चिकित्सकहरू भन्छन्, लामखुट्टेबाट बच्नुस्

चितवन : चिकित्सकहरूले वर्षा र गर्मीको मिश्रणले लामखुट्टेको प्रजनन वृद्धि हुने भएकाले लामखुट्टेबाट बच्न सुझाव दिएका छन्। विभिन्न रोग लामखुट्टेबाट सर्ने भएकाले यसबाट जोगिनुपर्ने उनीहरूले बताएका हुन्। चितवनको भरतपुर अस्पतालका फिजिसियन डा. भोजराज अधिकारी गर्मी र पानीको सम्मिश्रण र यो समयमा भौतिक निर्माणले खाल्टाखुल्टी बढ्ने भएकाले लामखुट्टे हुर्किन सहयोग पुग्ने बताउँछन्।
‘डेंगु हात्तीपाइले, जापानिज इन्सेफ्लाइटिस, मलेरियालगायत रोग लामखुट्टेबाटै सर्छ’, डा. अधिकारी भन्छन्’ ‘यो समयमा लामखुट्टेबाट बच्नु भनेको धेरै रोगबाट बच्नु हो।’ लामखुट्टेबाट सर्ने रोगबाहेक अन्य सरुवा रोग, भाइरल इन्फ्लुएन्जा, स्क्रब टाइफस र लेप्टो स्पाइराको संक्रमण पनि यही बेलामा बढी हुने उनी बताउँछन्।
कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरका फिजिसियन डा. दीपेन्द्र खतिवडा गर्मी र पानीसँगै लामखुट्टेको प्रजननमा वृद्धि हुने भएकाले मलेरिया, डेंगुलगायत अन्य रोगको संक्रमण हुने भन्दै लामखुट्टे हुर्किने अवस्था नदिन आग्रह गर्छन्। घर वरपर सरसफाइ गर्ने, झाडी हुन नदिने र पानी जम्न नदिनेलगायत उपाय अपनाउनुपर्ने उनको भनाइ छ।
अहिलेको गर्मी मौसममा खानेकुरा, पानी र हावामा बढी संक्रमण हुन्छ। जिल्ला जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसी एडिस एजेप्टाई नामको लामखुट्टेको विकास हुने मौसम अहिले भएको बताउँछन्।
केसीका अनुसार साउनदेखि कात्तिकसम्म डेंगु रोग लाग्ने खतरा हुन्छ। त्यसैले, जिल्लाका विभिन्न स्थानीय तहसँग मिलेर लामखुट्टेको वासस्थान खोजी लार्भा नष्ट गरिएको उनले बताए। चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालका अनुसार गर्मीले खानामा छिटो संक्रमण हुने हुँदा ‘फुड प्वइजन’ हुने खतरा बढी हुन्छ।
वातावरण प्रदूषणले विभिन्न सरुवा रोग निम्तिने चिकित्सकको भनाइ छ। यस्तै, टाउको दुख्ने, ज्वरो आउने, घाँटी दुख्ने संक्रमण देखिन्छ भने कीरा, फट्याङ्ग्रा, उडुस, उपियाँलगायतले टोक्ने र विभिन्न छालाको एलर्जी र कीटजन्य रोग यो बेला देखिन्छ।
बालबालिका र वृद्धवृद्धामा संक्रमण धेरै हुने भएकाले उनीहरुको स्वास्थ्यमा बढी ख्याल राख्न चिकित्सकहरूकाे सुझाव छ।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै