टेकु अस्पतालमा डेंगु परीक्षण गर्न आउनेको चाप उस्तै
काठमाडौं : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ज्वरो तथा डेंगु परीक्षण गर्न आउनेको चाप यथावत् छ।
अस्पतालमा दैनिक सात सयभन्दा बढी ज्वरोका बिरामीले मुख्यतः डेंगु रोगका बारेमा आफ्नो स्वास्थ्य परीक्षण गराउने गरेको अस्पतालका सूचना अधिकारी रूपनारायण खतिवडाले जानकारी दिए।
राससका अनुसार भदौमा अस्पतालमा झण्डै चार हजार जनाभन्दा बढीको डेंगु परीक्षण गरिएकामा आधाभन्दा बढीमा डेंगु पोजेटिभ भेटिएको छ। केन्द्रीय तहको एक मात्र सरुवा रोग नियन्त्रण सो अस्पतालले बिरामीको सहजताका लागि दुई फिवर क्लिनिक सञ्चालन गरेको छ। क्लिनिकमा चार विशेषज्ञ चिकित्सकसहित नर्स र अन्य स्वास्थ्यकर्मी कार्यरत छन्।
विश्व स्वास्थ्य संगठनले ‘लामखुट्टे खोज र नष्ट गर’ नै डेंगु रोग नियन्त्रणको प्रभावकारी माध्यम भएको स्पष्ट पारेको छ। यसका लागि हरेक घर, परिवार र समुदायले सक्रिय रूपमा यस कार्यमा सहभागी हुन उसले आग्रहसमेत गरेको छ। संगठनका नेपाल कार्यालयमा कार्यरत वरिष्ठ कीट विज्ञानका चिकित्सक लङटेन वाङचुकले बताए। ‘घरमा, घर वरिपरि पानी जम्न नदिई सफा राख्नु, लामखुट्टेलाई नियन्त्रण गर्नु नै डेङ्गु रोगबाट बच्ने उपाय हो। यसका लागि हरेक व्यक्ति आफैँ सचेत बन्नुपर्छ’, उनले भने।
संगठनका अर्का चिकित्सक बीएन नागपाल अन्य लामखुट्टेको तुलनामा एडिस जातका लामखुट्टे बढी चलाख भएकाले नियन्त्रण गर्न पछिल्लो समय चुनौतीपूर्ण बनेको बताउँछन्। उनका अनुसार हालसम्म विश्वका १२६ देशमा डेंगु रोग फैलिसकेको छ। सन् १९५६ मा विश्वका नौ देशमा मात्र सो रोग देखिएको थियो। शहरी क्षेत्रमा लामखुट्टेले अन्य प्राणीको रगत चुस्न नपाएपछि विशेष गरी सफा शहरी क्षेत्रमा डेंगु फैलिएको विश्लेषण उहाँको छ।
‘लामखुट्टे नष्ट गर्न व्यक्ति व्यक्तिमा जनचेतना हुनुपर्छ। औषधि र खोपले मात्र यसलाई नियन्त्रण गर्न सकिँदैन। व्यक्तिले आफ्नो व्यवहार परिवर्तन गर्नुपर्छ। घरका भाँडावर्तन तथा अन्य स्थानमा पानी जम्न दिनु हुँदैन। घरमा पानी छोपेर राख्नुपर्छ’, नागपालले भने।
कर्मचारी समायोजनका कारण कीटजन्य रोग नियन्त्रण गर्न जनशक्तिको अभाव रहेको छ। समायोजनले गर्दा कीटजन्य रोग व्यवस्थापनका अधिकांश स्वास्थ्यकर्मी फाजिलमा परेका छन्। ‘कीटजन्य रोग व्यवस्थापन गर्न आर्थिक स्रोत तथा जनशक्ति स्थानीय तथा प्रदेश तहमा गएको छ’, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत लीलाविक्रम थापा भन्छन्।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त