Health TV Online
Health TV Online
Health TV Online

ढुक्क भएर कोरोना खोप लगाउन विज्ञहरुको आग्रह

ढुक्क भएर कोरोना खोप लगाउन विज्ञहरुको आग्रह

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा लगाइरहेको ‘कोभिसिल्ड’ खोप निर्धक्क भएर लगाउन विज्ञहरुले आग्रह गरेका छन्। सोमबार स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले यस्तो बताएका हुन्।

कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले हाल नेपालमा दिइरहेको ‘कोभिशिल्ड’ खोपकाबारेमा कसैले पनि शंका उप शंका गर्नुपर्ने नभएको बताए । उनले भने, ‘कोभिशिल्ड खोप विश्वभरीका १६ देशमा लगाइरहेको अत्यन्त सुरक्षित र प्रभावकारी खोप हो,यसमा कसैले पनि आशंका गर्नुपर्ने छैन्। तेस्रो क्लिनिकल ट्रायल पास गरेर आएको र सबैभन्दा धेरै जनामा ट्रायल गरिएको खोप भएकाले ढुक्क भएर खोप लिन सबैलाई उनले आग्रह समेत गरे ।

यसैगरी कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले कोभिशिल्ड खोपका कारण अहिलेसम्म कसैलाई पनि अस्पतालको आइसीयूमा भर्ना हुने गरी उपचार गर्नु नपरेको र गम्भीर असर नदेखिएको जनाए । उनले अहिले प्राथमिकताको आधारमा खोप दिन काम भइरहेको भए पनि अब छिटै नै समूदायस्तरमा कोरोना खोप दिने तयारी भइरहेको समेत जिकीर गरे ।

कार्यक्रममा सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलाले कोरोना खोप लगाएपछि आफू मात्र सुरक्षित हुने नभई अरुलाई सार्नबाट पनि बचाउने र संक्रमण भइहालेमा पनि जटिलता र मृत्युदुर कम हुने हुँदा खोप लगाउनुको विकल्प अर्को नभएको जनाएका थिए । उनले कोरोना महामारीलाई नियन्त्रण गर्ने र यसबाट बच्ने ठूलो अस्त्र नै खोप भएकाले यसलाई व्यवास्ता गर्न नहुने जनाए ।

यसैगरी कोभिड १९ खोप प्राविधिक सल्लाहकार समितिका संयोजक डा श्यामराज उप्रेतीले कोभिशिल्ड खोप सुरक्षित भएकाले सबैले बिना हिच्किचाहट लगाउनुपर्नेमा जोड दिए । उनले शुरुमा पहिलो डोज दिएको २८ दिनपछि खोप दिने भनिएपनि अहिले फेरी ८ हप्तादेखि १२ हप्तामा दोस्रो डोज दिंदा बढी प्रभावकारी हुने देखिएकाले त्यही अनुसार योजना गरिएको जनाए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार