कोरोना भाइरसको प्रभाव: इटलीका एक दर्जन सहर बन्द

युरोपमै सबैभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमितहरू भेटिएपछि इटालीले यसको प्रकोप नियन्त्रण गर्न असाधारण उपाय अपनाउने भएको छ। कोभिड १९ का बिरामीहरूको सङ्ख्या ७९ पुगेपछि शनिवार राती प्रधानमन्त्री जुजेपे कोन्टेले आपत्कालीन योजना घोषणा गरेका हुन्।
सो घोषणा दुईजना इटालीयन नागरिकहरूको कोभिड १९ का कारण मृत्यु भएपछि भएको हो। योजना अन्तर्गत उत्तरी क्षेत्रका लोम्बार्डी र भेनेटोका एक दर्जन सहरहरूलाई क्वारन्टीनको अवस्थामा राखिएको छ। ती सहरहरूका झन्डै ५०,००० मानिसहरूलाई घरभित्रै रहन भनिएको छ।
त्यहाँ सबै विद्यालय र खेलकुद गतिविधिहरू निलम्बन गरिएको छ। आइतवार त्यहाँ सीरी ए का केही फुटबल खेल हुने तालिका थियो। प्रहरी र आवश्यक परे सशस्त्र प्रहरी ती नियमहरू पालना गराउन परिचालित गरिने बताइएको छ।इटलीका अधिकारीहरूले कोरोनाभाइरस फैलिएको र यस्ता उपायविना नियन्त्रण गर्न नसकिने बताएका छन्।
चीनको हुबे प्रान्तमा गत वर्ष शुरू भएको कोरोनाभाइरस २६ देशमा फैलिसकेको छ र चीनबाहिर १,४०० भन्दा बढी सङ्क्रमित भएको र ११ जनाको मृत्यु भएको छ। चीनका स्वास्थ्य अधिकारीहरूका अनुसार शनिवार यसको नयाँ सङ्क्रमण र मृत्यु हुनेको सङ्ख्या घटेको छ।
तर त्यहाँ अहिलेसम्म ७६,३९२ सङ्क्रमण र २,३४८ मृत्यु पुष्टि भइसकेको छ। दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या दुईगुना भएको अधिकारीहरूले बताएका छन्।
शुक्रवारयता थप २२९ जनामा कोभिड १९ गराउने भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ। योसँगै कुल ४३३ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ।
बीबीसीबाट:
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights