‘अनुसन्धानविना नीति तथा कार्यक्रम अपूराे’

काठमाडाैं : सरोकारवालाहरूले स्वास्थ्यसम्बन्धी नीति तथा कार्यक्रम बनाउँदा अनुसन्धानको पक्षमा जोड दिनुपर्ने बताएका छन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जीआईजेड नेपालको सहयोग र नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा एकदिने गोष्ठीमा उनीहरूले अनुसन्धान संस्कृतिलाई बढावा दिनुपर्ने बताएका हुन्।
गोष्ठीको उद्घाटन गर्दै उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले देश संघीय संरचनामा गइसकेकाले अब कस्तो कार्यक्रम ल्याउने र कसरी अघि बढ्ने नीति बनाउन अनुसन्धानबाट आएका तथ्यांकले सहयोग पुग्ने बताए ।
यसैगरी स्वास्थ्य सचिव डा.पुष्पा चौधरीले नेपालमा स्वास्थ्यसँग सम्बन्धित अनुसन्धान विदेशीको हातमा जिम्मा लगाउनुभन्दा आफैँले गर्नुपर्ने बताइन्। ‘यसो गर्दा हाम्रो आफ्नो आवश्यकताअनुसार अनुसन्धान हुन्छ र नीति निर्माणमा ठूलो सहयोग पुग्छ’, उनले भनिन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदका कार्यकारी अध्यक्ष प्राडा अञ्जनीकुमार झाले स्वास्थ्य नीति र कार्यक्रममा तथ्यको प्रयोग गर्नका लागि आवश्यक विधिको जानकारी हुनु आवश्यक रहेको तर्क गरे।
कार्यक्रमका सहभागीहरूले तथ्य प्रयोग गर्नका लागि आवश्यक विधिको व्यावहारिक प्रयोग पनि गर्नेछन्। कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति निर्माणकर्ता र नेपालका अनुसन्धानकर्ताहरूको सहभागिता छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् नेपालमा स्वास्थ्य अनुसन्धानको संवर्धनका लागि गठित एक सरकारी निकाय हो। परिषद्ले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति तथा कार्यक्रमलाई आवश्यक पर्ने अनुसन्धान गर्दै आएको छ। यसले गरेका अध्ययनहरूले नेपालको स्वास्थ्य नीति तथा कार्यक्रम तर्जुमा र कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।
परिषदद्वारा गरिएका नसर्ने रोगहरुका अध्ययनका तथ्यका आधारमा रहेर ती रोगसम्बन्धी नीति तथा कार्य तयार भएका छन् । त्यसैगरी वायु प्रदूषणका विषयमा रहेर गरिएको अध्ययनले जनमानसको स्वास्वथ्य व्यवहारमा परिवर्तन ल्याउन मद्दत गरेको छ।
सरुवा रोग र जल वायू प्रदुषणका विषयमा भएका अध्ययनहरुले राष्ट्रिय जल वायु अनुकुलन नीतिको निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको छ। परिषद्ले अनुसन्धानमा आधारित रहेर स्वास्थ्य क्षेत्रको नीति निर्माण गर्ने विषयमा विभिन्न अनुसन्धानात्मक कार्यक्रम गर्दै आएको छ।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने