डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
प्राकृतिक चिकित्साप्रति भ्रम नफैलाउन आग्रह
हेल्थ टिभी अनलाइन : प्राकृतिक चिकित्सक डा चेतना पौडेलको पक्राउ प्रकरणलाई लिएर नेपाल योग तथा प्राकृतिक चिकित्सक संघले उनी नक्कली चिकित्सक नभएको स्पष्ट गर्दै योग तथा प्राकृतिक चिकित्साप्रति भ्रम फैलाइएको जनाएको छ।
संघका उपाध्यक्ष डा दिनेश राईद्वारा जारी विज्ञप्तिमा डा पौडेल भारतको प्रतिष्ठित विश्वविद्यालयबाट ब्याचलर अफ नेचुरोप्याथी एन्ड योगिक साइन्स BNYS को साढे पाँच वर्षे अध्ययन पूरा गरेकी तथा नेपालमा उक्त उपाधिको समकक्षता समेत प्राप्त गरिसकेको उल्लेख गरिएको छ। यस्तो अवस्थामा उनलाई नक्कली डाक्टर भनेर प्रचार गर्नु तथ्यपरक नभएको संघको भनाइ छ।
संघले नेपालमा विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगबाट समेत मान्यता प्राप्त शैक्षिक कार्यक्रमलाई कसरी नक्कली भन्न सकिन्छ भन्ने प्रश्न उठाएको छ।
विज्ञप्तिअनुसार नेपाल सरकार मन्त्रिपरिषद्को २०५९ असार २० गतेको निर्णय तथा २०५९ असार २७ गते प्रकाशित नेपाल राजपत्रमार्फत प्राकृतिक चिकित्सालाई राष्ट्रिय स्वास्थ्य सेवा प्रणालीअन्तर्गत औपचारिक रूपमा समावेश गरिएको थियो।
संघले नेपाल मेडिकल काउन्सिल ऐन एलोपेथिक चिकित्सकको दर्ता र नियमनका लागि बनेको कानुनी व्यवस्था भएको उल्लेख गर्दै आयुर्वेद, होमियोप्याथी तथा अन्य वैकल्पिक चिकित्सा पद्धतिका चिकित्सक सम्बन्धित निकायमा दर्ता हुने व्यवस्था रहेको जनाएको छ। प्राकृतिक चिकित्साका लागि छुट्टै परिषद् नबनेको अवस्थामा नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता हुने कानुनी अभ्यास रहेको पनि विज्ञप्तिमा उल्लेख छ।
संघका अनुसार प्राकृतिक चिकित्सक तथा होमियोप्याथिक चिकित्सकहरू नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ बमोजिम दर्ता हुँदै आएकाले उनीहरूको अभ्यासलाई अवैधानिक भन्न नमिल्ने अवस्था रहेको छ।
संघले विश्व स्वास्थ्य संगठनले समेत मान्यता दिएको र विश्वका सयभन्दा बढी देशमा अभ्यास भइरहेको प्राकृतिक चिकित्सा पद्धतिलाई नक्कली भन्नु उचित नहुने जनाएको छ। प्राकृतिक चिकित्सा मुख्यतः स्वस्थ जीवनशैली, सन्तुलित खानपान तथा रोगको रोकथाममा केन्द्रित चिकित्सा प्रणाली भएको उल्लेख गर्दै आवश्यक निदानका लागि कानुनले दिएका सीमाभित्र रहेर केही परीक्षण सिफारिस गर्न सकिने व्यवस्था पनि रहेको जनाएको छ।
विज्ञप्तिमा प्राकृतिक चिकित्सा सम्बन्धी भ्रम हटाउन कानुनी आधार थप स्पष्ट बनाउन, प्राकृतिक चिकित्साको छुट्टै परिषद् गठन गर्न तथा पेशागत अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ। साथै प्राकृतिक चिकित्साप्रति गलत सूचना र भ्रम नफैलाउन पनि सबै पक्षसँग आग्रह गरिएको छ।
डा पौडेल पक्राउ परेपछि भारतको इन्डियन नेचुरोप्याथी एन्ड योग ग्राजुएट्स मेडिकल एसोसिएसनले पनि छुट्टै प्रेस विज्ञप्ति जारी गर्दै डा पौडेलको गिरफ्तारी तथा उनीमाथि लगाइएको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।
असार ९ मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले गैरकानुनी रुपमा चिकित्सा अभ्यासमा सक्रिय रहेको भन्दैं डा चेतनालाई पक्राउ गरेको थियो ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित