Health TV Online
Health TV Online
Health TV Online

आफ्नो आँसु लुकाउँदै बिरामीलाई भन्छौँ, ‘तपाइँलाई ठिक हुन्छ’

आफ्नो आँसु लुकाउँदै बिरामीलाई भन्छौँ, ‘तपाइँलाई ठिक हुन्छ’

क्यान्सरका कारण जीवनको अन्तिम अवस्थातिर पुगेका बिरामीलाई स्याहारसुसार गर्न जति गाह्रो हुन्छ त्यति नै गाह्रो उनीहरूसँगको भावानात्मक सम्बन्ध बिर्सिन। हामी नर्सहरू दिनरात नभनी बिरामीको सेवामा जुटिरहेका हुन्छौँ।

म कार्यरत नेपाल क्यान्सर अस्पतालको प्यालिएटिभ केयरमा धेरै यस्ता बिरामी आउँछन् जसको आयु धेरै छैन भनेर चिकित्सकले त्यहाँ पठाउँछन् । शुरुशुरुमा त निकै गाह्रोे हुन्थ्यो काम गर्न। एकछिन अगाडि आफ्नै सामुन्ने भएका बिरामीलाई एकैछिनमा कपडामा बेरेर राखेको हेर्नुपर्दा साह्रै दुःख लाग्छ। पीर मानेर बसिरहने समय पनि हुँदैन। हाम्रो काम बाँचुञ्जेल उनीहरूको सेवा गर्नु हो।

जीवनको अन्तिम अवस्थामा पुगेर प्यालिएटिभ केयरमा आउने बिरामीलाई हामी निको हुने औषधि भन्दा पनि उनीहरुलाई जति बाँच्छन् त्यति कसरी सरल र सहज बनाउनेतर्फ ध्यान दिन्छौँ। यस्ता बिरामीलाई कुनै पनि जाँच वा रोग निको पार्ने औषधि दिइँदैन। मात्र ‘सपोर्टिभ केयर’ दिन्छौँ जसमा हामीजस्ता नर्सहरूको भूमिका बढी हुन्छ । कतिपय बिरामीलाई म अब धेरै बाँच्दिन भन्ने थाहा हुन्छ, उहाँहरू आफन्त, इष्टमित्र भेट्न खोज्नुहुन्छ। हामी उहाँहरूका आफन्तलाई भेटाइदिन्छौँ।

कतिपय बिरामीलाई गाह्रो भएपछि आफू मर्छु भन्नेसम्म पनि थाहा हुन्छ। ‘मलाई गाह्रो नपार्नु होला’, ‘मृत्यु हुँदा सजिलो हुने औषधि दिनुहोला’ पनि भन्छन्। सम्भव भएसम्म बिरामीलाई सजिलो हुने काम मात्र गर्छौँ। तर मृत्यु हुन यति समय बाँकी छ भनेर भन्दैनाैँ। आगन्तुकलाई चाहिँ अब धेरै समय छैन, बिरामीको भएको इच्छा पूरा गर्दिनुस् भनेर ‘अलर्ट’ गर्नपर्ने हुन्छ।

त्यसो त ‘प्यालिएटिभ केयर’ क्यान्सरको अन्तिम चरणमा मात्र हाेइन रोग लागेदेखि नै दिने गरिन्छ। तर रोगले गालेर जीवनको अन्तिमतिर पुगेका बिरामीलाई अझ बढी यसको आवश्यकता पर्छ। रोगले बढी सताएपछि र औषधिले समेत काम गर्दैन भन्ने भएपछि उनीहरूमा अनेक खालका समस्या देखा पर्छन्। त्यसबेला उनीहरूको त्यो समस्याको व्यवस्थापन प्यलिएटिभ केयरभित्र पर्छ।

कतिपय बिरामीको अवस्था हेरेर ‘अब केही घण्टा बाँकी छ भन्ने’ थाहा भयो भने हामीसँग रहेकाे छुट्टै क्याबिनमा सार्छौँ। तर त्यो कुरा भने बिरामीलाइै भन्दैनौँ। यो युनिटमा कहिलेकाही बिरामी म बाँच्दिन भन्ने थाहा पाएर ‘पूजा गर्छु’ भन्ने इच्छा व्यक्त  गर्छन्। हामी सामग्री ल्याएर पूजा गर्ने व्यवस्था पनि मिलाइदिन्छौँ। कतिपयले त पण्डित बोलाएर ‘दशदान’, शान्तिपाठ अादि कर्म गराउन खाेज्छन्। त्याेसमेत वार्डबाटै गराएका छौँ। ‘अस्पतालमा हुँदैन’ भन्न मिल्दैन। उहाँहर”को अन्तिम इच्छा हामीले पूरा गर्ने प्रयासस्वरूप यस्तो व्यवस्था गरिदिन्छौँ।

हाम्रो छुटै प्यालिएटिभ वार्ड भनेर नै छ जसमा १० वटा ‘बेड’ र एउटा ‘टर्मिनल बेड’ भनेर राखेको छ। टर्मिनल बेड भनेर छुटै ‘क्याबिन’ जस्तो हुन्छ। त्यसमा हामीले म्युजिक सिस्टम’ राखेका छौँ। अाध्यात्मिक वा धार्मिक वातावरण सिर्जना गर्ने धुन बजाउँछाैँ। भित्तामा भगवानका तस्विर राखिदिएका छौँ। जुन बिरामीकाे आयु २४–३६ घण्टा अथवा त्यो भन्दा पनि कम हुन्छ  उनीहरूलाई हामी त्यहाँ सार्छाैँ। त्याे क्याबिनमा आगन्तुक जति पनि आएर भेट्न पाउँछन्।

प्यालिएटिभ केयरमा हामी दिनहुँ बिरामीको इच्छा सोध्छौँ। कतिपय बिरामीलाई गाह्रो भएपछि आफू मर्छु भन्नेसम्म पनि थाहा हुन्छ। ‘मलाई गाह्रो नपार्नु होला’, ‘मृत्यु हुँदा सजिलो हुने औषधि दिनुहोला’ पनि भन्छन्। सम्भव भएसम्म बिरामीलाई सजिलो हुने काम मात्र गर्छौँ। तर मृत्यु हुन यति समय बाँकी छ भनेर भन्दैनाैँ। आगन्तुकलाई चाहिँ अब धेरै समय छैन, बिरामीको भएको इच्छा पूरा गर्दिनुस् भनेर ‘अलर्ट’ गर्नपर्ने हुन्छ। कतिपय बिरामीले आफ्नो घर परिवार, गर्न बाँकी भएको काम सम्झेर चिन्ता व्यक्त गर्छन्। कतिकाे त चिन्ता मनमा नै रहन्छ। व्यक्त गर्न पाउँदैनन्।

रोगले च्यापेर गाह्रो हुँदै गर्दा उनीहरू आफैँलाई पनि ‘फिल’ हुन्छ होला सायद ‘म जाँदैछु’ भन्ने। कतिपय बिरामीले हात समाउँदै म अब मर्छु भन्दै आँसु झार्छन्। असाध्यै नरमाइलो लाग्छ। हामी अाफ्नाे अाँसु लुकाउँदै भन्छौँ, ‘तपार्इँलाई ठिक हुन्छ।’ यो हाम्रो युनिटको ‘डेली रुटिन’ जस्तै बनेको छ।

  • निर्जिना अधिकारी

    अधिकारी नेपाल क्यान्सर हस्पिटल 'प्यालिएटिभ वार्ड' की सिनियर स्टाफ नर्स हुन्।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा

छुटेका बालबालिकालाई खोप लगाइँदै

छुटेका बालबालिकालाई खोप लगाइँदै