नेपालमा क्षयरोग नियन्त्रण अझै चुनौतीपूर्ण
प्रत्येक वर्ष १७ हजार भन्दा बढी क्षयरोगीको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा क्षयरोग नियन्त्रण अझै पनि चुनौतीपूर्ण देखिएको छ । ठूलो संख्यामा रोगीहरु उपचारको दायराबाहिर रहँदा यसलाई नियन्त्रण र निवारण गर्न समस्या थपिएको विज्ञहरु बताउँछन्।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा अनुज भट्टचनले नेपालमा हाल करिब १ लाख १७ हजार क्षयरोगी रहेकोमा झडै ४१ हजार क्षयरोगी उपचारको दायराबाहिर रहेको बताए । उनले यसरी ठूलो संख्यामा बिरामी उपचारमा नआउँदा यसले ठूलो समस्या गराएको र रोग नियन्त्रणमा चुनौती थपेको बताए । उनले भने, ‘क्षयरोगको सम्पूर्ण निदान, उपचार र औषधी समेत नि: शुल्क छ तर पनि बिरामीहरु उपचारमा नआउनु दुर्भाग्यपूर्ण हो ।’
क्षयरोग श्वास प्रश्वासको माध्यमबाट सर्ने ‘माइक्रोब्याक्टेरियम ट्वीबरक्लोसिस’ नामक सुक्ष्म किटाणुबाट हुने एक किसिमको सरुवा रोग हो । ६ महिनासम्म नियमित औषधिको सेवन गरेमा निको हुने रोगमा पनि लापरवाही गरिंदिंदा यसले कडा रुप लिएर बिरामीको ज्यान लिने गरेको छ ।
सरकारले यसका लागि वर्षेनी करोडौं रकम खर्च गर्ने गरेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले क्षयरोग व्यक्तिको मात्र रोग नभएर यो सामाजिक रोग भएकाले सबै मिलेर यसलाई नियन्त्रण गर्नुपर्ने बताए । उनले पछिल्लो समय समायोजनका कारण क्षयरोगमा तालिम प्राप्त र दक्ष कर्मचारी यताउता जाँदा जनशक्तिको समस्या देखिएको भए पनि यसलाई छिटै समाधान गरिने समेत जनाए ।
केन्द्रले २०७५ \७६ मा गरेको प्रिभ्यालेन्स सर्वेक्षण अनुसार नेपालमा प्रत्येक वर्ष ६९ हजार नयाँ क्षयरोगी थपिने गरेका छन्। यो संख्या गत वर्षहरुका भन्दा दोब्बर जस्तै हो ।नयाँ पुष्टि भएका क्षयरोगीमध्ये प्रत्येक वर्ष २५ प्रतिशतको मृत्यु हुने गरेको पाइएको छ । यसैगरी अझै पनि ४१ हजार क्षयरोगी केन्द्रको उपचार प्रक्रियामा आउन सकेका छैनन्।
सन् २०३० सम्म क्षयरोग अन्त्य गर्ने लक्ष्य लिएको नेपाललाई उपचारमा छुटेका बिरामी ठूलो बाधक बनेको सार्क क्षयरोग तथा एचआइभी एड्स केन्द्रका निर्देशक डा विवेकलाल कर्णले बताए । सार्क क्षेत्रमध्ये नेपालले केही राम्रा काम गर्न सफल भए पनि क्षयरोगको सवालमा अझै धेरै मिहिनेत गर्नुपर्ने देखिएको उनको भनाई छ । क्षयरोग नियन्त्रण गर्न बहुआयामिक अप्रोच चाहिने भन्दै सबै मिलेर काम गर्नुपर्नेमा उनको जोड थियो ।
क्षयरोगका लक्षण :
३ हप्ता वा त्यो भन्दा बढी समयसम्म लगातार खोकी लाग्नु
खकारमा रगत देखिनु
श्वास फेर्न गाह्रोहुनु
छाती भारी भइरहनु
अकस्मात धेरै तौल घट्नु
साँझपख ज्वरो आउनु
राति सुतेको बेलामा पसिना धेरैआउनु
थकान बढी महसुस हुनु
माथिका यी लक्षण देखिएमा कतै क्षयरोग त होइन भनेर जाँच गर्न जरुरी रहेको चिकित्सकहरु बताउँछन्।
हरेक वर्ष मार्च २४ का दिन विश्व क्षयरोग दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी दिवस मनाइँदैछ । यस वर्षको नारा ‘संकेत समयको, क्षयरोग अन्त्यको’ भन्ने रहेको छ । स्मरण रहोस क्षयरोग नियमित रूपमा औषधिको सेवनबाट पूर्ण रूपमा निको हुन्छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित