Health TV Online
Health TV Online
Health TV Online

सुर्ती कम्पनीले प्रायोजन गरेको कार्यक्रममा सहभागी नहुन प्रधानमन्त्रीलाई आग्रह

सुर्ती कम्पनीले प्रायोजन गरेको कार्यक्रममा सहभागी नहुन प्रधानमन्त्रीलाई आग्रह

हेल्थ टिभी अनलाइन \काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुर्ती कम्पनीले प्रायोजन गरेको कार्यक्रममा सहभागिता नजनाउन आग्रह गर्दै अभियन्ताहरुले आज ध्यानाकर्षण पत्र बुझाएका छन् । जापनिज मिडिया कम्पनी निकी आयोजक रहेको ‘एशियाको भविष्यसम्बन्धी २६ औं अन्तर्राष्ट्रिय सम्मेलन’ मा नेपाललाई प्रतिनिधित्व गर्दै प्रधानमन्त्री ओली वक्ताको रुपमा सहभागि हुने कार्यक्रम छ । कार्यक्रम यही मे २० र २१ तारिखमा तय भएको छ । जसमा सुर्तीजन्य पदार्थ उत्पादक कम्पनी फिलिप मरिस जापान मुख्य प्रायोजक रहेको छ । कोभिडलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा गर्न लागिएको छलफलमा एशियाका लगभग सबै देशका सरकार प्रमुखहरुको सहभागिता रहने बताइएको छ ।

सुर्ती कम्पनीको प्रायोजन रहेको उक्त कार्यक्रममा प्रधानमन्त्रीसँगै उक्त सुर्ती कम्पनीका प्रमुख कार्यकारी निर्देशक पनि वक्ता रहेका छन्। यो नेपालको सुर्तीजन्य पदार्थसम्बन्धी कानूनको विपरित भएकाले यो कार्यक्रममा सहभागिता नजनाउन सुर्तीजन्य पदार्थ विरुद्धमा काम गर्दै आएका एक्सन नेपाल लगायतका १७ वटाभन्दा बढी संस्थाहरुले प्रधानमन्त्री ओलाीलाई आग्रह गरेका हुन्।

निर्देशिकाको परिच्छेद ३ को दफा २२ को उपदफा ६ मा सार्वजनिक निकायका पदाधिकारीले कुनै पनि सुर्तीजन्य पदार्थको उत्पादक उद्योगबाट प्रायोजित कार्यक्रममा सहभागिता, सुर्ती उद्योगको सहयोगमा वा सुर्ती उद्योगको आमन्त्रणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैठक, भ्रमण, तालिम, गोष्ठी, सम्मेलनजस्ता कार्यक्रमहरुमा सहभागिता स्विकार गर्नु हुँदैन भन्ने उल्लेख छ ।

आम जनस्वास्थ्यको हितमा बलियो आवाज बनेर सो कम्पनीको प्रायोजन र सहभागिता खारेज गर्नका लागि आयोजकलाई आग्रह गर्नका लागि पनि ध्यानाकर्षण पत्रमा आग्रह गरिएको छ । यस्तो कार्यक्रममा सरकार प्रमुखको उपस्थितिले नेपालले सुर्तीजन्य पदार्थ नियन्त्रणमा विश्व स्वास्थ्य संगठनको फ्रेमवर्क सम्मेलनमा गरेको प्रतिबद्धताको समेत उल्लंघन हुने स्थिति आएको छ । विकासको एजेण्डा र कोविड—१९ को नियन्त्रणको ब्यानरमा आयोजित यस्ता अन्तर्राष्ट्रिय सम्मेलनमा स्वयंलाई सहयोगीको रूपमा चित्रण गरे पनि सुर्तीजन्य पदार्थ उत्पादक उद्योगको अन्तिम लक्ष्य आफ्ना उत्पादनको बजार विस्तार गर्ने नै हो, ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

डब्लुएचओ एफसीटीसी अनुसार नेपाल सरकारले सुर्तीजन्य पदार्थको सेवन न्युनिकरण, नियन्त्रण तथा नियमन गरी सर्वसाधारणको स्वास्थ्य सुविधा र आर्थिक हितको अभिवृद्धि गर्न सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८, नियमावली तथा निर्देशिका समेत ल्याएर कार्यन्वयन समेत गरिरहेको छ । सोहि ऐन बमोजिम नेपाल सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन निर्देशिका २०७१ जारी गरेको थियो । उक्त निर्देशिकाको परिच्छेद ३ को दफा २२ को उपदफा ६ मा सार्वजनिक निकायका पदाधिकारीले कुनै पनि सुर्तीजन्य पदार्थको उत्पादक उद्योगबाट प्रायोजित कार्यक्रममा सहभागिता, सुर्ती उद्योगको सहयोगमा वा सुर्ती उद्योगको आमन्त्रणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैठक, भ्रमण, तालिम, गोष्ठी, सम्मेलनजस्ता कार्यक्रमहरुमा सहभागिता स्विकार गर्नु हुँदैन भन्ने उल्लेख छ ।

यतिबेला विभिन्न राष्ट्रिय तथा अन्तरािष्ट्रय संस्थाहरुको दबाबका कारण यस सम्मेलनको प्रायोजनबाट सुर्ती कम्पनी फिलिप मरिस पछि हटेको छ । यद्यपी आगामी दिनमा पनि यस्ता कार्यलाई हुन नदिनका लागि सबैको निगरानी र प्रयास जारी रहन जरुरी रहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

स्मरण रहोस नेपालमा प्रत्येक वर्ष सुर्तीजन्य पदार्थको सेवनका कारण हुने रोगहरुबाट २७ हजार भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार