Health TV Online
Health TV Online
Health TV Online

वर्षौदेखि नियन्त्रणका सेवा विस्तार हुँदाहुँदै पनि किन अन्त्य हुन सकेन क्षयरोग ?

वर्षौदेखि नियन्त्रणका सेवा विस्तार हुँदाहुँदै पनि किन अन्त्य हुन सकेन क्षयरोग ?

हेल्थ टिभी अनलाइन : क्षयरोग टीबी को पहिचान र उपचार सेवामा विगत केही दशकमा उल्लेखनीय विस्तार भए पनि विश्व अझै क्षयरोग अन्त्य गर्ने लक्ष्यबाट धेरै टाढा रहेको जनस्वास्थ्य विज्ञ डा तारा सिंह बामले बताएका छन्।

उनका अनुसार क्षयरोग नियन्त्रण कार्यक्रमले अनुमानित ७० प्रतिशत बिरामी पहिचान गर्ने र पहिचान भएका ८५ प्रतिशत बिरामीको सफल उपचार गर्ने लक्ष्य हासिल गर्दै लाखौंको ज्यान जोगाएको छ। तर ूउपचार मात्रै बढाएर टीबी अन्त्य गर्न सकिँदैन। हामी रोगको उपचार गर्न त सफल भएका छौं, तर रोग हुनै नदिन पर्याप्त प्रयास गर्न सकेका छैनौं, उनले भने ।

स्थानीय नेतृत्व र राजनीतिक प्रतिबद्धताको अभाव

डा बमका अनुसार टीबी अन्त्य गर्न स्थानीय सरकार, विशेषगरी मेयरहरूको नेतृत्व अत्यन्त महत्वपूर्ण छ। राष्ट्रिय सरकारले नीति बनाए पनि त्यसको प्रभावकारी कार्यान्वयन स्थानीय तहबाट हुने भएकाले स्थानीय विकास योजनामा टीबी रोकथामलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

उनले सुर्तीजन्य पदार्थ नियन्त्रण, पोषण सुधार, प्रारम्भिक परीक्षण विस्तार, स्थानीय स्रोत परिचालन, विभिन्न क्षेत्रबीच समन्वय र सबै नागरिकलाई समान पहुँच सुनिश्चित गर्न सके टीबी नियन्त्रणमा ठूलो उपलब्धि हासिल गर्न सकिने बताए।

टीबीका मूल कारण अझै समाधान भएनन, किन ?

डा बमका अनुसार टीबीका अधिकांश नयाँ बिरामी धूमपान, अत्यधिक मदिरा सेवन, कुपोषण, मधुमेह र एचआईभी संक्रमणसँग सम्बन्धित छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२४ मा मात्रै विश्वभर करिब ९ लाख ७० हजार टीबीका घटना कुपोषणका कारण, ९ लाख ३० हजार मधुमेहका कारण, ७ लाख ४० हजार अत्यधिक मदिरा सेवनका कारण, ७ लाख धूमपानका कारण र ५ लाख ७० हजार एचआईभी संक्रमणका कारण भएको अनुमान गरिएको छ। मधुमेह भएका र धूमपान गर्ने व्यक्तिमा टीबी हुने जोखिम धेरै हुने उदाहरण दिँदै उनले जोखिम कारक नियन्त्रण नगरी उपचार मात्रै गर्दा समस्या दोहोरिने बताए।

स्वास्थ्य प्रणाली अझै पनि रोग लागेपछि मात्रै सक्रिय

अधिकांश देशमा टीबी कार्यक्रम बिरामी भएपछि मात्रै सुरु हुने गरेको भन्दै उनले यसले संक्रमण फैलिन पर्याप्त समय दिने बताए।
उनका अनुसार लगातार खोकी लागेका धेरै व्यक्तिले महिनौंसम्म स्वास्थ्य संस्था नपुग्दा परिवार र समुदायमा संक्रमण फैलिन सक्छ। सक्रिय रूपमा प्रारम्भिक परीक्षण गर्न सके यस्ता संक्रमण रोक्न सकिने उनको भनाइ छ।

सीमित स्क्रिनिङले सबै बिरामी भेटिँदैनन्

हाल धेरै देशमा निष्क्रिय रूपमा बिरामी आउने प्रतीक्षा गर्ने वा एचआईभी संक्रमित, कैदी तथा शरणार्थी जस्ता निश्चित समूहमा मात्रै परीक्षण गर्ने अभ्यास रहेको छ।

डा बमका अनुसार टीबी उन्मूलनतर्फ अघि बढ्न उच्च जोखिम भएका समुदायमा व्यापक सामुदायिक स्क्रिनिङ, सम्पर्कमा आएका व्यक्तिको खोजी र रोकथामात्मक उपचारलाई विस्तार गर्न आवश्यक छ।

गरिबी र सामाजिक समस्या अझै प्रमुख चुनौती

टीबी गरिबी, भीडभाडयुक्त आवास, कुपोषण तथा स्वास्थ्य सेवामा सीमित पहुँचसँग प्रत्यक्ष जोडिएको उनले बताए।

उपचार निःशुल्क भए पनि धेरै बिरामीले यातायात खर्च, दैनिक ज्याला गुम्ने अवस्था र खाद्य असुरक्षाका कारण उपचार ढिलो गर्ने गरेको उनले उल्लेख गरे। आर्थिक कठिनाइका कारण धेरै मानिस समयमै परीक्षण, उपचार, रोकथामात्मक औषधि, पोषण सहयोग तथा मधुमेह, एचआईभी र धूमपान नियन्त्रण सेवाबाट वञ्चित हुने गरेका छन्।

रोकथाममा अझै कम लगानी

उनले अधिकांश लगानी उपचारमा केन्द्रित रहेकाले रोकथाममा पर्याप्त ध्यान नदिइएको बताए। टीबी रोकथामका लागि धूमपान नियन्त्रण, मदिरा सेवन घटाउने कार्यक्रम, मधुमेह नियन्त्रण, एचआईभी रोकथाम, पोषण सुधार तथा जोखिम समूहलाई रोकथामात्मक औषधि उपलब्ध गराउने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उनले बताए।

स्वास्थ्य करबाट दोहोरो लाभ

टीबी नियन्त्रणमा बजेट अभावलाई मात्रै समस्या मान्न नहुने भन्दै डा। बामले सुर्तीजन्य पदार्थ, मदिरा र चिनी मिसिएका पेय पदार्थमा स्वास्थ्य कर बढाएर ठूलो आन्तरिक स्रोत जुटाउन सकिने बताए।

यसले एकातिर धूमपान तथा मदिरा सेवन घटाउने र अर्कोतर्फ प्राप्त राजस्वलाई टीबी रोकथाम, प्राथमिक स्वास्थ्य सेवा र सार्वभौमिक स्वास्थ्य सेवामा लगानी गर्न सकिने भएकाले यसलाई ुदोहोरो लाभु भएको रणनीति उनले बताए।

उपचारबाट रोकथामतर्फ जानुपर्ने समय

डा बमका अनुसार अहिलेको आवश्यकता उपचारमा केन्द्रित मोडेलबाट रोकथाममुखी, नागरिक केन्द्रित र बहुक्षेत्रीय रणनीतितर्फ रूपान्तरण हो।

उनले टीबी कार्यक्रमलाई धूमपान तथा मदिरा नियन्त्रण, मधुमेह तथा एचआईभी सेवा, पोषण कार्यक्रम, सामाजिक सुरक्षा, आवास सुधार र गरिबी न्यूनीकरणसँग एकीकृत गर्नुपर्ने बताए। टीबीको उपचारले आजको ज्यान बचाउँछ, तर टीबीको रोकथामले आजको मात्र होइन, भविष्यका पुस्ताको पनि ज्यान जोगाउँछ, उनले भने।

डा तारा सिंह बम भाइटल स्ट्राटेजी एशिया प्यासिफक निर्देशक (टोबाको कन्ट्रोल ) हुन् ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार