नेपालमा आमा र नवजात शिशु स्वास्थ्यमा सुधार
सहायता कटौतीका कारण प्राप्त उपलब्धि जोखिममा पर्न सक्ने
हेल्थ टिभी अनलाइन : नेपालमा आमा र नवजात शिशु स्वास्थ्यमा सुधार भएको तथ्यांक सार्वजनिक भएको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर आज सार्वजनिक गरिएको नयाँ प्रतिवेदनअनुसार मातृ मृत्युदर घटेको छ र महिलाहरू गर्भावस्था र प्रसुती अवस्थामा पहिलेभन्दा बढी सुरक्षित भएको देखिएको छ । तर संयुक्त राष्ट्रसंघका निकायहरूले विश्वभर भइरहेको सहायता कटौतीका कारण प्राप्त उपलब्धिहरू जोखिममा पर्न सक्नेमा ध्यानाकर्षण गराएका छन ।
World Health Day विश्व स्वास्थ्य दिवसका अवसरमा सार्वजनिक गरिएको मातृ मृत्युदर सम्बन्धी संयुक्त राष्ट्रको प्रतिवेदन अनुसार सन २००० देखि २०२३ सम्ममा मातृ मृत्युमा विश्वव्यापी रूपमा ४० प्रतिशतले कमी आएको छ, जुन मुख्यतः आवश्यक स्वास्थ्य सेवाहरूको पहुँचमा भएको सुधारका कारणले भएको हो । तर प्रतिवेदनका अनुसार सन २०१६ पछि सुधारको गति सुस्त भएको छ, र सन २०२३ मा करिब २६०,००० महिलाहरूले गर्भावस्था वा प्रसूति हुने क्रममा जटिलताका कारण ज्यान गुमाएका छन, अर्थात औसतमा प्रत्येक दुई मिनेटमा एक जना आमाको मृत्यु भइरहेको छ ।
उक्त प्रतिवेदन अनुसार हाल नेपालमा मातृ मृत्युदर घटेर १४२ प्रति एक लाख जीवित जन्म पुगेको छ, जुन सन २००० को तुलनामा ७१ प्रतिशतभन्दा कम हो । त्यसैगरी, नवजात शिशु मृत्युदर घटेर १६.६ प्रति १,००० जीवित जन्म पुगेको छ । मृत जन्मदर १३.५ प्रति १,००० जन्म रहेकोे छ । कार्यक्रममा बोल्दै परिवार कल्याण महाशाखाका निर्देशक डा विवेक कुमार लालले भने, ‘नेपालमा नवजात शिशु र मातृ स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । यही गतिमा काम गर्न सकेमा सन् २०३० सम्मा लिइएको लक्ष्य अनुरुप मातृमृत्यु र नवजात शिशु मृत्युदर घटाउन सफल हुन सकिन्छ ।’
यसरी उपलब्धि मनाइरहँदा प्रदेश र जिल्लाहरूबीच कायम रहेका स्वास्थ्य असमानताहरूलाई मनन गर्न पनि आवश्यक रहेको जसका कारण धेरै महिला र परिवारहरू गुणस्तरीय प्रसूति सेवाको पहुँचबाट वञ्चित भइरहेका छन । यो असमानतालाई हटाउन र मातृ मृत्युदरको दिगो विकास लक्ष्य हासिल गर्न, हामीले महिला तथा नवजात शिशुहरूको स्वास्थ्य तथा आरोग्यतालाई प्राथमिकता दिनु पर्छ र त्यसअनुसार लगानी पनि गर्नुपर्छ, डा राजेश सम्भाजीराव पाण्डव, विश्व स्वास्थ्य संगठन नेपालस्थित कार्यालयका प्रमुखले भने ।
मानवीय सहायताका लागि अनुदानमा भइरहेको कटौतीले विश्वका धेरै ठाउँहरूमा आवश्यक स्वास्थ्य सेवामा गम्भीर असर पारिरहेको छ, जसका कारण राष्ट्रहरू आमा, नवजात शिशु र बालबालिको स्वास्थ्यसँग सम्बन्धित अत्यावश्यक सेवाहरू रोक्न बाध्य भएको वर्तमान समयमा योप्रतिवेदन सार्वजनिक गरिएको छ । अनुदानमा भएका यी कटौतीहरूले स्वास्थ्य संस्था बन्द हुने, स्वास्थ्यकर्मीहरूको कमी हुनेजस्ता समस्याहरू उत्पन्न गराएका छन, साथै मातृ मृत्युका प्रमुख कारकको रुपमा रहेका रक्तस्राव, प्रि–एक्लेम्सिया (गर्भावस्थामा हुने उच्च रक्तचाप) र मलेरियाको उपचारमा प्रयोग हुने औषधी र उपकरणहरूको आपूर्ति समेत अवरुद्ध भइरहेको छ ।
यदि तत्काल कदम चालिएन भने धेरै देशहरूमा, जहाँ मानवीय संकट छ र मातृ मृत्युदर पहिले नै उच्च छ, गर्भवती महिलाहरूले गम्भीर परिणामहरुको सामना गर्नेछन भनी सम्बन्धित निकायहरूले ध्यानाकर्षण गराएका छन । गर्भावस्था, प्रसव र सुत्केरी अवस्थामा अत्यावश्यक सेवाहरू सुनिश्चित गर्नुका साथै, प्रतिवेदनले महिलाहरूको समग्र स्वास्थ्य सुधार गर्नका लागि परिवार योजना सेवामा पहुँच बढाउने, र मातृ मृत्युको जोखिम बढाउने रक्तअल्पता, मलेरिया (औलो) तथा अन्य नसर्ने रोगहरूजस्ता स्वास्थ्य समस्याहरूको रोकथाम गर्ने प्रयासहरूको महत्तवलाई जोड दिएको छ । यसका साथै, किशोरीहरूलाई शिक्षा सुनिश्चित गर्नु, र महिलाहरू तथा किशोरीहरूलाई आफ्नो सुस्वास्थ्यका लािग आवश्यक ज्ञान र स्रोतहरू उपलब्ध गराउनु पनि अत्यन्त महत्वपूर्ण हुने प्रतिवेदनले उल्लेख गरेको छ ।
नेपालमा आमा र नवजात शिशु स्वास्थ्यमा सुधार
गुणकारी फल अनार
अपांगता भएका महिलालाई प्रजनन स्वास्थ्य सेवा लिनै मुश्किल
काठमाडौंमा वायु प्रदूषण : स्वास्थ्य मन्त्रालयद्धारा सतर्कता अपनाउन आग्रह
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३३ औं कलेजो प्रत्यारोपित डिस्चार्ज