Health TV Online
Health TV Online
Health TV Online

नेपालमा वर्षेनी थपिन्छन् ६९ हजार क्षयरोगी, ४१ हजार रोगी अझै पनि उपचारबाहिर

नेपालमा वर्षेनी थपिन्छन् ६९ हजार क्षयरोगी, ४१ हजार रोगी अझै पनि उपचारबाहिर

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा प्रत्येक वर्ष ६९ हजार क्षयरोगी थपिने गरेको पाइएको छ । आर्थिक वर्ष २०७५\ ७६ मा गरिएको क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणका अनुसार नेपालमा प्रत्येक वर्ष करिब ६९ हजार नयाँ क्षयरोगी थपिने गर्छन। विश्व क्षयरोग दिवसको अवसर पारेर आयोजना गरिएको पत्रकार सम्मेलनमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा अनुज भट्टचनले नेपालमा क्षयरोगीको संख्या प्रत्येक वर्ष बढ्दै गएको र उपचारमा नआएका रोगी ठूलो चुनौती बनेको बताए । उनले यो सर्वेक्षणका कारण वास्तविक संख्या बाहिर आएको र यसभन्दा अघि १३ हजार जति क्षयरोगी उपचार बाहिर रहेको र वर्षेनी लगभग ४५ हजार रोगी थपिने गरेको संख्या एक अनुमानित संख्या रहेको समेत स्पष्ट पारे । उनले भने, ‘क्षयरोगको उपचार सरकारले नि: शुल्क गरेको भए पनि अझै यति ठूलो संख्यामा रोगी उपचार बाहिर रहनु दुर्भाग्यपूर्ण हो।

हाल नेपालमा नयाँ पुराना गरी १ लाख १७ हजार क्षयरोगी रहेको आकलन गरिएको छ । यसैगरी गत आर्थिक वर्षमा १ लाख ५५ हजार ३७१ जना क्षयरोगका सम्भावित व्यक्तिहरुको विभिन्न विधिबाट परीक्षण गर्दा २७ हजार ७४५ जनामा क्षयरोग पाइएको र उनीहरुलाई उपचारमा राखिएको केन्द्रले जनाएको छ । उता कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले क्षयरोग व्यक्तिको रोग भए पनि यसलाई रोकथाम तथा नियन्त्रण गर्न समाज नै लाग्नुपर्ने बताए । उनले क्षयरोगको क्षेत्रमा धेरै काम भएको भए पनि अझै पनि धेरै रोगी उपचार बाहिर हुनु ठूलो चूनौती रहेको जिकीर गरे । उनले यसलाई सामाजिक रोगका रुपमा लिएर रोकथाम र नियन्त्रणमा लाग्नुपर्नेमा जोड दिए ।

हाल सरकारले ४ हजार ९५५ उपचार केन्द्रबाट डट्स उपचार सेवा प्रदान गर्दै आएको छ । यसैगरी औषधी प्रतिरोधी क्षयरोगका २२ वटा उपचार केन्द्र ८१ वटा उप केन्द्र र ६ वटा डी आर होस्टेल एउटा डीआर होम मार्फत सेवा प्रदान गरिएको छ । नेपालमा औषधी प्रतिरोधी डीआर क्षयरोगका बिरामी थपिने क्रम बढ्दो छ जुन सरकारका लागि ठूलो चुनौती बनेको छ । नेपालमा वर्षेनी करिब २ हजार २ सय औषधी प्रतिरोधी क्षयरोगका बिरामी थपिने गरेका छन्।

क्षयरोगका क्षेत्रमा सरकारको ठूलो लगानी भए पनि खासै प्रगती भने देखिएको छैन्। पछिल्लो समय समायोजनका कारण दक्ष र तालिम प्राप्त कर्मचारीको दरबन्दी नमिल्दा झनै समस्या थपिएको छ । क्षयरोग श्वासप्रश्वासको माध्यमबाट सर्ने माइकोव्याक्टेरियम ट्वीबरक्लोसिस नामको सुक्ष्म किटाणुबाट हुने सरुवा रोग हो । यो वर्ष ‘संकेत समयको, क्षयरोग अन्त्यको’ भन्ने नारासहित बुधबार विश्व क्षयरोग दिवस मनाइँदैछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार