विशेषज्ञहरुले भने- ‘कोरोनाको डरले क्यान्सर उपचारमा ढिलाई नगरौँ’
हेल्थ टिभी अनलाइन\ काठमाडौं : क्यान्सर रोग विशेषज्ञहरुले कोरोना संक्रमणको डरका कारण क्यान्सरका बिरामीहरु अस्पताल आउन डराएको बताएका छन्। उनीहरुले कोरोनाका कारण क्यान्सरको उपचारमा ढिला आउँदा समस्या जटिल बनिसकेको हुने भन्दै यसलाई समयमै देखाउन जरुरी रहेको बताए ।
नेपाल क्यान्सर सहयोग समूह र ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालको संयुक्त आयोजनामा भर्चुअल रुपमा गरिएको छलफल कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । छलफल कार्यक्रममा नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरका अध्यक्ष वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठले कोरोना महामारी शुरु भएका केही साता क्यान्सरका बिरामी ७५ प्रतिशतले घटेको भन्दै अझै पनि २५ प्रतिशत बिरामी कोरोनाको डरले फलो अपमा समेत नआउने गरेको बताए । उनले बिरामी समयमा नआउँदा निको हुने क्यान्सरको उपचारमा समेत समस्या देखिएको बताए । उनले कोरोनाबाट बच्न सुरक्षा अपनाउँदै क्यान्सरको उपचारलाई निरन्तरता दिन सल्लाह दिए ।
यसैगरी छलफल कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर विजेसराज घिमिरेले क्यान्सरको बिरामी कति घटे भन्ने एकिन तथ्यांक नभए पनि कोरोनाको डरले धेरैले रोग पालेर बसेको जनाए । उनले अस्पताल आएकाहरु पनि धेरै गाह्रो भएपछि मात्र आएको जनाएका थिए ।
छलफल कार्यक्रममा डा सम्पूर्णमान तुलाधरले फोक्सोको क्यान्सरको उपचारमा नेपालमा थोरै सेन्टरमा मात्र सेवा उपलब्ध रहेको भन्दै यसमा नेपाल क्यान्सर अस्पतालमा कोरोना महामारीका बेला पनि सम्पूर्ण सेवाहरु सुरक्षा मापदण्ड पालना गर्दे दिइरहेको जनाएका थिए । उनले फोक्सोको क्यान्सरसहित सबै प्रकारका क्यान्सरको उपचार जति छिटो गर्यो त्यति परिणाम राम्रो आउने भन्दै यसमा ढिलाई गर्न नहुने बताए । उनले अझै यसबारे गाउँघरसम्म चेतना नपुगेको समेत जिकीर गरे ।
कार्यक्रममको सहजीकरण क्यान्सर सहयोग समूहकी सदस्य स्वरुपा श्रेष्ठले गरेकी थिइन्। क्यान्सर सभाईभरहरु समेत सहभागी रहेको कार्यक्रममा उनीहरुले चिकित्सकलाई कोरोना र क्यान्सरलाई जोडेर जिज्ञासा समेत राखेका थिए ।
अस्पताल र क्यान्सर सहयोग समूहले प्रत्येक महिना क्यान्सरबारे जनचेतना बढाउन र बिरामीको हौसला बढाउन सर्भाइभर मिट गर्दै आएको छ । नोभेम्बरलाई फोक्सोको क्यान्सरबारे जनचेतना फैलाउने महिनाका रुपमा मनाउने गरिन्छ । सोही अवसर पारेर सो कार्यक्रममा फोक्सोको क्यान्सर विरुद्धको जनचेतनामूलक भिडियो सार्वजनिक गरिएको थियो ।
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’