नयाँ बानेश्वरको प्रदर्शनमा कसले के भने ?

काठमाडौं : जुम्लामा आमरण अनशनमा बसेका डा. गोविन्द केसीलाई साथ दिँदै तथा उनको जीवन रक्षा माग गर्दै माइतीघर मण्डलामा शनिबार पनि प्रदर्शन गरियो। प्रदर्शनमा राजनीतिक दल, नागरिक समाजका अगुवा, स्वास्थ्यकर्मी, पेशाकर्मी, गैह्रसरकारी संस्थाका प्रतिनिधि तथा सर्वसाधारण सहभागी थिए।
प्रदर्शनपछि नयाँ बानेश्वरकाे सभामा बोल्ने वक्ताहरूले सरकारले संसदमा ल्याउन लागेको चिकित्सा शिक्षा विधेयकको विरोध गरे भने डा. केसीको जीवनरक्षाको माग गरे।
कसले के भने?
गगन थापा, कांग्रेस नेता तथा पूर्वमन्त्री
भो पुग्यो अब! काठमाडौंमा थप मेडिकल कलेज चाहिँदैन। बंगलादेशमा थुप्रै मेडिकल कलेज खोले पनि गुणस्तर नभएका कारण चिकित्सक देखेर डराउनुपर्ने अवस्था छ। थप नयाँ कलेज काठमाडौंमा खुले यहाँ पनि चिकित्सक देखेर डराउनु पर्ने हुन्छ मेडिकल कलेज खोल्नु भनेको पानीजहाज जस्तो होइन प्रधानमन्त्रीज्यू!
जुम्लामा पुगेर अनसन बसेका डा. गोविन्द केसीले माथेमा कार्यदलको प्रतिवेदनअनुसार विधेयक आउनुपर्ने बताउनुभएको हो। माग पूरा नहुँदासम्म उहाँलाई कसैले हल्लाउन सक्नेछैन। धेरैले केसीले भनेकै आधारमा विधेयक आउनुपर्छ र भन्नुभएको छ। तर, तपाइँहरु यो बुझ्नुस् केसीले आफूले भनेजस्तो होइन, माथेमा प्रतिवेदनको आधारमा विधेयक आउनुपर्छ भन्नुभएको हो।
केसीको स्वास्थ्य अवस्था नाजुक रहेको अवस्थामा सरकारले जिद्दी गरेर बस्यो र उहाँको जीवनमा तलमाथि भयो भने प्रधानमन्त्री मात्र नभएर सिंगो नेपाल अपराधबाट मुक्त हुने छैनन्।
सुरेन्द्र भण्डारी, वरिष्ठ अधिवक्ता
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीले संसदलाई नै नियन्त्रणमा लिन खोजेका छन्। के लोकतन्त्र भनेको यही हो? संसदको अधिकारबारे बुझ्नुहोस्, प्रधानमन्त्रीजयू! कुनै पनि कानुन बन्नुअघि ठिक छ कि छैन भनेर छलफल हुनुपर्छ। तर, तपाईँहरुले संसदलाई ‘डिक्टेट’ गरिरहनुभएको छ।
प्रा.डा. केदारभक्त माथेमा, आयोगका संयोजक
हामीहरूले प्रतिवेदन तयार गर्दा चिकित्सा शिक्षाको गुणस्तर र चिकित्सा सेवाको गुणस्तरलाई ध्यान राखेका थियौँ। विशेषगरी दुई वटा कुरामा ध्यान दिएर प्रतिवेदन तयार गरेका हौँ। एक– चिकित्सा शिक्षाको गुणस्तर। दुई– चिकित्सा सेवाको गुणस्तर माथि लैजान हामीले चिकित्सा शिक्षा र सेवामा भएको बेथिति अन्त्य गर्न सहयोग गर्नु। काठमाडौं भित्र जनसंख्याको आधारमा मेडिकल कलेज धेरै भएकाले अब नयाँ खोल्न नहुने सुझाव दिएका हौँ।
काठमाडौं भित्र धेरै नै भइसकेको छ मेडिकल कलेज जति धेरै भो त्यति नै धेरै अस्पताल हुन्छ। धेरै अस्पताल हुँदा राम्रै भयो जस्तो लाग्न सक्छ तर त्यस्तो होइन। धेरै अस्पताल भए विद्यार्थी पढाउन बिरामी पुग्दैन। बिरामी भनेको चिकित्सा शिक्षा पढ्ने विद्यार्थीको लागि ल्याब हो।
जति धेरै बिरामी भए विद्यार्थी त्यति नै सिक्छन्। बिरामी नै नभएको ठाउँमा विद्यार्थीले के सिक्छन्? त्यसैले हामीले काठमाडौंमा नयाँ कलेज खोल्नु हुँदैन भनेका हौँ।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै