चितवनमा मेरुदण्ड पक्षघात पुनःस्थापना केन्द्र सञ्चालन हुने

चितवन : भरतपुर महानगरपालिकामा मेरुदण्ड पक्षघात पुनःस्थापना केन्द्र सञ्चालन हुने भएकाे छ।
भरतपुर महानगरपालिका–३ स्थित बाह्रघरेमा एक बिघा जग्गा प्राप्त हुने भएपछि रोटरी क्लब अफ चितवनको अगुवाइमा रोटरी क्लब अफ भरतपुर, रोटरी क्लब अफ नारायणगढ, रोटरी क्लब अफ नारायणी मिड टाउन र रोटरी क्लब अफ रत्ननगरले केन्द्र सञ्चालन गर्न लागेका हुन्।
रोटरी क्लब अफ चितवनका अध्यक्ष कपिलबाबु खनालका अनुसार केन्द्र स्थापनाका लागि महानगरले जग्गा उपलब्ध गराउने भएको छ। करिब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको सो केन्द्रका लागि स्थानीय स्रोत, रोटरियन र दाताको सहयोगमा भवन निर्माण गरिने छ भने आवश्यक उपकरण रोटरी इन्टरनेशनलको रोटरी फाउण्डेशन र अन्य दाताबाट लिइने छ । प्राविधिक क्षेत्रमा नेपाल स्पाइनल इञ्जुरी संघले सहयोग गर्ने भएको छ।
अध्यक्ष खनालले ५० शय्यामा उक्त केन्द्र सञ्चालनका लागि खर्च गर्नसक्ने बिरामीबाट पनि केही रकम लिने, त्यस्ता बिरामीका लागि सरकारले दिने एक लाख रूपैयाँ र अन्य स्रोत दाताबाटै सङ्कलन गरिने बताए। महानगर प्रमुख रेणु दाहालले केन्द्र स्थापनाका लागि महानगरपालिकाले जग्गा उपलब्ध गराएर सहकार्य गरेको जानकारी दिइन्।
महानगरसँग भएको सम्झौताबमोजिम पाँच वर्षभित्र केन्द्र सञ्चालनमा आइसक्नुपर्ने सो केन्द्र ५० शय्या हुनुपर्ने, केन्द्र स्थापना र सञ्चालनको व्यवस्थापन रोटरी क्लबले गर्नुपर्ने, भौतिक संरचना निर्माणका क्रममा महानगरको निर्देशन पालना गर्नुपर्ने र यो केन्द्र सर्वसाधारणको हितसँग केन्द्रित हुनुपर्ने उल्लेख छ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा