Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा बच्चा जन्माउने उमेर नपुग्दै आमा बन्ने किशोरीको संख्या बढ्दो

नेपालमा बच्चा जन्माउने उमेर नपुग्दै आमा बन्ने किशोरीको संख्या बढ्दो

कल्पना आचार्य \काठमाडौं : नेपालमा कम उमेरमै विवाह र उमेर नै नपुगी बच्चा जन्माउने किशोरीको संख्या बढ्दो क्रममा रहेको छ । विज्ञहरुले नेपालमा उमेर नै नपुगी विवाह गर्ने किशोरीहरुले चाहेर नचाहेर बच्चा छिटै जन्माउँदा यसले उनीहरुको ज्यान नै जोखिममा रहेको बताएका हुन्।

‘दशौं एसिया प्यासिफिक कन्फ्रेन्स अन रिप्रडक्टिभ एण्ड सेक्सुअल हेल्थ एण्ड राइट्स’ नामक वेभिनारको दशौं सिरिजमा विज्ञहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन्। छलफल कार्यक्रममा यूएनएफपीए नेपालकी प्रजनन स्वास्थ्य विज्ञ डा नीता श्रेष्ठले नेपालमा किशोरी गर्भावस्था पहिलेको तुलनामा बढ्दै जानुले यसबाट हुने जटिलतालाई बढाएको बताइन्। उनले एक अध्ययन अनुसार सन् २०११ मा प्रति एक हजारमा ८१ जना किशोरी आमा बन्ने उमेर नपुग्दै गर्भवती हुने गरेकोमा यो संख्या बढेर सन् २०१६ मा प्रति एक हजारमा ८८ जना किशोरी गर्भवती भएको पाइएको बताइन्। यो अवस्था निकै डरलाग्दो भएको उनको भनाई थियो । उनले १५ देखि १९ वर्षका किशोरी मध्ये ३५ प्रतिशतमा परिवार नियोजनका साधनमा पहुँच नै नपुगेको समेत जिकीर गरिन्। उनले भनिन, यो सबै उमेरका महिलाको भन्दा बढी दर हो ।

सरकारकै तथ्यांक अनुसार नेपालमा अझै पनि ४१ प्रतिशत महिलाको विवाह १८ वर्ष नपुग्दै हुने गरेको छ । यो तथ्यांकका कारण पनि नेपालमा परिवार नियोजनका क्षेत्रमा विश्वव्यापी लक्ष्य प्राप्त गर्नका लागि फरक ढंगबाट काम गर्न जरुरी भइसकेको विज्ञहरुको भनाई छ । नेपालमा ४३ प्रतिशत स्वास्थ्य संस्थामा मात्रै सबै प्रकारका गर्भनिरोधक साधनहरु पाइने गरेको छ । अन्य संस्थामा महिलाले चाहेको साधन नपाउँदा पनि उनीहरु यसबाट बन्चित हुने पुगेका छन्।

यसको परिणाम स्वरुप नेपालमा जम्मा ५३ प्रतिशत महिलाले मात्र कुनै न कुनै परिवार नियोजनका साधन प्रयोग गरिएको पाइन्छ । यसमध्ये ४३ प्रतिशत महिलाले मात्र गर्भ रोक्नका लागि परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्ने गरेको पाइएको छ । १० प्रतिशतले प्राकृतिक उपायहरु अपनाउने गरेको पाइन्छ भने ९ प्रतिशत महिलाले मात्र सुई मार्फत गर्भ रोक्नका लागि प्रयास गरेको पाइन्छ ।

छलफल कार्यक्रममा श्रेष्ठले नेपालमा कम उमेरमा विवाह गर्ने किशोरीको संख्या बढ्नु र परिवार नियोजनका साधन सबै संस्थामा प्रयाप्त मात्रामा नहुँदा कम उमेरमै आमा बन्ने किशोरीको संख्या बढेको भन्दै यसलाई रोक्न सबैले पहल गर्नुपर्ने बताइन्।

उनले यही समस्या कम गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गर्दै यूएनएफपीएले भीएसपी भिजिटिङ सर्भिस प्रोभाइडर अप्रोच शुरु गरेको बताइन्। भीएसपी तालिम प्राप्त परिवार नियोजनसम्बन्धी जनशक्ति हुन्। उनीरुहले पहुँच नभएका र समस्या भएको क्षेत्र पहिचान गरी स्वास्थ्य संस्थामा नै गएर यसको सेवा दिने छन्। उनीहरुले गाउँ गाउँमा गएर यसको फाइदाकोबारेमा जानकारी समेत गराउने उनको भनाई छ । सन् २०१७ देखि २० सम्म ११ जिल्ला जहाँ परिवार नियोजनका साधन कम प्रयाग गर्ने गरेका थिए ती जिल्लाका ५४० वटा स्वास्थ्य संस्थामा यो सेवा दिइएको छ । यसका साथै ४सय बढी स्वास्थ्यकर्मीलाई आयुसीडी र इम्प्लान्ट कसरी दिने भन्ने तालिम दिइसकिएको पनि उनले जानकारी दिइन्।

यो प्रोजेक्ट शुरु भएदेखि २९ हजार बढी महिलाले सेवा लिएको जनाइएको छ । उता भारतमा पनि बाल विवाहका कारण किशोरावस्थामा नै गर्भवती हुनेको संख्या बढेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका थिए।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि