मुहार फेर्दै वीर अस्पताल
सधैँजसो फोहोर तथा अस्तव्यस्त रहने मुलुककै जेठो अर्थात् पुरानो वीर अस्पतालको मुहार फेरिएको छ । सरसफाइ अभियान चलाइएपछि वीर अस्पतालको मुहार फेरिएको हो । अभियानको एक महिना बिते पनि सरसफाइ पूर्णरूपले सकिएको छैन ।
स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालको उपस्थितिमा वीर अस्पतालको सफाइ अभियान सुरु गरिएको थियो । हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को नेतृत्वमा रंगरोगनको काम पनि गरिएको थियो । अस्पताल सफाइ अभियानमा आवश्यक सामग्रीहरुको व्यवस्था भने अस्पतालले मिलाएको थियो ।
आजभोलि अस्पतालको ट्वाइलेटको दुर्गन्ध हराएको छ भने दिसापिसाब गर्ने प्यान, कमोडहरु टिलिक्क टल्किएका छन् । नाक थुन्दै भित्र पस्नुपर्ने अवस्थाको अन्त्य भएको छ भने अस्पतालका झ्याल तथा भित्ताहरु पहेँलो र निलो रंगले पोतिएका छन् । भित्ताहरुमा असरल्ल फैलिएको तार ‘लिस्टी’ले बाँधिएको छ । त्यसैगरी प्रत्येक विभाग, इमरजेन्सी, स्टोर रुमदेखि अस्पतालको कुनाकाप्चा पनि रंगिन देखिन थालेका छन् । यससँगै अस्पतालमा आउने बिरामीका लागि बस्ने व्यवस्थासमेत मिलाइएको छ ।
यसअघि वीर अस्पताल फोहोर भएको टिकाटिप्पणी भइरहने गर्थ्याे। आजभोलि अस्पतालको प्रशंसा गर्न थालेका छन् । अस्पतालको यो रूपलाई कायम राख्ने दाबी अस्पतालले गरेको छ । लामो समयदेखि फोहोर तथा अस्तव्यस्त रहेको वीर अस्पताल सरसफाइले मुलुकलाई नै नयाँ सन्देश दिएको छ । अस्पतालको सहयोगमा धुर्मुस सुन्तली फाउण्डेशनले सफाइ गरेको थियो । फाउण्डेशनलाई खेम्स क्लिनिङ, वागमती सफाइ अभियानका अभियन्ता, टेलिसिरियल भद्रगोलको टिम, सिस्नोपानी समूह, महजोडी लगायतले सघाउँदै आएका छन् ।
अभियानका लागि अस्पतालको तर्फबाट १० कर्मचारी तथा अभियन्ताका तर्फबाट १५ स्वयंसेवी गरी जम्मा २५ जनाको समूहलाई चार समूहमा विभाजन गरिएको थियो । त्यसमा अन्य स्वयंसेवीहरुले पनि बेलाबेलामा सघाउँदै आएका छन् ।
१२९ वर्षको इतिहास
गरिब तथा जनतामुखी अस्पतालको रूपमा परिचित यो अस्पताल काठमाडौंको खुल्लामञ्च अगाडि अवस्थित छ । वि.सं. १९४६ साउनमा वीरशमशेरले स्थापना गरेका हुनाले अस्पतालको नाम वीर राखिएको हो । यो अस्पताल सन् २००३ पश्चात् सरकारी एजेन्सी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमार्फत सञ्चालन भइरहेको छ ।
अस्पतालले देशभरका सबै तह र तप्काका व्यक्तिहरूका सस्तो र सर्भसुलभ सेवा प्रदान गर्दै आएको छ । ग्रामीण भेगका धेरै बिरामीहरू अस्पतालमा निःशुल्क सेवा लिन आउने गरेका छन् । हाल अस्पतालमा ४५८ शय्या क्षमताको छ । देशकै प्रसिद्ध डाक्टरहरूमध्ये केही यो अस्पतालमा कार्यरत छन् ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति