Health TV Online
Health TV Online
Health TV Online

नेपाललाई अमेरिकी र स्वीस सरकारबाट स्वास्थ्य सामग्री सहयोग

नेपाललाई अमेरिकी र स्वीस सरकारबाट स्वास्थ्य सामग्री सहयोग

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाललाई अमेरिका र स्वीटजरल्याण्डले कोरोना विरुद्ध लड्न शनिबार विविध स्वास्थ्य सामग्री र उपकरण प्रदान गरेका छन्।

महामारीविरुद्ध खोप, जीवन रक्षक औषधि, उपकरणलगायत सहायताका निम्ति सरकारले गरेको आग्रहअनुरूप ती देशले सहायता सामग्री प्रदान गरेका हुन्। अमेरिकी र स्वीस सरकारले विशेष विमानबाट पठाएका ती सामग्री सम्बद्ध अधिकारीहरूले नेपाल सरकारलाई शनिबार नै हस्तान्तरण गरेका छन्।

त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा भएको कार्यक्रममा नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिसावेथ भोन क्याप्लरले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई ११ लाख थान एन्टिजेन टेस्ट किट, १० थान अक्सिजन कन्सन्ट्रेटर, एक हजार थान अक्सिजन नेजल क्यानुला, ४० वटा भेन्टिलेटर, एक लाख १० हजार वटा केएन ९५ मास्क, ५० हजार वटा पञ्जा, १५ हजार थान व्यक्तिगत सुरक्षा उपकरण, १२० वटा मास्क फर हमिल्टन टीआई, १४० थान सर्किट भल्भ फर हमिल्टन टीआई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्री त्रिपाठीले स्वीस सरकार र जनताको उदार सहायताप्रति कृतज्ञता ज्ञापन गर्दै प्राप्त सहयोग सङ्क्रमण नियन्त्रण, जीवन रक्षा तथा कोरोना विरुद्धको नेपाल सरकारको लडाइँमा उपयोगी हुने विश्वास व्यक्त गरे।

यसैगरी अमेरिकाबाट प्राप्त सहायता सामग्री अन्तर्राष्टिय विकासका लागि अमेरिकी सहयोग नियोग यूएसएआईडी र यहाँस्थित अमेरिकी राजदूतावासका अधिकारीहरूले संयुक्त रूपमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमलाई हस्तान्तरण गरेको उक्त मन्त्रालयले जनाएको छ। अमेरिकी सहायताको यो पहिलो खेप हो। मालबाहक अमेरिकी विमानबाट सहायताका अरु दुई खेप नेपाललाई प्राप्त हुने र यो सहयोग यूएसएआईडीमार्फत् यसअघि अमेरिकाबाट प्राप्त अतिरिक्त सहायता भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

प्राप्त सहायता सामग्रीमा सर्जिकल मास्क, फेस सिल्ड, पञ्जा, भेन्टिलेटर, कोरोना परीक्षण गर्ने उपकरण, एक हजार थान अक्सिजन सिलिण्डर, अक्सिजन प्रयोगका निम्ति आवश्यक पर्ने अन्य वस्तु छन्। अमेरिकी सरकारले यो कठिन घडीमा गरेको सहयोगप्रति आभार व्यक्त गर्दै सरकारले त्यसबाट दुई देशबीचको लामो समयदेखिको मैत्री सम्बन्ध प्रतिबिम्बित भएको बताएको छ।

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार