‘प्राण जानुभन्दा तीन घण्टाअघि हजुरबुबाले अस्पतालमा बेड पाउनुभयो’

‘प्राण जानुभन्दा तीन घण्टाअघि हजुरबुबाले अस्पतालमा बेड पाउनुभयो’

मध्यचीनको हुबे प्रान्तमा रहस्यमय नयाँ भाइरस देखिएको दुई हप्तापछि अधिकारीहरूले संक्रमित व्यक्तिहरूको पहिचान गर्ने विधि अचानक परिवर्तन गरे।

त्यससँगै संक्रमित व्यक्तिहरूको संख्या ह्वात्तै बढ्यो। किनभने विभिन्न परीक्षण गरिएका व्यक्ति मात्र नभएर चिकित्सकहरूले क्लिनिकमा जाँचेर रोग निदान गरेका व्यक्ति पनि गणनामा पर्न थाले।

तर प्रारम्भिक दिनमा कोरोना भाइरस संक्रमण अर्थात् कोभिड–१९ को केन्द्रबिन्दु मानिएको वुहान शहरमा तीव्र गतिमा भाइरस फैलिरहेका बेला अस्पतालमा शय्या अभाव देखियो। अर्थात् कतिपय बिरामीले उपचार पाएनन्।

बिरामीको चाप रहेको वुहानमा त्यहाँका दुई बासिन्दाले आफ्ना आफन्तका लागि अस्पतालका शय्या पाउन गरेका प्रयाससम्बन्धी कारुणिक कथा सुनाएका छन्।

हजुरबुवा, शान्तिसँग बस्नुहोला– जिआओ हुआङ

आफ्नो बाल्यकालमै आमाबुवाको निधन भएपछि हुआङलाई उनका हजुरबुवा र हजुरआमाले पालनपोषण गरेका थिए। ८० वसन्त पार गरेका हजुरबुवा र हजुरआमाका लागि सक्दो सेवा गर्ने हुआङको एक मात्र इच्छा थियो। उनीहरूले अवकाशको जीवन राम्रोसँग बिताउन पाऊन् भन्ने उनलाई लाग्थ्यो।

तर मात्र १५ दिनमै कोरोना भाइरसका कारण उनका हजुरबुवाको निधन भयो र हजुरआमा अहिले गम्भीर अवस्थामा छिन्। हुआङका हजुरबुवा र हजुरआमामा जनवरी २० तारिखमा श्वासप्रश्वासको समस्या देखिन थाल्यो।

सार्वजनिक यातायात ठप्प हुनेगरी जनवरी २३ तारिखदेखि वुहान बन्दको अवस्थामा गएपछि २६ तारिखसम्म उनीहरूलाई अस्पतालसम्म पुग्न हम्मेहम्मे भयो। उनीहरूलाई कोरोना भाइरसले संक्रमित बनाएको कुरा २९ तारिखमा थाहा भयो। तर त्यसको तीन दिनपछि मात्रै उनीहरू अस्पतालमा भर्ना हुन पाए।

अस्पताल बिरामीले खचाखच थियो। त्यहाँ कुनै शय्या खाली थिएन। उनका हजुरबुवा र हजुरआमालाई उच्च ज्वरो थियो र सास फेर्न गाह्रो भइरहेको थियो। उनीहरूले करिडोरमा मात्रै ठाउँ पाए।

हुआङले अस्पतालका कर्मचारीहरूलाई हारगुहार गरेपछि एउटा लामो कुर्सी र दोबार्न मिल्ने एउटा शय्या पाए। ‘हेर्दा चिकित्सक वा नर्स नै थिएनन्’, हुआङले आफ्नो डायरीमा लेखेका छन्, ‘चिकित्सकविनाको अस्पताल एउटा चिहानजस्तै हुन्छ।’ हजुरबुवा बितेको अघिल्लो रातसम्म हुआङ हजुरबुवा र हजुरआमासँगै करिडोरमा थिए।

उनका हजुरबुवा चित्तविभ्रमको अवस्थामा थिए। त्यो कुरा थाहा नहोस् भनेर उनले हजुरआमालाई भलाकुसारी गरेर अलमल्याइरहेका थिए।हजुरबुवा बित्नुभन्दा तीन घण्टाअघि बल्ल उनले शय्या पाए। हजुरबुवाले अन्तिम सास लिएको क्षणसम्म हुआङ सँगै थिए।

‘हजुरबुबा, शान्तिसँग बस्नुहोला। स्वर्गमा कुनै पीडा हुँदैन’, चिनियाँ सामाजिक सञ्जाल वेबोमा लेखेका छन्, ‘धेरै बिरामीहरूले आफन्तको साथ नै नपाई ज्यान गुमाएका छन् र परिवारका सदस्यले अन्तिम पटक भेट्न पनि पाएका छैनन्।’

उनकी हजुरआमा अस्पतालमा जीवन र मरणको दोसाँधमा छिन्। हुआङ सकेसम्म धेरै उनीसँगै बस्छ चाहन्छन्। ‘प्रभावकारी औषधि नै छैन। चिकित्सकहरूले आशा नमार्न र उहाँलाई आफैँ ठिक हुन सक्ने बताएका छन्’, उनी भन्छन्, ‘हामी केवल भाग्यको निर्णय कुर्न सक्छौँ।’

फेब्रुअरी ७ तारिखदेखि जिआओ हुआङ आफैँलाई पनि सन्चो महसुस भएको छैन। उनी एउटा होटलमा दुई हप्ताका लागि क्वारेन्टाइननमा छन्।

आमाले खोक्दा रगत आउन थाल्यो- दा चुन

जनवरी महिनाको आरम्भतिर दा चुनकी आमालाई ज्वरो भयो। परिवारले चिसोका कारण त्यस्तो भएको हुन सक्छ भनेर त्यसलाई त्यति गम्भीरतापूर्वक लिएन।

एक करोड १० लाख जनसंख्या रहेको वुहानमा फैलिरहेको रहस्यमय रोगबारे उनीहरूले केही कुरा सुन्न चाहिँ सुनेका थिए। एउटा सामुदायिक क्लिनिकमा उनले सुईहरू लगाए। तर एक हप्तामा पनि ज्वरो ओर्लिएन।

जनवरी २० अर्थात् चिनियाँ अधिकारीहरूले कोरोना भाइरस मानिस–मानिसबीच सर्न सक्ने स्वीकार गरेकै दिन उनले ज्वरो आएका व्यक्तिका लागि निर्मित एउटा क्लिनिकमा आमालाई लगे।

छातीको एक्सरे र रगतको जाँच गरेपछि चिकित्सकले उनकी आमालाई नयाँ कोरोनाभाइरसको संक्रमण भएको बताए। ‘आजको दिनसम्म मैले त्यो कुरालाई स्वीकार्न सकिरहेको छैन’, दा चुन भन्छन्। अझ दुःखद स्थिति आउन बाँकी नै थियो।

चिकित्सकले उनकी ५३ वर्षीया आमालाई अस्पताल भर्ना गर्न नसकिने बताए। किनभने उनीहरूसँग जाँच गर्ने सामग्री नै थिएन। जनवरीको अन्त्यसम्ममा निश्चित आठवटा अस्पतालमा मात्र त्यस्ता किट उपलब्ध थिए।

‘त्यस्तो एउटा अस्पतालका एक चिकित्सकले मेरी आमालाई भर्ना गर्ने अधिकार उनीहरूसँग नभएको बताए। स्थानीय स्वास्थ्य आयोगले मात्रै संक्रमणको पुष्टि भएका बिरामीका लागि शय्या छुट्ट्याउने गर्छ’, २२ वर्षीय दा चुनले भने, ‘अतः चिकित्सकहरूले मेरी आमा संक्रमित भएको पुष्टि गर्न जाँच गर्न सकेनन् र शय्या उपलब्ध गराउन सकेनन्।’

दा चुनका अनुसार उनको आमाको घटना प्रतिनिधि घटना मात्रै हो। वीच्याट एपको ग्रुप च्याटमा रहेका संक्रमित मानिसका परिवारका २०० जना सदस्यले पनि त्यस्तै कथा सुनाएका छन्। अस्पतालमा शय्या पाइन्छ कि भनेर उनका भाइ लाइन बस्थे। आफ्नी आमाले ड्रिप पाउन सकून् भनेर उनी क्लिनिक जान्थे।

यसरी धपेडी गर्दा उनीहरूले परीक्षण हुनु र भर्ना हुनुअगावै निगरानी कक्षहरूमा बिरामीहरू प्राण त्यागेका कैयौँ घटना देखे। ‘शवहरूलाई बेरेर कर्मचारीहरूले लग्थे’, उनी भन्छन्, ‘मलाई थाहा छैन कि कोरोना भाइरसका कारण भएको मृत्युमा उनीहरूको मृत्यु गणना हुन्छ वा हुँदैन।’

उनकी आमाको स्थिति बिग्रिँदै गयो। उनले खोक्दा मुखबाट रगत आउन थाल्यो र पिसाबमा पनि रगत आउन थाल्यो। जनवरी २९ तारिखका दिन अन्ततः उनकी आमा अस्पतालमा भर्ना भइन्। तर पहिलो पटक उनी भर्ना हुने बखत पर्याप्त चिकित्सकीय उपकरण नहुँदा आफ्नी आमाले कुनै उपचार पाउन नसकेको उनी बताउँछन्।

आफ्नी आमालाई निको हुने आशा चाहिँ उनले मारेका छैनन्।

बीबीसी नेपालीबाट