कोभिड महामारीका कारण विश्वभर २ करोड ३० लाख बालबालिका नियमित खोपबाट वञ्चित
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोभिड -१९ को विश्वव्यापी महामारीका कारण विश्वभर २ करोड ३० लाख बालबालिका नियमित खोप सेवाबाट वञ्चित हुन परेको तथ्य सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठन र यूनिसेफले भर्खर निकालेको तथ्यांक अनुसार सन् २०२० मा २ करोड ३० लाख बालबालिका नियमित स्वास्थ्य सेवा अन्तर्गतको आधारभूत खोप लिनबाट वञ्चित भएका हुन्। यो संख्या सन् २००९ पछिको सबैभन्दा धेरै भएको र सन् २०१९ को भन्दा ३७ लाख बढी भएको बताइएको छ ।
यो विस्तृत विश्वव्यापी बाल्यकालिन खोपहरुसम्बन्धी तथ्याङ्क, कोभिड–१९ को कारणबाट विश्वभरी अवरुद्ध भएका सेवाहरुबारे अवगत गराउने पहिलो आधिकारिक तथ्याङ्क हो । यसले धेरै देशहरूमा अघिल्लो वर्ष बाल्यावस्थाको खोप कभरेजदरमा कमी आएको देखाएको छ ।
अध्ययन अनुसार यी बालबालिकाहरू मध्य धेरै जसो १ करोड ७० लाख बालबालिकाले गत वर्ष एउटा पनि खोप नपाएको सम्भावना रहेको र खोपको पहुँचमा भएको असमानता अझै बढेको देखिन्छ । यी मध्ये धैरेजसो बालबालिकाहरु द्वन्द्वबाट ग्रस्त समुदायहरु, सेवा–सुविधा अपुग दुर्गम क्षेत्र वा अनौपचारिक वा सुकुम्बासी वस्ती जस्ता ठाउँमा बस्ने गर्दछन्, जहाँ उनीहरुले आधारभूत स्वास्थ्य तथा सामाजिक सेवाहरू लगायतका विभिन्न सेवाहरुको पँहुचबाट बञ्चित हुने परिस्थितिको सामना गर्नु परेको देखिएको छ ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अद्हानोम घेब्रेयससले भने, ‘कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि देशहरुले दृढरुपमा आवाज उठाईरहेको बेला हामी अन्य खोपहरूमा भने पछाडी परिरहेका छौं जसले गर्दा बालबालिकाहरू घातक तर खोपबाट बचाउन सकिने रोगहरू जस्तै दादुरा, पोलियो र मेनिन्जाइटिस जस्ता रोगहरूको जोखिममा परेका छन् । यसै कारणबाट अनेक रोगहरूको महामारी भएमा कोभिड–१९ विरुद्ध लडिरहेको समुदाय र समग्र स्वास्थ्य प्रणालीको लागि यो विनाशकारी हुनेछ । त्यसैले तत्काल बाल्यावस्थामा दिइने खोपहरुमा लगानी गरेर प्रत्येक बालबालिकामा खोपको सुनिश्चितता गर्नु अहिले झन् बढी जरुरी छ ।’
सन् २०१९ को तुलनामा ३५ लाखभन्दा बढी बालबालिकाले डि.पी.टी को पहिलो मात्रा र साथै ३० लाख भन्दा बढी बालबालिकाहरूले दादुरा विरुद्धको खोपको पहिलो मात्रा लिन छुटेका छन् ।
युनिसेफका कार्यकारी निर्देशक हेनरियट्टा फोरले भने, ‘यो तथ्य हाम्रो लागी स्पष्ट चेतावनी हुनुपर्दछ, कोभिड -१९ को महामारी र सम्बन्धित अवरोधहरुले हामीले हासिल गरेका महत्वपूर्ण उपलब्धिहरु गुमाउने अवस्थामा पुराउन सक्छ र गुमायौं भने यसको मुल्य सबैभन्दा बढी जोखिममा रहेकाहरुले आफनो जीवन र स्वास्थ्यबाट चुकाउनु पर्ने अवस्था हुन्छ । कोभिड- १९ को महामारी सुरु हुनु अगाडि नै हामीले बालबालिकाहरूलाई खोपबाट बचाउन सकिने बाल्यकालिन अवस्थामा हुने रोगहरूबाट बचाउन पर्याप्त ध्यान दिन नसकेको चिन्ताजनक संकेत पाइएको थियो, जसमा दुई बर्ष अगाडि वृहतरुपमा फैलिएको दादुराको महामारीलाई समेत लिन सकिन्छ । अहिलेको कोभिड- १९ को महामारीले यो अवस्थालाई झनै जटिल बनाएको छ । कोभिड- १९ विरुद्धको खोपको समतामूलक वितरण हुनुपर्छ भनेर हामी सबैको बिचार भए पनि खोपको वितरणमा विभेद हुने गरेको छ भन्ने बारेमा हामीले हेक्का राख्नुपर्छ र त्यस्तो विभेद हुन दिनु हुँदैन ।’
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त