कोरोनाका कारण एचआइभी संक्रमितलाई दिंदै आएको यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रभावित

कल्पना आचार्य \काठमाडौं : कोरोना महामारीका कारण भएको लकडाउन र यसको त्रासका कारण एसिया प्यासिफिक क्षेत्रका झण्डै ८० प्रतिशत एचआइभी संक्रमित यौन तथा प्रजनन स्वास्थ्य सेवा लिनबाट बञ्चित भएको पाइएको छ । केही समय अघि गरिएको एक अध्ययन अनुसार उनीहरुले कन्डम समेत नपाएको देखिएको छ ।
‘दशौँ एसिया प्यासिफिक कन्फ्रेन्स अन रिप्रडक्टिभ एण्ड सेक्सुअल हेल्थ राइट्स’ को बाह्रौं सेसनमा विज्ञहरुले यस्तो बताएका हुन्। उनीहरुले एचआइभी संक्रमितले कोरोना महामारी र यसले निम्त्याएको लकडाउनमा परिवार नियोजनका साधन समेत नपाएको जनाएका हुन्। यी साधनमा पहुँच नहुँदा उनीहरु जोखिम मोलेर यौन क्रियाकलापमा सहभागी भएमा यसले ठूलो समस्या निम्त्याउने हुँदा यसतर्फ सरोकारवालाको ध्यान जान जरुरी रहेको उनीहरुले बताए । उनीहरुले एचआइभी संक्रमितको लागि यौन तथा प्रजनन स्वास्थ्य सेवालाई छुट्टै अति आवश्यक सेवामा राखेर उनीहरुको पहुँचमा जानुपर्नेमा जोड दिए ।
विश्व एड्स दिवसको अवसर पारेर गरिएको वेभिनारमा कोरोना संक्रमितमा मात्र ध्यान दिएर नपुग्ने भन्दै पछिसम्म असर पार्ने यी अत्यावश्यक सेवालाई नजरअन्दाज गर्न नहुने जनाए ।
हालसालै गरिएको अध्ययन अनुसार यो समयमा २७ प्रतिशतले कन्डम नपाएको, १४ प्रतिशतले एचआइभी जाँच गर्न नसकेको, ३० प्रतिशतले मनोसामाजिक परामर्श लिन नसकेको र १९ प्रतिशतले मानसिक समस्याको औषधि समेत नपाएको जनाइएको छ । अध्ययनकै अनुसार कोरोना महामारीका बेला एचआइभी संक्रमितले लिंदै आएको हर्मोन रिप्लेसमेन्ट थेरापी समेत लिन नसेकेको जनाइएको छ ।
यता नेपालमा ब्लु डायमण्ड सोसाइटीकी ह्युमन राइट्स तथा एडभोकेसी अफिसर मनिषा ढकालले ट्रान्सजेन्डरलाई पनि यौन तथा प्रजनन स्वास्थ्य सेवा चाहिन्छ र भन्नेहरुका कारण उनीहरुले यो सेवा लिन सजिलो नभएको बताइन्। उनले काठमाडौं र नेपालगंजका २५० जना ट्रान्सजेन्डर लिएर गरेको एक अध्ययनले सरकार र सरोकारवालाले उनीहरुको यौन स्वास्थ्यको बारेमा चासो दिएको नपाइएको जनाइन्। अध्ययन अनुसार ट्रान्सडेन्डरमा एचआइभी संक्रमण दर बढेको पाइयो । सन् २०१५ मा ६ दशमलब २ प्रतिशत ट्रान्सजेन्डरमा एभआइभी रहेकोमा सन् २०१७ मा बढेर ८ दशमलब ५ प्रतिशत पुगेको पाइयो । अध्ययनमो समाजले हेर्ने गलत नजरका कारण आफूहरु सेवा लिन जान समेत अप्ठेरो हुने गरेको बताएका थिए ।
कार्यक्रममा विज्ञहरुले जस्तोसुकै अवस्थामा र जुनसुकै रोग वा संक्रमण लागेको भए पनि यौन तथा प्रजनन स्वास्थ्य सेवा पाउने अधिकारबाट व्यक्तिलाई वञ्चित गर्न नहुनेमा जोड दिएका थिए ।
नेपालमा पनि एचआइभी संक्रमितलाई लिएर धेरै गलत धारणहरु रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल २९ हजार ५०३ जना एचआइभी संक्रमित रहेको अनुमान छ । समाजमा रहेको स्टिग्माका कारण उनीहरु अझै पनि खुलेर बाहिर आउन सकिरहेका छैनन्। हालसम्म नेपालमा ३० जना एचआइभी संक्रमितमा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै
सुर्तीजन्य पदार्थको प्याकेटमा शत प्रतिशत चित्र छाप्न रोक्ने उद्योग मन्त्रालयको पत्र विरुद्धको मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश
नेपाली औषधिको बजार बिस्तार हुँदै, पाँच उद्योगको कारोबार २ सय ५० करोड भन्दा माथि
छोकडा खानुका यी हुन् फाइदा
परोपकार प्रसुति अस्पतालमा सिमुलेशन ल्याब सञ्चालनमा