मस्तिष्क मृत्युपछिको अङ्गदान, पुण्य काम
हेल्थ टिभी अनलाइन : मस्तिष्क मृत्युपछि गरिने अंग दान सबैभन्दा पुण्य काम भएको भन्दै सबैलाई यसबारे सचेत भएर अंग दान गर्न आग्रह गरिएको छ । विश्व अङ्गदान दिवसका अवसरमा स्वस्थ अभियान नेपालले नेपालमा मस्तिष्क मृत्युबाट हुने अङ्गदानलाई प्रभावकारी र व्यवस्थित बनाउनुपर्नेमा जोड दिँदै आयोजना गरिएको कार्यक्रमको त्यस्तो भनिएको हो । अङ्ग फेल भएका व्यक्तिलाई सहयोग गर्ने, अङ्गदानसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने तथा नीतिगत सुधारका लागि पैरवी गर्दै आएको स्वास्थ्य अभियान नेपालले आयोजना गरेको कार्यक्रममा चिकित्सक, अङ्ग प्रत्यारोपण विज्ञ, धार्मिक गुरु, कलाकार, सञ्चारकर्मी, अङ्ग प्रत्यारोपण गराएका व्यक्ति, अङ्गदाता परिवार तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा नेपालमा अङ्ग प्रत्यारोपणको वर्तमान अवस्था, मस्तिष्क मृत्युबाट हुने अङ्गदानको सम्भावना, कानुनी व्यवस्था, अस्पतालको भूमिका, जनचेतना तथा धार्मिक मान्यताका विषयमा विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रममा अङ्ग प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठले नेपालमा करिब दुई दशकअघिसम्म अङ्ग प्रत्यारोपणको सम्भावना अत्यन्त सीमित रहेको भए पनि अहिले मुलुकमै जटिल अङ्ग प्रत्यारोपण सम्भव भएको बताए । नेपालमा सन् २००८ मा मिर्गौला र सन् २०१६ मा कलेजो प्रत्यारोपण सेवा सुरु भएको जानकारी दिँदै उनले हालसम्म करिब तीन हजार जनाको मिर्गौला र ७५ जनाको कलेजो प्रत्यारोपण भइसकेको बताए । मस्तिष्क मृत्यु भएका व्यक्तिबाट हुने अङ्गदानलाई प्रत्यारोपण सेवाको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गर्दै डा. श्रेष्ठले एक जना मृत अङ्गदाताबाट आठभन्दा बढी बिरामीको जीवन बचाउन सकिने जनाए । उनका अनुसार नेपालमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अङ्गदान गर्न सकिने कानुनी व्यवस्था भए पनि हालसम्म नौ जना मृत अङ्गदाताबाट मात्र २३ वटा ठोस अङ्ग प्रत्यारोपण सम्भव भएको छ । तीमध्ये १७ वटा मिर्गौला, पाँचवटा कलेजो र एउटा संयुक्त कलेजो–मिर्गौला प्रत्यारोपण भएको उहाँले जानकारी दिए । मृत दाताबाट हुने अङ्ग प्रत्यारोपण नेपालमा सन् २०१७ मा मिर्गौला प्रत्यारोपणबाट सुरु भएको बताउँदै डा. श्रेष्ठले जनचेतना मात्र पर्याप्त नभई सम्भावित अङ्गदाता पहिचान, मस्तिष्क मृत्युको समयमै घोषणा, परिवारसँग समन्वय, अङ्ग संकलन र प्रत्यारोपणका लागि आवश्यक संरचना सुदृढ गर्नुपर्ने बताए ।
जनचेतना नै सबैभन्दा महत्वपूर्ण
कार्यक्रममा वक्ताहरूले अङ्गदानको विषयमा अझै पर्याप्त जनचेतना नहुँदा ठूलो सम्भावना उपयोग हुन नसकेको बताए । नेपालमा नसर्ने रोगको भार बढ्दै जाँदा मिर्गौला, कलेजोलगायतका अङ्ग फेल हुने समस्या पनि बढिरहेको उहाँहरूको भनाइ थियो । रोजगारीका लागि विदेशमा रहेका नेपालीमा समेत अङ्ग फेल हुने समस्या देखिने गरेको भन्दै वक्ताहरूले देशभित्र तथा विदेशमा रहेका नेपालीलाई समेत अङ्गदानको महत्वबारे जानकारी गराउनुपर्ने बताए । अङ्ग प्रत्यारोपणको पर्खाइमा रहेका बिरामीको सङ्ख्या ठूलो भए पनि दाताको अभाव प्रमुख चुनौती बनेको उनीहरुले बताए । मृत्यु भएपछि खरानी भएर जाने अङ्ग दान गरेर अरूको जीवन बचाउन सकिने भएकाले अङ्गदानलाई सामाजिक संस्कारका रूपमा विकास गर्नुपर्नेमा जोड दिइएको थियो । वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले समाजमा मस्तिष्क मृत्युबारे अझै पर्याप्त बुझाइ नरहेको बताए ।मस्तिष्क मृत्यु भएपछि पनि बिरामी बाँच्न सक्ने अवस्था रहेको भन्ने भ्रमका कारण परिवारलाई अङ्गदानका लागि सहमत गराउन कठिन हुने उनको भनाई थियो । उनले मस्तिष्क मृत्युको घोषणा निश्चित चिकित्सकीय मापदण्डका आधारमा गर्नुपर्ने भएकाले यसको प्रक्रिया सहज नभएको जिकीर गरे।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले अङ्गदान मानव सेवाको महान कार्य भएको बताउँदै आफू मात्र बाँच्ने नभई मृत्युपछि पनि अरूलाई जीवन दिन सकिने भएकाले अङ्गदानको महत्व समाजले बुझ्नुपर्नेमा जोड दिए । वरिष्ठ चिकित्सक डा. भोला रिजालले पनि अङ्गदानलाई स्वास्थ्य क्षेत्रको विषयमा मात्र सीमित नराखी सामाजिक अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । गोरखापत्र दैनिकका प्रधान सम्पादक जुनारबाबु बस्नेतले अङ्गदानको संस्कृति विकास गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताए । अङ्गदानको विषयलाई सामाजिक सञ्जालका अन्य विषयसँग मात्र तुलना गरेर नहेरी यसको मानवीय पक्षलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा हिन्दु, बौद्ध र मुस्लिम धर्मगुरुको सहभागिता विशेष रहेको थियो। भिक्षु कोण्डन्य, हिन्दु गुरु चिन्तामणि योगी तथा मुस्लिम धर्मगुरु काजी अबुबकर सिद्दिकी कास्मी नले धार्मिक दृष्टिकोणबाट अङ्गदान गर्न रोक्ने व्यवस्था नरहेको स्पष्ट पारेका थिए । धर्मका नाममा अङ्गदान गर्न हुँदैन भन्ने धारणा सही नभएको उनीहरुको भनाई थियो । मानव जीवन बचाउने र पीडितलाई सहयोग गर्ने कार्य भएकाले अङ्गदानलाई धर्मको मूल भावना विपरीतका रूपमा लिन नहुने उनीहरुको भनाइ थियो ।
कार्यक्रममा नेपालमा अङ्ग प्रत्यारोपणसम्बन्धी कानुनी व्यवस्था तुलनात्मक रूपमा उदार र प्रगतिशील रहेको बताइएको थियो। डा.श्रेष्ठले कानुन निर्माणमा विभिन्न क्षेत्रका व्यक्तिको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै वक्ताहरूले कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।
नेपालमा हरेक महिना उल्लेख्य सङ्ख्यामा मस्तिष्क मृत्यु हुने सम्भावना भए पनि त्यसको तुलनामा अङ्गदान अत्यन्त न्यून रहेको बताउँदै अस्पतालहरूलाई यस प्रक्रियामा अझ जिम्मेवार बनाउनुपर्ने धारणा व्यक्त गरिएको थियो। कार्यक्रममा मस्तिष्क मृत्यु भएका व्यक्तिका परिवार तथा अङ्गदान प्रक्रियालाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने समन्वयकर्तालाई सम्मान गरिएको थियो।




मस्तिष्क मृत्युपछिको अङ्गदान, पुण्य काम
यसरी जोगाउनुस् मिर्गौला
विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त