनिक स्थलको १०० मिटरभित्र सुर्तीजन्य पदार्थ किनबेच गर्न पाइँदैन। यस्तो पाइएमा सम्बन्धित संस्थाले समेत शुरुमा सम्झाउने र नमानेमा जरिवाना लिन सक्छन्। अस्पतालमा यस्ता सूचना समेत राखिएका छन्। तर त्यही सूचना टाँसिएको स्थानमै यस्ता पसलहरू प्रसस्त छन्।
पाटन अस्पतालको हालत पनि त्यस्तै छ । गेटमै मजाले चुरोट किनिरहेका र सेवन गरिरहेका व्यक्तिहरु देख्न सकिन्छ । अस्पताल जस्तो स्वास्थ्यका हिसाबले पनि अत्यन्त संवेदनशील हातामा सुर्तीजन्य पदार्थ बेच्दा समेत सम्बिन्धत निकायको ध्यान गएको देखिंदैन । जबकि अस्पताल स्वयंले यस्ता व्यक्तिलाई त्यहाँबाट निकाल्न सक्ने र सजाय दिन सक्ने ऐनमा उल्लेख छ। अस्पतालको छेवैमा पसल गर्दै आएकी पसलेले डाक्टरहरूले नै चुरोट, ग्ट्खा किनेर लाने गरेको सुनाइन ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको गेटमा पनि सुर्तीजन्य पदार्थ किन्नेहरू उत्तिकै देखिन्छन् । अस्पतालमा बिरामी भेट्न आउनेहरूले बढी किन्ने गरेको पसलेको अनुभव छ। ऐनबारे थाहा भए पनि आफूहरूलाई अहिलेसम्म कसैले यसरी नबेच नभनेको बताउँछन् उनीहरू।
अधिकांस अस्पतालको छेवैमा यसरी चुरोट बेचिन्छ र सेवन गरिन्छ । तर सम्बन्धित निकायको आँखा अझै पनि पुग्न नसक्नु विडम्बना हो
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति