Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

शरीरमा अक्सिजनको मात्रा घट्न नदिन के गर्ने ?

शरीरमा अक्सिजनको मात्रा घट्न नदिन के गर्ने ?

देवेन्द्र मोय श्रेष्ठ

विश्वमा हाल कोरोना भाइरसको संक्रमण तिब्र गतिले फैलँदैछ। नेपालमा पनि कोरोना संक्रमणको दोस्रो लहरसँगै संक्रमितहरूको संख्या दिनानुदिन बढ्दो छ। यससँगै बिरामीहरुमा श्वास फेर्न गाह्रो हुने, शरीरमा अक्सिजन स्याचुरेसन लेबल घट्ने जस्ता लक्षणहरू साधारण रूपमा देखिन थालेको छ ।

अक्सिजन स्याचुरेसन लेबल भन्नाले के बुझिन्छ ?
अक्सिजन लेबल भन्नाले हाम्रो रगतमा अक्सिजनको मात्रा भन्ने बुझिन्छ, जुन ९४ प्रतिशत भन्दा माथि भएमा सामान्य मानिन्छ। कोरोना संक्रमितमा अक्सिजनको लेबल घटनुलाई रोगको गम्भीरताको सूचकको रूपमा लिइन्छ। यदि बिरामीको अक्सिजनको लेबल  ९१ देखि ९४ प्रतिशतको बीचमा छ भने त्यस्तो बिरामीलाई हामीले निगरानीमा राख्नुपर्छ। अक्सिजनको लेबल ९१ प्रतिशत भन्दा कम हुन गएमा अथवा ९१ बाट निरन्तर घटि रहेमा अविलम्ब चिकित्सकको सल्लाह लिन आवश्यक हुन्छ।

अक्सिजनको लेबल कसरी नाप्ने ?
हाम्रो शरीरको ब्लड प्रेसर र तापमान नापेजस्तै हाम्रो रगतको अक्सिजनको लेबल पनि नाप्न सकिन्छ। यसलाई नाप्ने उपकरणलाई पल्स अक्सिमिटर भनिन्छ। यस उपकरणलाई हातको अथवा खुट्टाको औंलामा र कानको लोतीमा लगाउन रगतको अक्सिजन लेबल नाप्न सकिन्छ।

रगतमा अक्सिजनको लेबल कम हुँदा के के लक्षणहरू देखिन्छ :
कसै कसैमा अक्सिजनको लेबल कम हुँदा कुनै पनि लक्षणहरू नदेखिन सक्छ। तर यदि लक्षणहरू देखिएमा यसलाई चेतावनीको संकेतको रूपमा लिनुपर्छ र तुरुन्त चिकित्सकको सहायता लिनुपर्छ।
लक्षणहरू:
१ . श्वास फेर्न गाह्रो हुनु, स्या- स्या बढ्नु
२ . छाती भारी हुनु
३.  छाती दुख्नु
४.  निरन्तर खोकी लाग्नु
५.  ओठ अथवा अनुहार निलो हुनु
६.  बेचैनी बढ्नु
७.  टाउको दुख्नु
८.  बच्चामा श्वास फेर्दै घ्यार- घ्यार आउनु, खान र पिउन गाह्रो हुनु

अक्सिजनको लेबल घट्न नदिनको लागि के  के गर्नु पर्छ ?
रगतमा अक्सिजनको लेबल घट्न नदिनको लागि निम्न अनुसारका कसरतहरु गर्न सकिन्छ।

शारीरिक व्यायाम
छाती र मुटुलाई विशेष लक्ष्य गरी गरिने व्यायामहरू जस्तै छिटो हिंड्ने, दौडिने, भर्याङ चढने, उफ्रने, नाच्ने, डोरी खेल्ने, प्राणायाम आदि जस्ता कसरतहरु गर्नु राम्रो हुन्छ। यस्ता कसरतहरु गर्दा आफ्नो उमेर र शारीरिक क्षमतालाई ध्यानमा राखेर दैनिक २० देखि ४० मिनेट सम्म गर्न सकिन्छ।
श्वासप्रश्वासका व्यायामहरू:
Pursed – lip breathing: ( परस्ड लिप ब्रेदिङ)

यस कसरतलाई हामीले उठेर, बसेर अथवा उतानो सुतेर गर्न सकिन्छ। एउटा हातलाई पेटमा र अर्कोलाई छातीमा राख्ने। नाकबाट २ देखि ३ सेकेण्ड लगाएर श्वास भित्र तान्ने। श्वास भित्र गएसँगै आफ्नो पेट र छाती फुलेको महसूस गर्ने ९ छाती भन्दा पेट बढी फुल्नु पर्छ० । त्यसपश्चात आफ्नो ओठलाई चुचो पारेर बिस्तारै ४ देखि ५ सेकेण्ड लगाएर श्वासलाई बाहिर फाल्ने। यस प्रक्रियालाई ४ देखि ५ मिनेट सम्म दोहोर्याउने र दिनमा ३ र ४ चोटी गर्ने।

Incentive spirometry  (इनटेन्सिभ स्पाइरोमिटर)
तल चित्रमा देखाइएको उपकरणलाई इन्टेन्सिभ स्पाइरोमिटर भनिन्छ। यस उपकरणमा ३ वटा सान सानो बलहरु हुन्छ र एउटा सानो पाइप जोडिएको हुन्छ। पाइपलाई आफ्नो मुखमा जोडेर श्वासप्रश्वासको कसरत गर्न सकिन्छ। कसरत गर्नका लागि कुर्सीमा ढाड सीधा पारेर बस्ने। उपकरणलाई आफ्नो आँखाको स्तर सम्म उचालेर एक हातले समाउने र अर्को हातले पाइपलाई आफ्नो मुखमा जोड्ने। बिस्तारै श्वास पूर्ण रूपले बाहिर फाल्ने । त्यसपछि आफ्नो मुखबाट बिस्तारै श्वास भित्र तान्ने। श्वास भित्र तान्नेसँगै उपकरणमा रहेका बलहरु एक एक गर्दै माथि उठ्न थाल्छ। सके सम्म ३ वटै बलहरुलाई माथि उठाउन र सक्दो लामो समयसम्म माथि उठाई राख्न कोसिस गर्नुपर्छ। यस प्रक्रियालाई १० र १५ पटक दोहोर्याउने र दिनमा ३ र ४ पटक गर्ने।

Thoracic expansion exercise (थोरासिक एक्पान्सन एक्सरसाइज)

यस कसरतलाई हामीले कुर्सीमा बसेर गर्न सकिन्छ। कुर्सीमा आफ्नो ढाडलाई सिधा पारेर आरामले बस्ने। बिस्तारै आफ्नो नाकले स्वास भित्र तान्दै आफ्ना दुवै हातहरुलाई सिधा पारेर तलबाट माथि तिर लिएर जाने र संगसंगै आफ्नो टाउको र ढाडलाइ माथितिर तन्काउने।। हामीले सकेसम्म गहिरो श्वास तान्ने र आफ्नो जिउलाई माथिसम्म तन्काउन खोज्नु पर्छ। श्वास पूर्णरूपले तानी सकेपश्चात ३(४ सेकेण्ड श्वास रोकेर राख्ने र फेरि विस्तारै आफ्नो शरीर र हातहरुलाई तल तिर झुक्याउँदै श्वास बाहिर फाल्ने। यस प्रक्रियालाई १५ र २० चोटी दोहोर्याउने र दैनिक ३/४ पटक गर्ने।

 

अक्सिजनको लेभल ९४ प्रतिशत भन्दा कम भएमा के गर्ने ?
प्रोनिङ
घोप्टो परेर सुत्ने तरिकालाई प्रोनिङ भनिन्छ। श्वास फेर्न सजिलो गर्न र शरीरमा अक्सिजनको मात्रा बढाउने यो एउटा राम्रो उपाय हो। बिरामीको अक्सिजन स्तर ९४ भन्दा कम भएको अवस्थामा यो विधि अपनाउन सकिन्छ। प्रोनिङका लागि ५ वटा सिरानीको आवश्यकता पर्दछ।
-एउटा सिरानी टाउको मुनि राख्ने
-एउटा अथवा दुइटा सिरानी छाती देखि कम्मर मुनिसम्म पुग्ने गरी राख्ने
-दुइटा सिरानी खुट्टा मुनि राख्ने
यसरी एक पटकमा ३० मिनेट देखि २ घण्टा सम्म घोप्टो सुत्न सकिन्छ । नियमित रूपमा सुताईको अवस्था भने परिवर्तन गर्नु पर्दछ। कुनै पनि अवस्थामा ३० मिनेट भन्दा बढी नसुतेको राम्रो हुन्छ। आफ्नो सहजता अनुसार पटक पटक गरेर दिनमा १६ घण्टा सम्म घोप्टो सुत्न सकिन्छ। गर्भवती, मुटु रोगी र ढाडको अथवा खुट्टाको हड्डी भाँचेको अवस्थाहरूमा घोप्टो सुत्नु हुँदैन।

अक्सिजनको लेभल ९० प्रतिशत भन्दा कम भएमा के गर्ने ?
बिरामीको अक्सिजन लेभल ९० प्रतिशत भन्दा कम भएमा अक्सिजन थेरापी गर्नुपर्ने हुन्छ। यदि बिरामीको अक्सिजन लेभल ९० प्रतिशत भन्दा कम छ तर कुनै पनि खतराका संकेतहरू देखिएको छैन भने त्यस्तो अवस्थामा अक्सिजन थेरापी गर्नुको उद्देश्य बिरामीको अक्सिजन लेभल ९० भन्दा माथि पुर्याउनु हुन्छ। तर खतराको संकेतहरू देखिएका बिरामीलाई अक्सिजन दिनुको उदेश्य अक्सिजन लेभल ९५ भन्दा माथि पुर्याउनु हुन्छ। बिरामीको अक्सिजन लेभल ९० प्रतिशत भन्दा कम भएमा बिरामीलाई घरमा उपचार गर्नु भन्दा चाँडो भन्दा चाँडो अस्पतालमा लगेर उपचार गर्नु नै उत्तम हुन्छ।

( देवेन्द्र मोय श्रेष्ठ कान्ति बाल अस्पतालका फिजियोथेरापी इन्चार्ज हुन्।)

 

थप समाचार

थप २६०७ जनामा कोरोना संक्रमण

थप २६०७ जनामा कोरोना संक्रमण