अँगालोको न्यानोपना र घामको तापको प्रभाव खोज्ने वैज्ञानिकलाई नोबेल पुरस्कार

हेल्थ टिभी अनलाइन: हाम्रो शरीरले कसरी घामको न्यानो वा माया गर्ने मानिसको अँगालोको न्यानोपना महसुस गर्छ भनेर पत्ता लगाउने वैज्ञानिकहरूले चिकित्सा विज्ञानको नोबेल पुरस्कार जितेका छन्।
अमेरिकी डेभिड जुलियस र आर्डेम पाटापौटियनले शरिरले मानव स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियामा गरेको कार्यका लागि सन् २०२१ को लागि नोबेल पुरस्कार जितेका हुन्।
उनीहरूले हाम्रो शरीरले कसरी शारीरिक स्पर्शलाई स्नायु प्रणालीमा विद्युतीय सन्देशका रूपमा परिवर्तन गर्छ भन्ने बारे अध्ययन गरेका हुन्। यो खोज दुखाइ निदान गर्ने उपचारका लागि महत्त्वपूर्ण हुने बताइएको छ।
नोबेल पुरस्कार कमिटीका थोमस पर्लम्यानले यो अत्यन्तै महत्त्वपूर्ण र गहिरो खोजू भएको बताएका छन्।
क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक जुलियसले हामीले पिरो खुर्सानी खाँदा किन पोलेको महसुस गर्छौँ भन्ने विषयमा अध्ययन गरेका थिए। उनले खुर्सानीलाई पिरो बनाउने रसायनको अध्ययन गरेका थिए।
उनले हाम्रो शरीरका कोषका एक विशेष प्रकारको अंशले त्यो रसायनसँग प्रतिक्रिया गर्दा हामीलाई पोल्ने कुरा पत्ता लगाए। थप परीक्षणमा त्यही अंशले तापक्रमसँग प्रतिक्रिया जनाउने र पोल्ने तापक्रम हुँदा सक्रिय बन्ने उनले पत्ता लगाए। हामीले तातो चियामा हात हाल्दा यही अंश सक्रिय हुन्छ र हामीलाई पोलेको अनुभव हुन्छ।
यो खोजपछि तापक्रमसँग प्रतिक्रिया गर्ने अन्य कोषका अंशहरूको खोजी भयो। जुलियस र प्राध्यापक पाटापौटियनले चिसो हुँदा सक्रिय हुने अंश पनि पत्ता लगाए। त्यस्तै पाटापौटियनले अर्को अध्ययन पनि गरिरहेका थिए।
उनको अध्ययनले फरक खालका तर कुनै भौतिक दबाव वा स्पर्शले सक्रिय हुने कोषको अंश पत्ता लगाए। पुरस्कार कमिटीले उनीहरूको कार्यले हामीलाई हाम्रो स्नायु प्रणालीले कसरी तातो, चिसो वा भौतिक दबाव बुझ्न र त्यसका आधारमा वातावरणमा मिल्न सघाउँछू भन्ने देखाएको बताएको छ। यो ज्ञानले दुखाइ कम गर्ने उपचारमा सहयोग पुग्ने विश्वास कमिटीको छ।
पुरस्कृत जोडीले एक करोड स्वीडीश क्रोनर वा आठ लाख ४५ हजार पाउन्ड रकम प्राप्त गर्नेछन्।
बीबीसीबाट
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights
नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न