मुटु दिवसको अवसर पारेर डा रेग्मीको ‘टन्सिलले बिगारेको मुटु’ पुस्तक विमोचन
हेल्थ टिभी अनलाइन \काठमाडौं : वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीद्वारा लिखित पुस्तक ‘टन्सिलले बिगारेको मुटु’ सार्वजनिक भएको छ । विश्व मुटु दिवसको अवसर पारेर आज शताब्दी पुरूष सत्यमोहन जोशीले पुस्तक विमोचन गरेका हुन्। पुस्तकका लेखक डा रेग्मीले बालबालिकाको मुटु टन्सिलले कसरी बिगार्छ र नेपालमा यसको अवस्था समेटेर उक्त पुस्तक तयार पारेका हुन्।
‘टन्सिलले बिगारेको मुटु’ पुस्तक मार्फत डा. प्रकाशराज रेग्मीले समाजका अपहेलित र छायाँमा परेका विपन्न वर्गका बालबालिकाहरूको मुद्दालाई उठाउने प्रयास गरेका छन्। यस पुस्तकमा लेखकले बाथ-मुटु रोगीका विविध पक्षहरूलाई रसिलो र सरल भाषामा प्रस्तुत गरेका छन्। यसमा नेपाली समाजको चित्र छ । रोगीहरूको वेदना छ । सङ्घर्षको कथा छ । नेपालमा मुटुरोग उपचार सेवाको स्थापना र विकासको इतिहास छ । यस भित्र नेपाल हार्ट फाउण्डेसनले बाथ-मुटुरोग रोकथामका लागि चलाएको अभियानको वारेमा पनि वर्णन गरिएको छ ।
डा रेग्मी यस पुस्तकबारे यसो भन्छन्, ‘केटाकेटी उमेरमा घाँटी सबैको दुख्छ, टन्सिल सबैको बढ्छ । नुन पानी र बेसार पानी पिएर धेरैले यसको उपचार गर्छन् । यहि गलत घरेलु उपचार शैलीका कारण आज लाखौँ बालबालिका बाथ-मुटुरोग जस्तो भंयङ्कर समस्याबाट पीडित हुन पुगेका छन् । यस पुस्तकका माध्यमबाट मैले मामुली जस्तो देखिने टन्सिलले कसरी मुटुलाई बिगार्छ र पछि कसरी नराम्रो रूप धारण गर्न पुग्छ अनि यसबाट कसरी बच्न सकिन्छ भन्नेबारे सबैलाई बुझाउने गरी लेख्ने प्रयास गरेको छु ।’
यो पुस्तक विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी, नीति निर्माता, सञ्चारकर्मी, चिकित्सा क्षेत्रका विद्यार्थी सबैका लागि उपयोगी हुने विश्वास लिएको डा रेग्मीले बताए ।
नेपाल हृदय रोग निवारण प्रतिष्ठानबाट प्रकाशित यो पुस्तक ३०० पृष्ठको छ भने मुल्य ३५० रूपैया रहेको छ । यस पुस्तकको बिक्रिबाट प्राप्त हुने सबै रकम बाथ–मुटुरोग रोकथामका लागि स्थापित कोषमा जम्मा हुने व्यवस्था गरिएको डा रेग्मीले बताए । डा रेग्मीले यसअघि पनि दर्जन बढी पुस्तकहरू प्रकाशित गरिसकेका छन्।
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य