नेपालमा क्यान्सर कहर: उपचारका लागि घरखेत बेच्न बाध्य बिरामी

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण हुने क्यान्सरका बिरामी उपचारका लागि आफनो घरखेत बेच्न बाध्य भएको पाइएको छ । एक्सन नेपालले हालसालै गरेको सुर्तीजन्य पदार्थको सेवनबाट हुने क्यान्सर रोगको निदान तथा उपचार सेवामा आउनेको आर्थिक भार सम्बन्धी अध्ययनले यस्तो देखाएको हो । सो अध्ययन अनुसार नेपालमा १६ प्रतिशत क्यान्सरका बिरामीले उपचारका लागि आफनो भोगचलन गर्दै आएको घरखेत बेच्ने गरेका छन् भने झण्डै ६० प्रतिशत बिरामीले आफन्त वा अरुसँग ऋण लिएर उपचार गराउने गर्छन । यसैगरी २७ दशमलब २ प्रतिशत बिरामीले घरायसी बचतबाट उपचार खर्च व्यहोर्ने गरेको उक्त अध्ययनले देखाएको छ ।
यसैगरी यसको उपचारको आम्दानीको स्रोतकै कुरा गर्दा सुर्तीजन्य पदार्थको सेवनबाट क्यान्सर भएपछि त्यसको निदान तथा उपचारका लागि लाग्ने खर्चको प्रमुख स्रोतमा कृषि ४२ दशमलब ७ प्रतिशत, व्यापार २२दशमलब ३ प्रतिशत, दैनिक ज्याला मजदुरी ११दशमलब ७ प्रतिशत, सरकारी सेवा ८ दशमलब ७ प्रतिशत र वैदेशिक रोजगार ८ दशमलब ७ प्रतिशत रहेको पाइएको छ ।
उक्त अध्ययन अनुसार सुर्तीजन्य पदार्थको सेवनले गर्दा हुने क्यान्सर रोगको पहिचान तथा उपचार गर्न लाग्ने औषत कुल लागत रु ९ लाख ८१ हजार ३ सय ७० रहेको पाइएको छ । जस मध्ये ६० प्रतिशत प्रत्यक्ष मेडिकल खर्च रहेको भेटियो भने १३ प्रतिशत नन मेडिकल लागत रहेको पाइएको छ । तर बढी खर्च गर्ने क्षमता भएका बिरामीले कम खर्च गर्ने क्षमता भएका बिरामीको तुलनामा झण्डै ४ गुणा बढी उपचारमा खर्च गर्ने गरेको पाइएको छ । प्रत्यक्ष मेडिकल खर्च अन्तर्गत सबै भन्दा बढी खर्च केमोथेरापीमा २८ प्रतिशत रहेको अध्ययनमा उल्लेख छ ।
यसैगरी नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण हुने क्यान्सर धनीलाई भन्दा बढी गरिबलाई देखिएको छ । अध्ययन अनुसार नेपालमा सुर्तीजन्य पदार्थबाट हुने क्यान्सरबाट प्रभावित बिरामीमध्ये ४६ प्रतिशत निरक्षर रहेका छन्। जबकी १ दशमलब ९ प्रतिशत बिरामीले मात्र उच्च शिक्षा हासिल गरेको पाइयो ।
एक्सन नेपालले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पताल र नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा भर्ना भई उपचार गराइरहेका र डिस्चार्ज भएका १०३ जना बिरामीमा अनुसन्धान गरेको हो । यसमा १८ देखि ६५ वर्ष उमेर समूहका बिरामी सामेल थिए । सुर्तीजन्य पदार्थको सेवनका कारण हुने ओठ, जिब्रो, गिंजा, मुख, श्वरयन्त्र, श्वासनली, पिसाब थैली लगायतका क्यान्सरका बिरामी जो तेस्रो तथा चौंथो उपचार गराइरहेका थिए, उनीहरुमा अनुसन्धान गरिएको हो ।
यो अध्ययनका अनुसार नेपालमा सुर्तीजन्य पदार्थको सेवनले गर्दा हुने क्यान्सरको आर्थिक भार अत्यधिक देखाएको छ । सबै खालका क्यान्सरको उपचारको लागि सरकारले एक लाख रुपैयाँ अनुदान सहयोग गर्ने गरेको भए पनि यो अपुग भएको देखिन्छ । सरकारले दिने यो एक लाख रुपैयाँ बिरामीको उपचारमा अत्यन्त कम हो । त्यसैले क्यान्सर उपचारमा लाग्ने खर्चको लागि गरिब तथा आर्थिक अवस्था कमजोर भएका बिरामीलाई राहत पुग्ने गरी अनुदानको रकम बढाउन अनुसन्धानकर्तामध्ये एक आनन्द बहादुर चन्दको माग छ ।
साथै नेपालमा सुर्तीजन्य पदार्थमा लाग्ने कर अत्यन्त कम ३३ प्रतिशतभन्दा कम भएकाले उक्त कर विश्व स्वास्थ्य संगठनले सिफारिस गरे बमोजिमको ७५ प्रतिशत वृद्धि गर्न पर्नेमा उनले जोड दिएका छन्। उनले भने, ‘जबसम्म सुर्तीजन्य पदार्थमा कर बढाइँदैन, तबसम्म यसको सेवन गर्नेहरूको दर पनि कम हुँदैन् र यसबाट हुने क्यान्सर पनि कम हुन गाह्रो छ ।’
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु