Health TV Online
Health TV Online

एन्टिबायोटिकको प्रभावकारिता जोगाउनु आजको आवश्यकता

एन्टिबायोटिकको प्रभावकारिता जोगाउनु आजको आवश्यकता

हेल्थ टिभी अनलाइन : एन्टिमाइक्रोबियल औषधिहरुको जथाभावी प्रयोगका कारण यसको प्रभावकारिता घट्दै गएको भन्दै यसलाई जोगाउने जिम्मा सबैको भएको सरोकारवालाहरुले बताएका छन्। औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले एन्टिबायोटिक भोलिका पुस्ताका लागि जोगाउने हो भने आफैबाट सुरु गरेर एन्टिबायोटिकको सही प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘हामी समाजका सबै व्यक्ति उत्तिकै जिम्मेवार भएर एन्टिबायोटिकको सही प्रयोग गर्न सुरु गरौं, चिकित्सकले पनि जथाभावी एन्टिबायोटिक नलेखौं साथै बिरामीले पनि आफूखुखी एन्टिबायोटिक किनेर खाने बानी बिस्तारै हटाउँदै जाऔं । यसले केही हदसम्म समस्या कम गर्न हामी जिम्मेवार भएको ठहर्नेछ ।’ यसका साथै एन्टिबायोटिककाबारेमा औषधि पसलमा गएर फर्मासिस्टहरुलाई पनि सचेत गराउन पर्नेमा उनले जोड दिए । फर्मासिस्टले सिफारिस बिना एन्टिबायोटिक दिन नहुनेमा उनको जोड थियो ।

पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालले वर्षेनी लाखौं मानिसको ज्यान लिने एन्टीमाइक्रोबियल रेसिस्टेन्सकाबारेमा अब भने धेरै नै सोच्नपर्ने बेला आइसकेको जिकीर गरे । उनले भने, ‘सामान्य रुघाखोकी लाग्यो भने हामी सिधै एजिथ्रोमाइसिन किनेर खान्छौं । आफै जान्ने भएर परीक्षण नगरी यो होला भनेर कडा एन्टिबायोटिक खान्छौं यो बानीले हामीलाई अप्ठेरो परिरहेको छ । उनल थपे, यति मात्र होइन अलिअलि सञ्चो भयो भने बीचमै औषधि छोडिदिन्छौं । डोज नै पूरा नगरी । यो अझै घातक हुन्छ । यो कुरा सबैले बुझौं औषधि कम खानु पनि र बढी खानु पनि घातक हो ।’

विश्व स्वास्थ्य संगठनका कार्यवाहक प्रमुख डा एलिसन गाेकाेटानाेले एएमआर सबैको साझा समस्या भएकाले सबै मिलेर यसको समाधानमा लाग्नुको विकल्प नभएको बताए । उनले एएमआर कम गर्न मिडियाको भूमिका अझ बढी हुनसक्ने भन्दै सही सूचनाले धेरैलाई सचेत गराउने र यो गर्नसक्ने क्षमता पत्रकारहरुसँग भएको बताए । उनले भने, पत्रकारसँग विशेष क्षमता हुन्छ जसले धेरै नागरिककोमा एकै पटक सही सूचना पुराउन सक्छन् । यो समस्या मानव स्वास्थ्यमा मात्र सिमित नभएर कृषि, वातावरण, पशुपंक्षी तथा खाद्यसँग पनि जोडिने भएकाले सबै सरोकारवाला एकै ठाउँमा भेला भएर वान हेल्थ अप्रोचमा काम गर्नपर्नेमा उनले जोड दिए ।

एफएओ नेपालका लाइभस्टक एण्ड वान हेल्थ एड्भाइजर डा सुरेन्द्र कार्कीले एन्टिबायोटिकको सही प्रयोग नगरेमा फेरि प्रि एन्टिबायोटिक एरातिर जानसक्ने र सामान्य संक्रमणबाट पनि औषधिले काम नगर्ने अवस्था आएर मृत्यु हनुसक्ने अवस्था आउनसक्ने बताए । उनले भने, ‘बेलैमा एन्टिबायोटिकको सही प्रयोग भएन भने भएका एन्टिबायोटिकले काम नगर्ने र नयाँ एन्टिबायोटिक नबन्ने अवास्थामा बिरामीको मृत्यवरण गर्नुपर्ने अवस्था हुनसक्छ । त्यसैले अहिले भएका एन्टिबायोटिकलाई जथाभावी प्रयोग नगरौं । यी औषधि भावी पुस्ताका लागि पनि काम लाग्ने गरी जोगाउने जिम्मा हाम्रै हो ।’

यसैगरी ग्लोबल एएमआर मिडिया अलायन्स नेपाल च्याप्टरकी अध्यक्ष कल्पना आचार्यले एएमआर सम्बन्धी जनचेतना आम नागरिक समक्ष पुराएर उनीहरुलाई यसकारबारेमा सचेत गराउन मिडियाले भूमिका खेल्नपर्नेमा जोड दिइन, उनले भनिन, ‘मिडियाको काम सूचना दिने मात्र होइन सही सूचना दिएर नागरिकको व्यवहार परिवर्तन गराउन सक्नु पनि हो ।’ एन्टिबायोटिकको दुरुपयोगका कारण हुने जोखिमकाबारेमा नागरिकलाई सचेत गराउने काममा एक साता एएमआर सचेतना सप्ताहमा मात्र समाचार लेखेर नपुग्ने भन्दै यसकाबारेमा नियमित सूचना सम्प्रेषण गर्नपर्नेमा उनले जोड दिइन्। यो स्वास्थ्यकर्मी वा राज्यको मात्र दायित्व होइन, नागरिकका हिसाबले हाम्रो पनि उत्तिकै दायित्व हो, उनले थपिन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

पत्रकारका लागि फेलोसिप र तालिमको अवसर

पत्रकारका लागि फेलोसिप र तालिमको अवसर