Health TV Online
Health TV Online
Health TV Online

भक्तपुरका औषधि पसलले यसरी गर्छन् बिरामीको स्वास्थ्यसँग खेलबाड

भक्तपुरका औषधि पसलले यसरी गर्छन् बिरामीको स्वास्थ्यसँग खेलबाड

भक्तपुर :नगरपालिकालगायत सरोकारवाला निकायले अनुगमनका क्रममा जिल्लामा रहेका औषधि पसलले व्यापक लापरवाही गरेको फेला पारेको छ।

भक्तपुर नगरपालिका, अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा भक्तपुर अस्पताल, मानव अङ्ग, क्यान्सर अस्पताल रहेको दूधपाटी क्षेत्रमा सञ्चालित १० वटा औषधि पसलमा गरिएको अनुगमनका क्रममा यस्तो भेटिएको हो।

अनुगमनका क्रममा सिद्धपोखरी क्लिनिक, डोलेश्वर फर्मा, अल्फाज मेडिकल हल, भक्तपुर अस्पतालको बिमाको औषधि दिने पसलसमेत दर्ता नगरी सञ्चालन गरेको पाइएको छ।

दूधपाटीस्थित बोय्जु फार्मेसीले सिद्धपोखरी क्लिनिक दर्ता नगरी सञ्चालन गरेको, क्लिनिकमा आउने डाक्टरको नामावली बोर्ड नराखी सञ्चालन गरेको, औषधि पसलमा अनुमति प्राप्त व्यक्ति नबसेको पाइएको अनुगमनमा सहभागी बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए।

त्यस्तै प्राइम डेण्टल क्लिनिकमा औषधि पसलमा अनुमति प्राप्त व्यक्ति नबसेको, प्यान र भ्याटको बिल प्रयोग नगरेको, उत्तम मेडिकल हलमा औषधि पसलमा अनुमतिप्राप्त व्यक्ति नबसेको, म्याद नाघेको औषधि राखेको पाइएको छ।

यस्तै डोलेश्वर फर्माले गत वैशाख ३१ गते गरेको अनुगमनमा दर्ता नगरी सञ्चालन गरेको पाइएपछि तत्काल दर्ता गर्न निर्देशन दिएको निर्देशन अझैसम्म पालन नगरेको, एउटा नामको औषधिको बट्टामा अर्कै नामको औषधि राखेको पाइएको समितिले जनाएको छ।

त्यस्तै अल्फाज मेडिकल हललाई पनि गत वैशाख ३१ गतेको अनुगमनमा दर्ता गर्न सुझाव दिए पनि अटेर गरी सञ्चालन गरेको, भक्तपुर अस्पतालको बिमाको औषधि वितरण गर्ने पसलमा नगरपालिकामा दर्ता नगरेको र बिमाको सबै औषधि उपलब्ध नभएको पाइएको छ।

अनुगमन टोलीले औषधि बिक्री गर्ने अनुमति प्राप्त व्यक्तिले मात्रै औषधि बिक्री गर्न, तत्काल पसल दर्ता गर्न, म्याद गुज्रेको औषधि पसलबाट तत्काल हटाउन र मानवीय स्वास्थ्यसँग खेलबाड नगर्न औषधि पसल सञ्चालकलाई निर्देशनसमेत दिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार